देशप्रति जिम्मेवार रहनुपर्ने– प्रदेश प्रमुख अधिकारी

इनेप्लिज २०७८ वैशाख १ गते ९:४३ मा प्रकाशित

विराटनगर,१ बैशाख।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नव वर्षको उपलक्ष्यमा देशप्रति जिम्मेवार रहन सबैलाई शुभकामना दिनु भएको छ।

प्रदेश प्रमुखको कार्यालयद्वारा आज यहाँ आयोजित नववर्षको –२०७८ को उपलक्ष्यमा आयोजित चियापान एवं शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले राष्ट्रप्रति जवाफदेही एवं जिम्मेवार रही राष्ट्रिय मर्यादालाई कायम राखी समाजलाई असल सन्देश प्रवाह गर्न आग्रह गर्नु भयो।

प्रदेश प्रमुख अधिकारीले मुलुक निर्माणको जिम्मेवारी हामीसबैको काँधमा रहेको चर्चा गर्दै सकारात्मक सोचले अगाडि वढेमा राष्ट्र र समाज सवल एवं सक्षम हुने बताउनु भयो।

उहाँले कोरोनाका कारण ज्यान गुमाएका नेपालीहरुप्रति दुःख व्यक्त गर्दै कोभिड नियन्त्रणमा सरकारले दिएको निर्देशन पालना गर्न सबैसँग आग्रह गर्नु भयो।

प्रमुख अधिकारी वर्तमान पिँढीको ठूलो योगदानले निर्माण भएको संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनबाट‘समृद्धि नेपाल सुखी नेपाली’ कायम गर्न सकिने विश्वास व्यक्त्त गर्नु भयो।

प्रदेश प्रमुख अधिकारीले प्रमुखको कार्यालयद्वारा प्रकाशित विसं २०७८ को भित्तेपात्रोको सार्वजनिक गर्नु भयो।

कार्यक्रममा प्रमुख प्रमुख कार्यालयका कर्मचारी, नेपाल पत्रकार महासङ्घ प्रदेश एवं मोरङका नव निर्वाचित पदाधिकारीहरुको उपस्थिति थियो।

 

प्रतिक्रिया