आइतबार, चैत २९ २०७७
काठमाडौं २०:५४
वासिङटन डिसी 11:09

जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो

सरिता श्रीष २०७७ चैत २० गते ०:५७ मा प्रकाशित

कुनैबेला जब यी आखाहरु सपना के हो भनेर पनि बुझ्दैनथे, त्योबेला यी आँखाहरुमा राजनीतिले सपनाहरू भरिदिएकै हो । कसरी भन्ने होला कि आज सपना देख्न डराउनुको कारण पनि राजनीति नै बन्यो भनेर।हुन त यही नै बेला उत्सव मनाउनेहरु पनि देखेको छु।ती मलामीहरुको उत्सवलाई यही समाजको कुनै कुनामा बसेर नियाल्दैछु।बडो नमज्जा मानी मानी नियाल्दैछु।

कसैका पनि ‘बा’ प्रति मलाई किन गुनासो छैन भने नेपाली कम्युनिस्ट आन्दोलन सक्काउने आँट कुनै ‘बा’ को बसको कुरा होइन भन्ने मेरो बुझाइ हो। र मलाई ती ‘बा’ हरुका ‘माइबाप’ हरुकाबारे पनि दुई शब्द खर्चिनु किन मन छैन भने तिनीहरुलाई सधैभरी माइबाप बनिरहन दिने ‘बा’ प्रवृत्तिको समयमै औषधि उपचार गर्न नसक्ने नेपाली राजनीतिको यो नालायकीको साक्षी तपाई हामी स्वयं हो।

हो, म, हामीजस्ता धेरै मान्छेहरु आज धेरै पीडामा छौ।यो दुनियाँको अगाडि आफ्ना पीडाहरु बयान गर्न कुनै अप्ठ्यारो लागेको पनि छैन र कसैको दयाले ठूलो मान्छे हुने रहर न हिजो थियो, न आज छ।

मेरो प्रिय साथीहरू, मेरो प्रिय लामो यात्राका साथीहरू, हामीलाई दुख लागेको छ भनेपनि त्यसलाई स्वीकार नै गरौं । दुख लाग्यो भन्न हामीले लाज मान्नु पर्नेछैन।जसलाई लाज लाग्नुपर्ने हो ऊ त यति धेरै बेसरम बनिसक्यो कि अब स्वयं लाजहरुलाइ लाज लाग्न थालिसक्यो। यतिबेला हामी सबै एकैसाथ ठूलो परीक्षामा छौं । शायद, यो परीक्षा निकै झन्झटिलो र निकै लामो र कुनैबेला निकै दिक्कलाग्दो पनि हुनसक्ला त्यसकारण पनि हामीलाई धेरै धैर्यताको खांचो छ।

धैर्य गरौ । सबै पर्दाहरु एकैपटक खुलेका होइनन।धेरै पर्दाहरु खुल्न वांकी नै छ । हुनसक्छ त्यो अन्तिम पर्दाले हामीलाई आफ्नै कुनैबेलाका साथीहरूप्रति पनि घृणा जाग्ला।त्यतिबेला पनि हामीले त्यसलाई स्वीकार गर्नै पर्ने हुन्छ।आफुलाई बलियो बनाएर चलौ।नेपाली राजनीतिको यतिबेलाको यो घिनलाग्दो अनुहार कुनै दिन त फेरिनु नै पर्नेछ।यतिबेला सपना देख्न डराएका मेराजस्ता आँखाहरुका कुनैबेलाका सपनाहरु सम्झेरै अगाडि बढौ।

सबैलाई धेरै धेरै माया र सम्झना छ।

(सरिता श्रीषको फेसवुकवाट)

प्रतिक्रिया