नेपाली राजनीतिलाई वाहिरवाट हेर्दा जनता समाजवादी पार्टीसंग सत्ताको चावी छ भन्ने देखिन्छ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अग्रसरता लिने हो भने तुरुन्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिल्काएर अर्को सरकार वन्ने वातावरण वन्छ होला भन्ने अनुमान पनि गर्न सकिन्छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने हो भने ओली सरकारलाई विश्वासको मत लिन कठिन होला भन्ने तर्क गर्न सकिन्छ । तर परिस्थिति सहज पक्कै छैन ।
सत्ताको सांचो वोकेको देखिने जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. वावुराम भट्टराई कति कमजोर छन् भन्ने उनका पछिल्ला ट्वीटहरुले देखाउंछ । उनका एक पछि अर्का ट्वीटहरु प्रधानमन्त्री केपी ओलीका विरुद्धमा छन् तर त्यो अनुहार फेर्ने साहस भने देखाउन सक्दैनन ।
‘मिथकहरुवाट प्रेरणा लिने हो हुवहु उही दोहोर्याउने हैन, भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले) वरदान फिर्ता लिनुसट्टा अर्काले (विष्णुले) छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलियुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सवैलाई त्राहीमाम पार्ने भो, नयां रणनीति चाहियो ।’
नेता भट्टराईको आफ्नो पार्टीभित्र पकड भइदिएको भए ट्वीटरमा होइन, एक्सनमा गइसक्थे । दुर्भाग्य उनी ट्वीटरमा मात्रै रोष प्रकट गर्न सक्छन् । पार्टीमा निर्णय गराउन सक्दैनन । सांच्चिनै जनता समाजवादी पार्टीले नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व गर भन्ने हो भने शेरवहादुर देउवा भोलिपल्ट तयार हुनेछन् ।
आफ्नो कमजोरी नेता भट्टराईले अर्को ट्वीटमा पनि व्यक्त गरेका छन् ।
‘हिट्लरवारे चर्चित भनाइ छ, पहिले उनीहरु यहुदीविरुद्ध जाइलागे, म वोलिन किनकी म यहुदी थिइन………, अन्त्यमा उनीहरु म विरुद्ध आइलागे, कोही पनि वोलेन किनकी कोही पनि वांकी थिएन । नेपाली हिटलरको उदय त्यसरी नै भएको भैरहेको छ, उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सवैमाथि खड्ग चलाउंदैछ ।’
यो ट्वीट नेता भट्टराईले कुन मनोविज्ञानले पोष्ट गरे होलान् । शक्ति आर्जन गर्दै गएका प्रधानमन्त्री ओलीसंग उनी त्रसित थिए वा जनता समाजवादी पार्टीका नेताहरुलाई त्रसित वनाउन चाहन्थे ?
भारतीय संस्थापन पक्षसंग नजिक कांग्रेस नेता अमरेशकुमार सिंहको विश्लेषण पत्याउने हो भने आधा जनता समाजवादी पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन् भने आधा जनता समाजवादी पार्टीको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन् । प्रचण्ड पक्षमा डा. भट्टराई र उपेन्द्र यादव उभिएका छन् भने प्रधानमन्त्री ओलीको पक्षमा महन्थ ठाकुर र राजेन्द्र महतो उभिएका छन् ।
यो अवस्थामा नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री हुने चाहना भएर मात्र के गर्नु ? नेकपा मओवादी केन्द्र सहित डा. भट्टराई र यादवको साथले मात्रै सरकार गठन हुन सक्दैन, महन्थ र राजेन्द्र प्रधानमन्त्री ओलीको सांठगांठमा छन् भन्ने उनलाई थाहा छ, संसदको संख्याको वारेमा ओलीले देउवालाई अपडेट गराइरहेका छन् ।
नेपाली कांग्रेसका नेताहरु अचम्ममा परेका छन्, सत्ताका लागि सधै लालसा व्यक्त गर्ने देउवा यो पटक किन मौन छन् ?
देउवालाई थाहा छ, भारतीय संस्थापन पक्षले सिग्नल नदिइ जनता समाजवादी पार्टी एक ढिक्का भएर उनको पक्षमा उभिंदैन र भारतीय संस्थापन पक्ष अहिले प्रधानमन्त्रीमा ओलीलाई नै टिकाउने खेलमा लागेको छ । सत्ताको लागि आंट गर्न आफुसंग पुग्ने संख्या छैन, भारतीय संस्थापन पक्ष भनौ वा जनता समाजवादी पार्टीको आधा ढिक्कालाई आफ्नो विश्वासमा ल्याउने उनीसंग ताकत छैन ।
जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर यो वेला प्रधानमन्त्री ओलीलाई साथ दिन चाहन्छन् तर उनी डा. भट्टराई र नेता यादवलाई आफ्नो पक्षमा हिंडाउन सक्दैनन् ।
नेपाली राजनीतिमा यतिवेला सवैभन्दा कमजोर पात्रको रुपमा स्थापित भएका छन्, एमाले नेता माधवकुमार नेपाल । उनी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहन्थे तर राजनीतिमा आएको आकस्मिकताले उनलाई केही समयका लागि भएपनि शक्तिवाट विस्थापित गरेको छ । उनी केपी ओलीको कार्यशैलीलाई मन त पराउंदैनन् तर अध्यक्ष वा प्रधानमन्त्री कुनै ठाऊवाट पनि हटाउन सक्दैनन् । न त उनी पार्टीलाई विभाजन गरेर अगाडि नै लैजान सक्ने अवस्थामा देखिएका छन् न त पहिलाझै केपी ओलीसंग शक्तिसंघर्षमा नै टिक्न सकेका छन् ।
संसद विघटनको मुद्धामा हारेर पनि जितेको झै गर्व गरिरहेका प्रधानमन्त्री ओली अहिले सुपरपावरको अभ्यासमा छन्, तर नेपाली राजनीतिमा कहिले अर्को पल्टा खान्छ र उनी निरीहको सुचिमा थपिन्छन्, प्रतिक्षाको विषय नै वनेको छ ।
यतिवेला हार न जीतको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उभिएका छन्, उनले केपी ओलीसंग केही आफ्ना नेता त छाड्नु परेको छ तर वाहिर नदेखाए पनि उनलाई एमालेमा ठुलो विभाजन ल्याउन सकेकोमा भने मनमनै खुसी भएका छन् । नेकपा एमालेले सदैव गर्व गर्ने कुरा नै आफ्नो संगठन थियो, सधै आक्रमण र ध्वस्तको नीति लिने प्रचण्डले यो पटक एमालेलाई पनि ध्वस्त वनाएका छन्, प्रचण्ड त सधै नयां शिरावाट उठ्न वानी परेका छन् ।
प्रतिक्रिया