युवा पुस्तालाई दक्षता प्रदान गर्न पत्रकारिता तालीम सञ्चालन शुरु

इनेप्लिज २०७७ फागुन २४ गते २३:५१ मा प्रकाशित

विराटनगर,२४ फागुन।नयाँ युवापुस्तालाई पत्रकारिता क्षेत्रमा दक्षता प्रदान गर्ने उद्देश्यले तालीम शुरु भएको छ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र सो सङ्घको मोरङ शाखाको संयुक्त आयोजनामा आजदेखि यहाँ एक हप्ते आधाभूत तालिम सञ्चालन गरिएको छ।

तालिममा मोरङ, झापा, उदयपुर, सुनसरी,ओखलढुङ्गा,धनकुटा,सप्तरी र धनुषाका गरी ४० जना युवायुवतीहरु सहभागि छन्।

फागुन चैत २ गतेसम्म सम्पन्न हुने सो तालिमबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने विश्वास लिएको छ।

पछिल्लो अवस्थामा यो पेशामा नयाँ पुस्ताको सहभागिता एवं रुची बढिरहेकोले तालिम आयोजना गरेको शाखाका सभापति वन्धु पोखरेलले जानकारी दिनु भयो
महासङ्घका पूर्व केन्द्रीय सभापति धर्मेन्द्र झाले प्रशिक्षण गर्नु हुने छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तालिमको उद्घाटन गर्दै पत्रकारिता क्षेत्र ज्यादै चुनौतीपूर्ण एवं कठिन रहे पनि गर्व गर्ने पेशा हो भन्नु भयो ।

उहाँले प्रशिक्षार्थीहरुलाई लगनशीलता,इमान्दारीपूर्वक कार्य गर्न आग्रह गर्दै खोजमूलक पत्रकारिताले समाजलाई नयाँ बाटो देखाउनु सहयोग पुर्याउने बताउनु भयो।

उहाँले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विगत केही वर्षदेखि पत्रकारिता क्षेत्रमा नयाँ अनुहारको खडेरी लागेको अवस्थामा व्यवसायिक पत्रकारिताको गर्न आउनु भएका ठूलो सङख्याका सहभागीता देखेर खुशी लागेको विचार व्यक्त्त गर्नु भयो।

महासंघका पूर्व केन्द्रीय अध्यक्ष झाले पत्रकारिताका क्षेत्रमा दक्षजनशक्ति उत्पादनका लागि ११ जिल्लामा तालिमको आयोजना गरिएको जानकारी दिदै समाजलाई रुपान्तरण गर्ने कार्यमा महिला पत्रकारको ठूलो भूमिका हुने बताउनु भयो।

उहाँले महासङ्घ संस्थापना भएको ६५ वर्षको अवधिमा यस प्रकारको तालिम पहिलो पटक आयोजना गरिएको धारणा राख्नु भयो।

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चारकर्मी र सञ्चार गृहको क्षमता विकास गर्न प्रतिष्ठानले सहयोग गर्ने बताउँदै सिकेको ज्ञान व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो।

महासङ्घका मोरङ अध्यक्ष पोखरेल,उपाध्यक्ष कुमोद अधिकारी, नेपाल प्रेस यूनियनका उपाध्यक्ष लिलावल्लभ अधिकारी, महासङ्घका मोरङ पूर्व अध्यक्ष शिवबहादुर कार्की र महासङ्घका केन्द्रीय कार्यालयका सङ्घर्ष पन्तले पत्रकारको सुरक्षा र दुर्घटना उपचारमा महासंघको सहयोग गरेको धारणा राख्नु भयो।

तालीम बिहान ८ देखि १२ र दिउँसो २ देखि ६ बजेसम्म गरी दुई चरणमा सञ्चालन हुने छ।

प्रतिक्रिया