राजा जनकको वंश:अघि र पछि

सञ्जय साह मित्र २०७७ फागुन १७ गते २२:५६ मा प्रकाशित

अयोध्याका राजा दशरथको समयमा मिथिला अथवा विदेहका राजा जनक थिए।जनकलाई विदेह पनि भनिन्थ्यो।यसै कारण जनकपुत्री जानकीलाई वैदेही समेत भनिएको पाइन्छ।

राजा जनकको वास्तविक नाउँ सीरध्वज हो।विदेहमा राजालाई जनक भनिन्थ्यो। यसरी पनि बुझ्दा हुन्छ–विदेहमा जनक पद थियो।जनक र राजा पर्यायवाची थिए ।

मिथिलाका संस्थापक राजा मिथि मानिन्छन्।उनकै नामबाट मिथिला राज्य बनेको मानिएको हो।मिथि चाहिँ निमिका पुत्र थिए।

कतिपयले मिथिलाको संस्थापक निमि हुन् पनि भनेका छन् तर त्यस युगमा जसले नगर वा राज्य वा राजधानी बसाए,उनैको नामबाट उक्त बस्तीको नाम स्वतः प्रख्यात हुने गर्दथ्यो।राजाको कीर्ति र यश पनि यसैबाट चारैतिर फैलिएको मानिन्थ्यो।त्यस युगमा राज्य बसाउने राजाकै नामबाट उक्त राज्यको अस्तित्व रहेसम्म राज्यको नाम रहने गरेको र वंशको पतन भएपछि राज्यको पतन हुने वा राज्यको पतन भएपछि वंशको पतन हुने तथा नाम पनि परिवर्तन हुने गरेको पाइन्छ।यस तथ्य र तर्कबाट यो पनि स्पष्ट हुन आउँछ मिथिले स्थापना गरेको मिथिलाको प्रथम शासक मिथि नै हुन्।मिथिले स्थापना गरेको नगर वा राज्य भएकोले यसको नाम मिथिला पनि रहन गएको हो।राजा मिथिका छोरा हुन् – जनक।मिथि पछि जनक नै राजा भएका हुन्।जनक अत्यधिक लोकप्रिय भए। सबैले उनलाई पिता समान आदर गर्दथे।उनले प्रजालाई पुत्र समान नै सम्मान दिए।राजा र प्रजा बिच पिता–पुत्रको सम्बन्ध कायम हुन गएको देखिन्छ।राजा भनेका पिता तथा प्रजा भनेका पुत्र भन्ने मान्यता उनकै समयमा बसेको हो भनिन्छ।मिथिपुत्र जनकलाई इतिहासले प्रथम जनक मानेको छ।जनकका छोरा उदावसु थिए।उनी शासक बनेपछि पनि सर्वसाधारणले उनलाई पनि जनक नै भने।(नेपालमा पनि राणाशासनको समयमा जंगबहादुर राणा थर जस्तै बनाएर सबै उत्तराधिकारीले लेखेका छन्।)र,सम्भवतःजनक बस्ने बस्ती वा नगर वा राजधानी सहरको नाम स्वतः जनकपुर रहन गयो।

उदावसुपछि विदेहका राजा नन्दिवर्धन भए।नन्दिवर्धनका पुत्र सुकेतु,सुकेतुपुत्र देवरात,देवरातपुत्र वृहद्रथ क्रमशःजनक अर्थात् राजा बनेका थिए।वृहद्रथ आफ्नो समयका अत्यन्त शक्तिशाली र लोकप्रिय शासक हुन्।वृहद्रथपछि उनका छोरा महावीर,महावीरपछि पुत्र सुधृति,सुधृतिपछि धृष्टकेतु र धृष्टकेतुपछि हर्यश्व जनक भएका थिए।हर्यश्वको चर्चा पनि इतिहासमा निकै धेरै पाइएको छ।हर्यश्वपुत्र मरु, मरुपुत्र प्रतीबन्धक,प्रतिबन्धकपुत्र कीर्तिरथ,कीर्तिरथपुत्र देवमीट,देवमीटपुत्र विबुध,विबुधपुत्र महीधक,महीधकपुत्र कीर्तिरात,कीर्तिरातपुत्र महारोमा,महारोमापुत्र स्वर्णरोमा र स्वर्णरोमापुत्र ह्रस्वरोमा विदेहका जनक बनेका छन्।ह्रस्वरोमापुत्र सीरध्वज जनक हुन् जो अयोध्याका राजा दशरथका समकालीन शासक हुन् तथा वैशालीका राजा सुमतिका पनि समकालीन हुन्।

सामान्यरूपमा मानिसले जनक भनेर सीरध्वजलाई चिन्दछन्।सिरध्वजका पिताको नामबारे चासो राख्दैनन्।यसै गरी जनक भनी सर्वसाधारण सबैले चिन्ने सीरध्वजको पुत्रको नाम के हो भन्ने बारे पनि चासो राख्दैनन्।जनकका छोरा थिए र ? भनी प्रश्न गर्दछन्।जानकी वा सीताको लोकप्रियता अद्यपर्यन्त उत्कर्षमा रहेकोले पनि जनकको छोरातर्फ साधारण मानिसले चासो नदेखाएका होलान्। जनक (सीरध्वज)का आफ्नै पुत्र हुन् –भानुमन्त।अयोध्याका राजा रामका साला हुन् विदेहका राजा भानुमन्त।अर्थात् भानुमन्त पनि राजा नै बनेका थिए। भानुमन्तलाई कतै कतै भानुमान पनि उल्लेख गरिएको पाइन्छ।

भानुमन्तपछि शतदयुन्न,शतदयुन्नपछि शुचि,शुचिपछि ऊर्जनामा,ऊर्जनामापछि शतध्वज,शतध्वजपछि कृति,कृतिपछि अन्जन,अन्जनपछि कुरुजित,कुरुजितपछि अरिष्टनेमिअरिष्टनेमिपछि श्रुतायु,श्रुतायुपछि सुपाश्र्व,सुपाश्र्वपछि सृंजय,सृंजयपछि क्षेमावी,क्षेमावीपछि अनेना,अनेनापछि भौमरथ,भौमरथपछि सत्यरथ,सत्यरथपछि उपगु,उपगुपछि उपगुप्त,उपगुप्तपछि स्वागत,स्वागतपछि स्वानन्द,स्वानन्दपछि सुवर्चा,सुवर्चापछि सुपाश्र्व,सुपाश्र्वपछि सुभाष,सुभाषपछि सुश्रुत,सुश्रुतपछि जय,जयपछि विजय,विजयपछि ऋत,ऋतपछि वीतहव्य,वीतहव्यपछि धृति,धृतिपछि बहुलाश्व र बहुलाश्वपछि कृतिलाई जनकवंशको शासक मानिएको छ।कृति नै कराल जनक हुन्।

निमि वंशले निकै लामो समय विदेहमा राज्य गरेको देखिन्छ।लामो समयको अन्तरालमा राज्यको उत्थान र पतन स्वाभाविक हो।कराललाई जनकवंशको अन्तिम शासक पनि मानिएको छ।

कतिपयले यो पनि मानेका छन् कि इपू ७५० कै आसपासमा वैशाली गणतन्त्रको स्थापना भएपछि मिथिला बज्जि महासंघमा सम्मिलित भएको देखिन्छ।यहीनेर स्मरणीय यो पनि छ कि वाल्मीकि रामायणमा स्पष्ट भनिएको छ –राम र लक्ष्मणसहित विश्वामित्र सीता स्वयंवरमा जान लाग्दा एक रात वैशालीका राजा सुमतिकहाँ बास बसेका थिए।लगभग ५२५ इपूतिर मगध सम्राट अजातशत्रुले बज्जि महासंघलाई विनाश गरेको समयसम्म पनि जनकवंशका सन्तानहरुलाई राजा मानिएको देखिन्छ।यद्यपि अब निकै सानो क्षेत्र वा गाउँसम्म सीमित हुन पुगेको हुनुपर्छ।इपू ३२६ तिर महापद्मनन्दले आक्रमण गरेर मिथिला गणतन्त्रलाई सम्पूर्णतः समाप्त गरेको पाइन्छ।

विश्व प्रसिद्ध राजा जनक अर्थात् सीरध्वज दुई दाजुभाइ थिए । सीरध्वज दाजु थिए भने उनका भाइको नाम कुशध्वज थियो । कुशध्वज अत्यन्त वीर र चतुर पनि थिए । दाजुको आदेश उनका निम्ति सर्वोपरि हुन्थ्यो । कुशध्वज सांकाश्यका राजा बनाइए । उनी कसरी सांकाश्यका राजा बनाइए ? यो पनि रोचक प्रसंग रहेको छ।

सीरध्वजको शासनकालमा जानकीको विवाह हुनुभन्दा पहिले सांकाश्यका राजा सुधन्वा थिए।सुधन्वा महत्वाकांक्षी राजा थिए।सुधन्वाले सीरध्वज जनकको राज्य मिथिलामाथि आक्रमण गरेका थिए।सुधन्वाले सीतासित विवाह गर्न चाहेका थिए। मिथिलामाथि आक्रमण गरेका सुधन्वा लडाईँको क्रममा मारिएका थिए। कुशध्वजकै कुशलताले गर्दा सुधन्वा मारिएका थिए र मिथिलामाथिको संकट टरेको थियो।सांकाश्य नरेश सुधन्वा मारिएपछि सीरध्वजले भाइ कुशध्वजलाई सांकाश्यका राजा बनाए।रामायणका प्रसिद्ध महिला पात्र सीताकी बहिनी उर्मिला उनै कुशध्वजकी पुत्री हुन् जसको विवाह रामका भाइ लक्ष्मणसित भएको थियो ।

सीताको आदर्श उर्मिलालाई थाहा थियो र आफ्नो वंशमा ठूलाको आदर कसरी गर्नुपर्दछ भन्ने कुरा पनि उर्मिलालाई राम्ररी थाहा थियो।यसै कारण उर्मिलालाई लक्ष्मणले भनेपछि लक्ष्मणसित वनवास नगएकी हुन्।

माथि राजा जनकको सबैभन्दा पूर्वज भनेर निमिलाई बताइएको छ।निमि को हुन् ? यस विषयमा वाल्मीकीय रामायणमा स्पष्ट उल्लेख गरिएको पाइन्न तर विभिन्न स्रोतहरुमा के बताइएको छ भने निमिको पिताको नाम इक्ष्वाकु थियो भने इक्ष्वाकुको पिताको नाम मनु थियो।

कतै कतै अयोध्याका राजा मनुका छोरा निमि थिए र उनले नै मिथिलाको स्थापना गरेका हुन्।

स्मरणीय छ,अयोध्याका राजा दशरथ पनि इक्ष्वाकु वंशका थिए।विकिपिडियामा इक्ष्वाकु भनेर खोज्ने हो भने एक वंशले मिथिला राज्य स्थापना गरेको बताइएको पाइन्छ।र,यो पनि बताइन्छ कि मनुको जन्म १९७०० वर्ष पहिले भएको थियो।

मनुको विषयमा विभिन्न किसिमका तर्कहरु पाइन्छन् र विभिन्न किसिमका मनु भएको पनि उल्लेख पाइन्छ।

कतिपयले मिथिलाका राजा जनक र अयोध्याका राजा दशरथलाई एकै वंशको बताउने गरेका छन्, यस कुराको पुष्टि केही हदसम्म विकिपिडियामा इक्ष्वाकु खोलेर हेर्दा पनि हुने देखिन आउँछ।

यस छोटो आलेखले जनक वंशको विषयमा धेरै जिज्ञासालाई शान्त बनाएको हुनुपर्छ।जनक वंशको विषयमा यसभन्दा बढी जानकारी भएमा कृपया यसै मञ्चमा उपलब्ध गराइदिएर सबैलाई जानकारी गराइदिन हुन पनि अनुरोध गर्दछु।

शून्य भेदभाव दिवसको औचित्य

आज शून्य भेदभाव दिवस हो।के हो शून्य भेदभाव दिवस ? के शून्य भेदभाव सम्भव छ त ? अहिले भेदभावको अवस्था कस्तो छ ? कुन कुन क्षेत्रमा धेरै भेदभाव रहेको छ ? सबैभन्दा बढी भेदभाव रहेको क्षेत्रमा पनि कसैको ध्यान जान सकेको छ कि छैन ? कसरी त्यस क्षेत्रका भेदभावलाई अझ कम गर्न सकिएला ? अहिले कुन क्षेत्रमा भेदभाव छैन ? किन छैन र कम भनिएको क्षेत्रमा भेदभावको अवस्था कस्तो छ ? कुन दृष्टिकोणले कम छ र कुन दृष्टिकोणले भेदभाव बढी छ ?

अहिले जातीय, क्षेत्रीय, लैंगिक भेदभाव रहेको छ।आर्थिक भेदभाव त झन् बढी छ र यो बढ्दै गएको छ।सामाजिक भेदभावको उत्कर्ष अझै कम भइरहेको छैन।समाजमा भेदभावको स्वरुप बदलिएको तर यो कुनै न कुनै रुपमा अझ बढिरहेको स्पष्ट छ।भेदभावले समाजको हित गरेको छ कि अहित?यस विषयमा कसैले विचार गरेको पाइँदैन भन्दा पनि अन्याय हुन्छ तर गम्भीरतापूर्वक प्रयास हुन नसकेको भने यथार्थ हो वा भेदभावलाई शून्य बनाउन चाहनेहरुले चालिरहेको कदमभन्दा भेदभावलाई बढावा दिनेहरुको कदम तीव्र गतिमा चलेको पो हो कि?

कुनै पनि नीति वा कार्यक्रम कार्यान्वयन गर्न इमानदारी सबैभन्दा ठूलो सम्पत्ति हुन्छ।इमानदार भएर लागू गरिएन भने जस्तोसुकै सरल भनिएका कुरा पनि राम्ररी लागू हुन सक्दैन।शून्य भेदभाव दिवसले पनि यही महत्व राख्दछ । हामीले जतिसुकै भेदभाव नहोओस् भनेर मन्त्र जप्यौँ तर व्यवहारमा उतार्ने बेलामा लापरवाही गर्छौँँ वा हेलचक्र्याइँ गर्दछौँ भने त फेरि भेदभावलाई बढावा नै दिएको ठहरिन्छ।हाम्रो गतिविधि यस किसिमको हुनु प¥यो कि त्यसबाट कसैमाथि भेदभाव गरेको नठहरियोस् किनभने भेदभाव आफैँमा अन्याय हो।कुनै पनि दृष्टिकोणले भेदभाव नगर्नेतिर हाम्रो ध्याउन्न हुनु राम्रो हो।

-सञ्जय साह मित्र

 

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया