काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ । अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउन पनि आदेश सहित आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भएको संसद विघटन बदर गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन । संसद पुनर्स्थापना भएपछि प्रचण्ड माधब नेपाल पक्षले फैसलाको स्वागत गर्दै तीन करोड नेपालीको जीत भएको प्रतिक्रिया दिएको छ । सर्वोच्च अदालतले संसद बिघटनलाई बदर गरेपछि आकश्मिक मन्त्रिपरिषदको बैठक बसेको छ ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।
‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेको छन्, ‘हिन्दु मिथको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झै भयो ।’
नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन्।मंगलबार साँझ ट्वीट गर्दै देउवाले सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताए। सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरु देखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ।
नेकपा नेपाल प्रचण्ड पक्षका नेता योगेश भटराईले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनकै दिन सर्वोच्च अदालतले सबिधान बिपरित गरिएको संसद बिघटन बदर गरी संसद पुनर्स्थापना उपहार दिएको बताएका छन ।
अदालतबाट संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली मनाइ रहेको छ। चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्। भोलि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका थिए। अब उक्त समूहले भोलिको सभालाई विजय सभाका रूपमा मनाउने भएको छ।
परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए ।
‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने
सर्बोच्च अदालतको फैसलाको पुर्णपाठ समेत
प्रतिक्रिया