प्रदेश नं १ मा मानव अधिकारका घटनामा ८१३ जना पीडित

इनेप्लिज २०७७ फागुन ७ गते २३:१५ मा प्रकाशित

विराटनगर,७ फागुन।प्रदेश नं १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८१३ जना पीडित भएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)प्रदेश कार्यालय विराटनगरले आज नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक गर्दै सो जानकारी दिएको हो।सन् २०२० मा प्रदेशमा गिरफ्तारीका घटनामा ३१ जना, महिला अधिकार उङलङ्घका घटनामा ३२५ जना, हत्याका घटनामा ८२ जना, बाल अधिकार उल्लङ्घनका घटनामा २९९ जना पीडित भएका छन्।

सन् २०१९ मा प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८५२ जना पीडित भएको इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापाले जानकारी दिनुभयो ।

प्रदेश १ मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले वर्ष पुस्तकको सार्वजनिक गर्दै महिला र बालबालिकाको अवस्थामा अझैपनि उल्लेख्य रुपमा सुधार हुन नसकेको बताउनुभयो ।उहाँले इन्सेकको वर्ष पुस्तक अध्ययन गर्दा समग्र मानव अधिकारको अवस्थाबारे थाहा हुने विचार व्यक्त गर्नु भयो।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय प्रमुख नितु बर्तौलाले धेरै घटनाहरु इन्सेकको बर्ष पुस्तकमा समावेश भएको बताउनुभयो।इन्सेक प्रदेश कार्यालयका प्रमुख थापाले बर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनकर्तालाई दवाव सिर्जना गर्नुका साथै राज्यलाई पनि बर्षभरिका घटनाका बारेमा अवगत हुने छ भन्नु भयो।

प्रदेश उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङलाई रु सात हजार नगद सहित पुरस्कृत गरिएको छ।

 

प्रतिक्रिया