बज्जी,वैशाली र वैश्य

सञ्जय मित्र, रौतहट २०७७ माघ १६ गते २२:४८ मा प्रकाशित

सञ्जय मित्र,

महात्मा बुद्धको महापरिनिर्वाणके केही समयपछि वैशाली ध्वस्त भयो।स्पष्ट रुपले भन्नु पर्दा इतिहास अनुसार,महात्मा बुद्धको महापरिनिर्वाणको तीन वर्ष पछि लगभग ५४८ इ.पू.मा वैशालीको पतन भएको देखिन्छ।अजात शत्रुले वैशालीलाई आक्रमण गरेका हुन्।वैशालीमा जहाँ महात्मा बुद्धले उपदेश दिएका थिए,त्यो ठाउँ अझ पनि तीर्थस्थलको रुपमा परिचित छ।महात्मा बुद्धले आफ्नो जीवनको अन्तिम उपदेश दिएको मानिएको ठाउँको स्मृतिमा इसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले बनाएको स्तम्भ(अशोकस्तम्भ)अहिले पनि रहेको छ।

वैशाली कति पुरानो वा कति ऐतिहासिक ठाउँ रहेको छ भन्ने तथ्यको रुपमा यसलाई सामान्यतया मान्नुपर्ने हुन्छ कि अहिले पनि अशोक स्तम्भ रहेको छ। महात्मा बुद्धले अत्यन्त माया गरेको ठाउँ वैशाली त्यस बेला समृद्ध थियो।विश्वको पहिलो गणतान्त्रिक शासन व्यवस्थाको लागि पनि यसको महत्व रहेको इतिहासले बताउँछ।अझ अलिक पुरानो इतिहासतिर जाने हो भने वैशालीको चर्चा रामायणमा पाइन्छ।वाल्मीकीय रामायणमा राम र लक्ष्मण सहित आचार्य विश्वामित्र जनकपुर जाने क्रममा एक रात त्यही बसेका थिए।तर वैशालीको इतिहास त्यत्तिमा मात्र सीमित हुँदैन।

विष्णु पुराणमा पनि यस ठाउँको बारेमा उल्लेख पाइन्छ।यस वंशका सम्भवतः २४औँ राजा सुमति थिए जो अयोध्याका राजा दशरथका समकालीन थिए।यति पुरानो ठाउँको वैशाली कसरी रह्न गएको हो भन्ने विषयमा अनेक तर्क पाइन्छन् तर एउटा तर्क चाहिँ वैश्य समुदाय सित सम्बन्धित रहेको छ।यहाँ यसैलाई छोटकरीमा प्रकाश पार्ने काम गरिएको छ।

बनिया बसाढ भन्ने शब्दावली अहिले पनि प्रचलित छ।कतिपय सन्दर्भमा यसलाई अपमानको अर्थमा लिन्छन् भने कतिपय सन्दर्भमा यो गर्व वा गरिमाको विषय वा पक्षको रुपमा पनि आउँछ।यस शब्दावलीमा आएको बनिया चाहिँ प्राचीन वणिक ग्राम र बसाढ चाहिँ वैशाली ग्रामसित सम्बन्धित शब्दहरु हुन् भन्ने कुरा कतिपय प्रमाणहरुले दिन्छन्।वैशालीलाई बसाढ वा वसाढ पनि धेरै ठाउँमा उल्लेख गरिएको पाइन्छ भने वणिक ग्रामको नामोल्लेख पनि वैशालीको इतिहासमा विभिन्न ठाउँमा जोडिएर आएको देखिएको छ।

ज्ञातव्य छ,लिच्छविहरु वैशालीबाट नै नेपाल उपत्यका प्रवेश गरेका थिए।प्रसिद्ध भारतीय शोधकर्ता डा.सुरेन्द्र मोहन प्रसादको एउटा पुस्तकमा लिच्छवि र बज्जि दुवैलाई पर्यायवाची शब्दको रुपमा उल्लेख गरिएको छ।अन्य धेरै सन्दर्भमा पनि लिच्छवि र बज्जि एकै हुन् भनी उल्लेख गरिएको पाइन्छ।

वैशाली र बज्जी शब्दमा धेरै तालमेल रहेको पनि डा. सुरेन्द्रमोहन प्रसादले उल्लेख गरेका छन्।वैशालीमा वैश्यको संख्या अत्यधिक थियो।वैश्यहरुको अत्यधिक संख्या भएको र अर्थतन्त्रमा निकै धेरै नियन्त्रण रहेको वैश्य वैशालीमा निक्कै सम्मानित थिए।

कतिपयको यस्तो पनि अनुमान रहेको छ कि वैशालीमा राज्यको स्थापना गर्ने राजा विशाल थिए,उनले स्थापना गरेको नाम उनकै नामबाट विशालापुरी रहेको र कालान्तरमा वैशाली कहलिएको हो।राजा विशाल पनि वैश्य समूहकै थिए र वैश्य भएकैले वैश्यलाई धेरै प्रधानता दिए तर आफूले राज्य संचालन गरेपछि क्षेत्रीय धर्म निर्वाह गर्न थाले भनेर अनुमान लगाउनेहरु पनि छ।पहिले यस नगरीको नाम वैश्यपुरी रहेको र वैश्यपुरी विशाल बन्दै गएपछि विशालापुरी र वैशाली भएको हुन सक्ने पनि मानिएको छ।

एउटा अनुमान यस्तो पनि पाइन्छ–यो पनि सम्भव छ कि विश अर्थात् चाँदी या धातुबाट बनेको सिक्काको विनिमय–विनियोग गर्ने कारणले विशबाटै वैश्य बनेको होला र वैश्यहरुको विशाल हृदय भएको कारण नगरको नाम विशाला या वैशाली सामन्नु आएको होओस्।

बज्जीहरु सबैतिर फैलिए।बज्जिका भाषाको पहिचान निक्कै पछि मात्र भयो।तर वैशालीसित वैश्यहरुको निकै घनिष्ट सम्बन्ध रहेको भन्ने यसबाट स्पष्ट हुन आउँछ ।यद्यपि ठोस प्रमाण यही नै भन्न खोजिएको होइन।धेरै अनुमानहरु नै सार्वजनिक भएका छन्।विभिन्न पुस्तकहरुमा अनुमान नै पनि भनिएको पाइन्छ तर बज्जी,वैशाली र वैश्यको सम्बन्ध अहिले पनि अन्योन्याश्रित देखिन्छ।इतिहास देखि वर्तमान सम्म यी तीनमा अन्तर्सम्बन्ध रहेको देख्न सकिन्छ।

प्रतिक्रिया