देशमा अहिले गम्भीर राजनीतिक सङ्कट–प्रचण्ड

इनेप्लिज २०७७ माघ १६ गते २२:३४ मा प्रकाशित

विराटनगर,

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखा परेकोले यसको निकासका लागि जनतामाझ आएको बताउनुभएको छ।

सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमका विरुद्ध विरोध सभा’लाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन मात्र गरेको होइनन् लोकतन्त्र माथि नै हमला गरेको छ भन्नुभयो।

अध्यक्ष दाहालले पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएको चर्चा गर्दै देशका छोराछोरी मेरा सन्तान हुन भन्नुभयो।उहाँले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई प्रधानमन्त्री ओलीले लत्याएको चर्चा गर्दै संसद विघटन नभएको धारणा राख्नुभयो।आवश्यक परे सभामुखले संसद बोलाउने र संसद चलाउने ठोकुवा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार देशमा भ्रष्टाचार गरेकोलाई पक्षपोषण गरेको आरोप लगाउनुभयो ।अध्यक्ष प्रचण्डले पार्टीमा हाम्रो दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावना अनुसार फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै सबै भन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ भन्नुभयो।

सोही पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले देशभरिमा प्रतिगमनको विरुद्धमा आवाज उठिरहेको चर्चा गर्दै संविधान सभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम प्रधानमन्त्रीले गरेको कुरामा जोड दिनुभयो।उहाँले तानाशाहीलाई कम्युनिस्ट पार्टीले स्वीकार गर्ने नसक्ने भन्दै प्रधानमन्त्री ओली आफ्नै कारणले घर को न घाट को हुने दावी गर्नुभयो।पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले प्रधानमन्त्री ओली कम्युनिस्ट आन्दोलन,सङ्घीयता र लोकतन्त्रलाई सिध्याउन लागेको आरोप लगाउनुभयो।उहाँले नौऔँ महाधिवेशनले गलत मानिसलाई नेतृत्व दिएको चर्चा गर्दै एक्लो निर्णय गर्ने,पार्टीको नीति नियम पालना नगर्ने प्रधानमन्त्री ओली तानाशाही चरित्र भएको आरोप लगाउनुभयो।

उहाँले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालत संविधान र जनताको भावना अनुसार फैसला गर्ने विश्वास आफूमा रहेको भन्दै निर्वाचन आयोगले पनि नियम र कानून अनुसार निर्णय गर्ने भएकोले पार्टी हाम्रै पक्षमा रहने दावी गर्नुभयो।

सोही पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको केन्द्रीय कमिटि र स्थायी कमिटिमा हाम्रो पक्षमा दुई तिहाई बहुमत रहेकोले निर्वाचन आयोगले सोही अनुसार पार्टीको वैधानिकता प्रदान गर्ने विश्वास छ भन्नुभयो।उहाँले जनआवाजलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि सुन्नु पर्ने धारणा राख्दै संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको दावी गर्नुभयो।

कार्यक्रम सोही पार्टीका केन्द्रीय सदस्यत्रय एवं युवा नेता योगेश भट्टराई,शिवकुमार मण्डल र भीम आचार्यले पाँच वर्ष सरकार चलाउने बहुमतलाई प्रधानमन्त्री ओलीले हण्ठका कारण विघटन गरेको बताउँदै सरकारको कदमले मुलुकमा द्वन्द्व निम्त्याउने खालको भएको कुरामा जोड दिनुभयो।

प्रतिक्रिया