कथा : अनुत्तरित प्रश्न ?

दीपक पन्त २०७७ माघ १५ गते २३:३६ मा प्रकाशित

२०७७ साल माघ महिना ९ गते विहानी पख । धेरै दिन पछि हुस्सु र कुहिरोलाई युद्ध जित्दै पहेलो घाम झुल्केको थियो । साइला काका अर्थात विश्वनाथ शर्मा राजधानीको मध्यभाग कमलपोखरी स्थित आफ्नै निवासको बरन्डामा बसी दैनिक अखवारका पानाहरु पल्टाउदै थिए ।

विश्वनाथको आठ बर्षे नाति रोशन हजुरबाको अगाडि खेल्दै थियो । “खुइय ! लामो सुस्केरा सँगै विश्वनाथले वाक्य निकाले । फेरी नबन्ने भो” आँखाको चस्मा निकाले । मन भारी पारे । अनुहारमा निराशाका बादलका तरङ्गहरु देखा परे ।

नजिकैको नातिलाई स्नेह पूर्वक मुसारे । पेटभरी म्वाँइ खाए । उनको मायाभाव देखेर लाग्थ्यो बषौंपछि उनी र उनका नाति बीच भेट भएको हो ।

रोहन अर्थहिन टोलाइ रह्यो । हजुरबाका आँखामा टप्केका आँशु देख्यो । बाल सुलभ बाक्य निकाल्यो “हजुर बा ,हजुर बा ? के भो हजुरबा ?”

विश्वनाथ अनुत्तरित बने । हातको अखवार भुइमा खसाले । “मुर्दाबाद मुर्दाबाद ,मुर्दाबाद मुर्दाबाद, यथास्थितिबादी संविधान, चाहिदैन ! चाहिदैन । प्रतिगामी संविधान मान्दैनौ ! मान्दैनौ । नेपथ्यबाट आएको ध्वनी क्रमश बढ्दै गयो । पलभरमा नै गुञ्जयमान बन्यो ।

सडक भनौ वा विश्वनाथको आँगनभरी एक हुल मानिसहरुको भीड देखियो । सबैका हातमा विभिन्न प्रकारका औजारहरु थिए । कसैका हातमा झण्डाहरु थिए त, कसैका हातमा लाठी । कसैका हातमा भाला त ,कसैका हातमा महान नेता भनिएकाहरुको अर्मुत फोटोहरु ।

भीड आफ्नै पाराले नारा, जुलुस सहित अगाडि बढ्दै गयो । विश्वनाथ र रोशन बरन्डाको छेऊबाट चिहाइ रहे । “ हजुर बा, हजुरबा ,तिनीहरु किन कराउदै हिडेका ? अनि तिनीहरुले कस्को झण्डा बोकेका ? हाम्रो स्कूलमा त देशको झण्डा त त्यस्तो छैन नी ?” अबोध नातिको प्रश्नले विश्वनाथ पुनः अनुत्तरित भए ।

“तिमी पढ बाबु, त्यो तिम्रो विषय होइन । प्रश्नलाई अन्तै तिर रुपान्तर गर्दै बालकको गहीरो जिज्ञासालाई विट मारे । रोशन आफूसँगै रहेको आइप्याडमा पुन: गेम खेल्न थाल्यो ।

केही बेरको फरकमानै अर्कै जुलुस देखा पर्यो । तर नारा फरक थियो । भीडबाट आवाज आउदै थियो “गर्छौ गर्छौ । जारी गर्छौ । हाम्रो संविधान जिन्दाबाद । हाम्रो संविधान जिन्दाबाद । नयाँ नेपाल, निर्माण गरौ आदि इत्यादि ।” यस भिडमा पनि अनेकै झण्डाहरु फर्हराइएका थिए । फोटो ,प्ले कार्डको पनि कमी थिएन ।

पछाडिका एक झुण्ड लाठा भाटा पनि सजिएको सहजै अनुमान गर्न सकिन्थ्यो । दुबै भीडका पछाडि सवारी शोभार्थ झै नेपाल प्रहरीको सानो टुकुडी थियो । मात्र नामको राज्यको उपस्थिति। भीडले चाहेका कर्महरु गर्दा, केवल साक्षि हुन कि जस्तो लाग्यो सुरक्षाकर्मीहरु । उनीहरुको मुहारमा पनि कुनै खुशी थिएन । न त भीडका ब्यक्तिहरुको जस्तो उत्तेजना नै ।

“हजुरबा ! हजुरबा !! ,म पनि जाऊ नारा लाउन ? ऊ त्यो भीडमा हेर्नुस त म जस्तै सानो केटा पनि आको रैछ । अघिको भीडमा पनि मैले म जस्तै केटा देखेको थिए ।” रोशनले प्रश्न गर्यो । विश्वनाथले गर्लाम्म अङ्गालोमा बेरे रोशनलाई । लाग्थ्यो, कयौं दिन भोकाएको हिंसृक जनावरले शिकार प्राप्त गरेको छ ।

विश्वनाथले अङ्गालो झन दह्रो बनाए । रोशन हजुर बा ‘को छातिमा टाँसीयो । विश्वनाथका पहिलानै रसाएका आँखाबाट आँशु टप्किन थाल्यो । बर्षौ देखि दवाएर राखेको स्मृतिको घाऊ पुन बल्झेको जस्तो भान भयो ।

हो ,९ वर्ष अघि यस्तै भीडमा गएको विश्वनाथको छोरा रुपक जनआन्दोलनका नाममा शहिद भएको थियो । लोकतन्त्र स्थापनाका लागि भएको संघर्षमा शर्मा परिवारले रुपकलाई आहुति दिएको थियो । कसरी विर्सन सकोस् ? विश्वनाथले ती भयानक कालरात्री दिनहरु ।

छोराको अकाल मृत्यू पश्चात शोकाकुल आमा अर्थात विश्वनाथको धर्म पत्नी राधाले पनि छ महिना नपुग्दै साथ छोडेकी थिइन । गर्वमा छदै पिता गुमाएको रोशनको आमा मीराले पनि मातृ बात्सल्यको आनन्द लिन पाइनन् । प्रशव वेदनासँगै रोशनलाई यस धर्तीमा टेकाएर संसारबाट बिदा लिएकी थिइन् ।

यसरी हेर्दा त्यही भीड /आन्दोलनका दिनबाट विश्वनाथको परिवार स्खलित हुँदै गएको थियो । ऊ सम्झन पुग्छ ! त्यो कालरात्री दिन ! आज जस्तै आफ्नै आँखामा । आफ्नै आँगनमा अगाडि बढ्दै गरेको जुलुसमा रुपक समाहित भएको थियो ।

फेरी अर्को भीड देखा पर्यो । राष्ट्रिय झण्डा ,बाजागाजा सहित थिए । तुलानात्मक रुपमा केही पाका र कम मानिसहरुको समुह थियो । यदाकदा भीडमा निला ,पहेला रङ्गका झण्डाहरु पनि बोकेको देखिन्थ्यो । नारा केही भिन्न थियो।

“ राष्ट्रियता जिन्दाबाद ! जिन्दाबाद !! हाम्रो धर्म, हाम्रो देश, प्राण भन्दा प्यारो छ । आदि इत्यादि । नाति रोशन हजुरबाको अङ्गालोबाट मुक्त भइ सकेको थियो । खेल्ने क्रममा आफूसँग भएको बेलुन फुक्यो । अनि बेलूनमा कलर पेन्सीलले नेपालको भण्डा र नक्शा बनायो ।

हजुरबाको मद्धतले लामो डोरीले बाध्यो । विहान पखको सुनौले घाममा नेपालको झण्डा रनेपालको नक्शा कोरिएको बेलुन आकाशमा उडायो । डोरी हातमा नै थियो । भीडका रङ्गहरु फेरिन थालो ।

फेरी नयाँ प्रवृतिको भीड देखा पर्यो । भीड अव सानो सानो आकारका झुण्डमा देखिन थाल्यो । झुण्ड सानो भए पनि आवाज चर्को थियो । नाराहरु चर्का /चर्का स्वरमा लाई रहेका थिए । भन्दै थिए । “ पहिचान सहितको राज्य चाहिन्छ/ चाहिन्छ । हाम्रो जात हाम्रो भेष, प्राण भन्दा प्यारो छ ।” अकास्मात रोशनको हातको डोरी फुस्क्यो । देशको नक्शा र झण्डा भएको बेलुन अनियत्रित हुँदै भीड भएको आकाशमा उड्न थाल्यो । थाह छैन ! कुन भीडका मानिसहरु बीच त्यो बाल चित्रीत बेुलुन खस्ने हो ? ।

रोशन मेरो बेलुन ,मेरो बेलुन भन्दै तल भर्यो । वृद्ध विश्वनाथले नातिको गति रोक्न सकेनन् । रोशन अगाडि बढ्दै गयो । देख्दा देख्दै रोशन भीडमा गुमनाम भयो । अबोध बालपन आफ्नो बेलुनको खोजीमा ! आफ्नो झण्डाको खोजीमा ! आफ्नो देशको नक्शाको खोजिमा ? लामो सुस्केरा सगै विश्वनाथले फेरि निराशाजनक स्वर निकाले ।

के मेरो नातिले भीडमा गुमनाम भएको सग्लो बेलुन भेट्टाउला त ? के रोशनले बनाएको नेपालको भण्डा सग्लै अवस्थामा पाउला त ? के, ऊसले बनाएको नेपालको नक्शा सोही अवस्थामा भेट्टाउला त ?

प्रश्न ? आफैमा प्रश्न बन्यो । जवाफ अनुत्तरित रह्यो । भोलिको पर्खाइमा । भोलिको पर्खाइमा ।

दीपक पन्त ,मिल्वाकी ,अमेरिका

प्रतिक्रिया