घोप्टे युगले खोसिदिएको हाम्रो रमाइलो

विष्णु पगेनी सिग्देल २०७७ माघ १५ गते १:३२ मा प्रकाशित

माघे सक्रान्ति तिर हो क्यार, बाल्टिमोरमा बस्ने एकजना आफन्तको फोन आयो म्यासेन्जरमा।घरमै थिएँ उठाए।मीठा कुराकानी हुँदै थिएँ हामी दुबैका।कुराकानीकै मेसोमा छोरा छोरीका प्रसंग आए, थाहा भयो उहाँको एक वर्षे छोरा युद्धस्तरमै ट्याब्लेटमा व्यस्त भइरहेको भन्ने।अर्की सात बर्षे छोरीको खोजी निधो गरूँ कि भन्ने मनसायले झ्यापै सोधी हालें, “अनि हजुर कि छोरी चाहिं के गर्दै छन त ?” “के गर्ने हुनु नि,ऊ पनि घोप्टेकी छ नि मोबाइलमा,” उताबाट दिक्दारिएको स्वरमा जबाफ आयो।

उनको दिक्दारीको इति वृतान्त सुनेर हैरान भएकी कठै विचरी म,र मेरो परिवार पनि त्यो रोग बाट कहाँ अछुतो थियो र ? दिनभरि ट्याब्लेट हेर्दा हेर्दा बेलुका आँखा राता पार्ने छ वर्षे कान्छी छोरी र सधैँ क्रॊमबुक र मोबाइलमा घोप्टिरहने बार्ह बर्षे छोरीका कुरा कस्ले गर्देलान र फेरि? अनि म? म पनि कुन छुट्टै दुनियाँबाट आएको प्राणी हुँ र हो, गाँठे? यो घोप्टे युगको भाइरसले छुदै नछुने भन्नु त मेरो लागि पनि घोर अन्याय होला? मेरा पनि औला भाचेर नै हिसाब गर्नुपर्दा सुत्दाका आठ घण्टा बाहेक अरूबेलाका खर्लप्पै समय त मुबाईलाँ नै स्वाहा हुँदो रहेछ। धन्न! रात पर्छ सुत्नु पर्छ अनि बिहान भएपछि काम भएको दिनमा काममा जानुपर्छ र अलि राहत हुन्छ यी आँखालाई पनि। अनि अर्को काइदाको कुरा आफ्नो त काम पनि चौबीसै घण्टा कम्पुटरमा घोप्टिने परेन त्यहीं भएर पनि हाइ सन्चै छ भन्नु पर्यो।

आजभोलि जता हेर्यो त्यतै तमासा। मुन्छे नजिक भएर पनि टाढिएकाजस्ता। घरभरि मान्छेको जमात, न गफ चल्छ न त कुरो नै हुन्छ एकअर्काका बीच । तर अरू कुरा केही होस् नहोस वालमतलब! एउटो एउटो चलाउने भाडो भने सबैका हातमा पक्कै हुन्छ। टाउको त सबैको घोप्टिएकै हुन्छ ती आ-आफना भाडामा। अब त घरमा पाहुना आउँदा पनि सन्चो विसन्चो दुख सुखका कुरा हुनै छाड्यो। खुरुक्कन इन्टरनेटको पासवोर्ड् माग्यो थाली हाल्यो मुबाइल चलाउन। हुँदा हुँदा अब त मुन्छेले घोप्टे युगको विकासमा यति ठूलो फड्को मारिसक्यो कि उही कोठामा बसेका मुन्छे मुन्छेका वीच पनि म्यासेजमा लेखेर नै गफ हुन थालिसक्यो अब त।

“चलाई रहेको मोबाइल खोसिदिने हो भने त मेरो छोरोले त राम्रै तहल्का पिट्छ दिदी घरमा”, अस्ति क्यानडा गुएल्फकी एकजना हितैषी बहिनी सार्है गुनासो गर्दै थिईन फोनमा।हरे भगवान! कस्तो जमाना आयो? आजभोलिका भुरा केटाकेटीले मुबाइल वा त्यस्तै कुनै भाडोमा नघोप्टि त भातै पनि नखाईदिने भइसके भन्याँ। के अर्नु? पाँच/ छ महिनोको बच्चोलाई पनि आफ्नो मोबाइल दियो वा ट्याबलेट्मा विन्दास बनाइदियो टेन्सन नै खत्तम। बच्चो पनि मख्ख बाबुआमा त्यसै मख्ख।

पहिले पहिले लाग्ने गर्थ्यो हामी विदेशां छौं हाम्रा केटाकेटी कहाँ जाउन र? न यिनका छिमेकी छन न साथे? हाम्रा नेपालका गाउँघराँ जस्ता न माटो छ न धूलो छ यिनलाई खेल्नलाई? के गरुन र बरा त्यहि भाडो नसमातेर। तर होइन रहेछ, चुरो कुरो भनेको देश, विदेश, छिमेकी, साथी, हावापानी, गर्मी चिसोको मात्र होइन रहेछ। यो घोप्टे रोगले त के अमेरिका, के नेपाल, के अष्ट्रेलिया विश्वभर नै नराम्ररी गाँजेको पो रहेछ। यो त अहिलेको युगको ठूलो रोग पो रहेछ। कोरोनाभन्दा पनि ठूलो। जसको कुनै भ्याक्सिन नै आउदैन।

आजभोलि नेपालाँ त झन् बच्चो देखि बूढो सम्म सबका सब घोप्टे युगका फ्यान भएको भनेर सुन्दैछु ।हाम्री गाँउकी पल्लाघरे ठुली कान्छी दिदीलाई युटुबमा यसो १/२ घण्टा आँखा नलगाई निन्द्रा नै नलाग्ने भएको छ रे।डाडाघरे श्रीधर काकालाई दिनको पचास पटक जति फेसबुकको दर्शन नगरी खानै मन लाग्दैन रे ? गाँउकै सन्ते दाइकी छोरी सरेले दिनकै दसवटा टिकटक भिडियो अपलोड नगरी अरू कामै छुदिन रे। तल्लारे हर्के दाइले अस्ति ताका घरको खसी बेचेरै फेसबुक चलाउन मिल्ने मुबाइल किने रे।

हुनत कुरा गर्यो गर्यो कुरैको दुख भने झैं उबेलाँ कुरा के गर्नु र ? हामी सानो छदा खुल्ला स्वछन्द प्रकृतिमा मस्त सँग ढुंगा, माटो, र धुलोमा रुमल्लिएर आफ्ना हितैषी दौतरीहरूसँग खेल्नुको मज्जा कति हुन्थ्यो अहिलेका केटाकेटीलाई के थाहा होला र ? त्यो बेला विद्यालय विदाको समयमा गाई बाख्रा चराउन जाँदाको रमाइलो होस् या ढुंगाका गट्टा, खुट्टे,अनि माटाका भाडाकुढी र साना साना कपडाका पुतली बनाएर खेलेको सम्झदा मन त मरेजाम।रोमाञ्चक भएरै आउँछ भन्याँ। सफा बगेको खोलामा नजानी नजानी भए पनि माछा मार्न तम्सिएको,खोलामा पौडी खेलेको सम्झनाका खातहरूले जीवन नै रंगीन भएझैं आभाष हुने गर्छ अहिले पनि।

अहो । खोलाकै किनारको बयर घारीमा पाकेका राता, पहेंला बयर अनि काँडाको दुखाइ भुलेर भए पनि लिइएका बयरका मीठा स्वाद।अम्बाका रूखमै चढेर पाकेको अम्बा क्वाप्पै मुखाँ हालेको, मेवा, सुन्तला आफ्नै हातले टिपेर खाएको कुरो त एकादेशको कथा नै हुने हो कि जस्तो भैसक्यो अहिले त। त्यति बेलाको रमाइलो पो रमाइलो। दिन भरि सबै आफ्ना काममा व्यस्त भए पनि बेलुका परिवारका सबै सदस्य सँग मीठा मीठा कुराकानी हुन्थे।एकआपसमा आत्मीयता हुन्थ्यो।तर जबदेखि घोप्टे युगको इतिश्री भयो गायब भए ती सबै मुन्छेबाट।

चाहे घरमा बसोस अथवा कुदिरहेको रेलमा,रेस्टुरेण्टमा वा रेस्टरुममा अथवा काम गर्ने अफिसमा नै किन नहोस ? यसो मौका पायो भने औला लम्काइहाल्छ ल्यापटप, ट्याब्लेट र मोबाइलमा। पुलुक्क आँखा लगाई हाल्छ सामाजिक संजालतिर।हुँदा हुँदा अब त यस्तो भइसक्यो कि बरू श्रीमान् वा श्रीमती नभए पनि होस् अथवा भोकमा मुखमा हाल्ने माड होस नहोस् वा शरीर ढाक्ने एक सरो गतिलो कपडो होस नहोस तर जसरी भए पनि चाहियो, चाहियो यी विधुतीय भाडाहरू।जसले आँखा तिरिमिरी पारिदिउन एकैछिन भए पनि।

समय र समयसंगै विकास भइरहेको आजको विश्व।अनि यहि विकासमा फुरुङ्ग परेर रमाइरहेका हामी नाथे मुन्छेका जात।बिज्ञानको विकास संगै दगुर्न सकेको भ्रममा मस्त, ब्यस्त,अनि मक्ख छौँ।विकास संगै झ्याप्पै परिवर्तन भइरहेको छ हाम्रो जीवन शैली पनि। विडम्बना के छ भने वर्तमान समयमा,हामी बीच तीव्र प्रतिष्पर्धा र आफ्नो प्रतिश्प्रधीलाई जसरी पनि जित्नै पर्ने धारणा दरो गरेर विकास भएको छ हामीमा। त्यसैले त परिस्थिति संग र यन्त्रहरू सँग नीरिह बन्दै छौं हामी वर्तमान आधुनिक युगका मान्छे।

मान्छेले आफ्नो सुविधाको लागि फ्याट्ट फ्याट्ट गर्दै अनेकन आधुनिक यन्त्रहरूको आविष्कार गरिरहेको छ।ऊ एकपछि अर्को गर्दै नयाँ नयाँ कुराको खोजमा दौडेको दौड़यै छ।अहिले आएर मान्छेका खोजले संसारलाई नै जितेको उद्दघोष गर्दै छ।तर यहाँ नेर मैले बढो दुखसंग एउटा कुरो भन्नै पर्छ,संसारलाई नै जिते भनेर मख्ख परेको मान्छेले विज्ञानका नयाँ नयाँ आविष्कारसंगै आफैंसंग भने नराम्ररी हारेको छ।

उसको खुसी,रमाइलो,आत्मीयता बिस्तारै खोसिदै छ आफैँबाट नै।नाता-सम्बन्ध, साथीभाइ त छन् तर एकआपसमा आत्मीयता भने कत्ति छैन।खाट्टी भन्नु पर्दा,ऊ नजानिँदो पाराले मानवबाट यान्त्रिक बन्दै छ। भौतिक आनन्द नै परम आनन्द हो भन्ने भ्रममा परेको मुन्छेले पत्तो नै नपाइ अन्य कुराबाट पाइने खुसी गुमाएको छ।

आज आएर मुन्छेलाई विधुतीय भाँडाहरूको नशाले नराम्रोसंग गाँजेको गान्ज्यै छ।हिजोको समयमा उसले गरेको अर्गानिक रमाइलो जति सप्पै हराएर ठप्पै भएको छ।अब ऊ बोल्न नपरे हुन्थ्यो, खान पनि नपरे हुन्थ्यो काम गर्न पनि नपरे हुन्थ्यो जस्तै गरि चौबिसै घण्टा यन्त्रमै यन्त्रबत रुपमा रमाउन थालेको छ।आजभोलि त लाग्दैछ अब मान्छे क्रमश: मेशिन बाट बन्ने रोबर्टमा परिवर्तन हुँदैछ,जसबाट न कुनै माया र न कुनै समवेदना नै आशा गर्न सकिन्छ।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका।

प्रतिक्रिया