शिक्षाको क्षेत्रका दुई प्रतिष्ठित संस्थाले गरे मन्त्री साहलाई अभिनन्दन

इनेप्लिज २०७७ माघ १० गते १८:०३ मा प्रकाशित

 

रौतहट,

शिक्षा विकास तथा समन्वय इकाई रौतहट र जुद्ध माध्यमिक विद्यालय गौरले संघीय सरकारका सहरी विकास मन्त्री प्रभु साहलाई अभिनन्दन गरेका छन् । रौतहट सदरमुकाम गौरमा आयोजित रौतहटका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकहरुसितको शैक्षिक अन्तक्र्रियामा दुवै संस्थाले मन्त्री साहलाई अभिनन्दन गरेका हुन्।

देशको चौथो जेठो विद्यालय जुमावि गौरमा नै अध्ययन गरेका मन्त्री साहलाई विद्यालयका प्रधानाध्यापक चन्देश्वर प्रसादले दोसल्ला ओढाएर अभिनन्दनपत्र हस्तान्तरण गर्दै विद्यालयमा अडोटोरियमको आवश्यकता रहेकोले सम्भव भएसम्म निर्माणको व्यवस्था गरिदिन आग्रह गरेका थिए।जबाफमा मन्त्री साहले आफूले कतैबाट व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई रौतहटको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले देशको सबैभन्दा पुछारमा रहेको रौतहटको शिक्षालाई सबैभन्दा माथि एक नम्बरमा ल्याउन अनेक चुनौती भए पनि शिक्षकहरुले चाहेमा सम्भव भएको बताएका छन्।जिल्लाबासीको नाताले सरकारमा एक जना मन्त्रीको रुपमा आफूले गर्न सकिने सहयोग गर्न तयार रहेको बताउँदै मन्त्री साहले शिक्षाको विकासको लागि यससित सम्बन्धित हरेक पक्षले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।

जिल्लाका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले आफ्ना विद्यालयका समस्या,शिक्षकका समस्या,जिल्लाको शैक्षिक समस्या तथा समग्र शिक्षाका समस्याहरुबारे खुलेर बोलेका थिए।जिल्लामा बहालवाला कुनै मन्त्रीको अगुवाइमा पहिलोपटक शिक्षकहरुले आफ्ना समस्या राख्न पाएकोमा खुसी व्यक्त गरेका छन्।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुशवाहा,विघटित प्रतिनिधिसभाका साँसदहरु समिना हुसेन,रेखा झा,नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य मणिशंकरलाल निधि लगायतको पनि सहभागिता रहेको थियो।

जिल्लाका केही शिक्षक संगठनहरुले कार्यक्रमलाई बहिस्कार गर्न विज्ञप्ति जारी गरेका थिए।कार्यक्रमको अध्यक्ष शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख रामविनयकुमार सिंहले अध्यक्षता गर्दै जिल्लाको शैक्षिक वस्तुस्थिति माथि प्रकाश पारेका थिए।

प्रतिक्रिया