सडक दुर्घटना र नेपाली जीवनको मूल्य

विश्वमान आङ्गदेम्बे, अट्लान्टा, जर्जिया, अमेरिका २०७७ पुष २५ गते ११:१५ मा प्रकाशित

आज जनवरी ८ (शुक्रवार) साँझतिर फेसबुकको भित्तामा एउटा पोस्टमाथि आँखा पर्यो । समाचार पत्याउन गाह्रो थियो ।एकछिन गम्भीर सोचमा परे। गाउँको एकजना फोतोग्राफर दाइको सो पोस्टमा मोरंग जिल्लाको रंगेली नगरपालिका वडा ९ सखुवाथान निवासी “गीता भट्टराई नेपाल” म्याडमको नजिकैको गाउँ भौन्साबारीमा रंगेली-कानेपोखरी जोड्ने हालसालै कालोपत्रे भएको सडकमा “बाइक दुर्घटना”मा असामयिक निधन भएको खबर थियो। गाउँको “बालज्योति अंग्रेजी स्कूल” का एक संचालक तथा उत्कृष्ट शिक्षक “गीता भट्टराई नेपाल” म्याडम मिजासिलो, सहयोगी, अनि सबै संग मीठो बोलि र व्यहार गर्नुहुन्थ्यो । स्कूलका अरु शिक्षकहरुसंग बुझ्दा अर्कै स्कूलको गाडीले बाइकलाई ठक्कर दिएर लडेपछि ब्याक गरेर मारिएको कुरो सुन्नमा आयो। बाइक चालकलाई गाडीमुनिबाट केहि मान्छेले निकाल्न भ्याएछन तर गीता म्याडमलाई भने बचाउन भ्याएछन्। सुनेर हाम्रो समाजको यस्तो हालत देखेर धिक्कार लग्यो। मान्छेको ज्यानको कुनै मूल्य-महत्व छैन। नसोचिकनै मारिन्छन “बच्नुपर्ने” मान्छेहरु। खासै ठूलो चोटपटक नलागे पनि मारिन्छन। यस्तो किन भईहेको छ हाम्रो देशमा? समाजले एउटा एकदमै उर्जन्सील व्यक्तित्व – सहकारीको अध्यक्ष, स्कूलको संचालक अनि शिक्षक – अनि परिवारले एउटा आमा, एउटा श्रीमती, एउटा अपरिहार्य सदस्य गुमायो।

ड्राइभिङ्ग लाइसेन्स र गाडीको पर्याप्त वीमा
जुन देशमा कानून कम्जोर हुन्छ, त्यो देशमा न्याय पाउने ठेगान हुन्न।हाम्रो देशको कानूनको बारेमा हामीलाई थाहै छ। अमेरिका जस्तो विकसित देशमा दुईटा कुरा नभईकन गाडी छुन पाइन्न – ड्राइभिङ्ग लाइसेन्स र गाडीको वीमा। सुन्नमा आयोकी सो गाडीको चालक एक जना भर्खर सिकारु युवा ड्राइभर, त्यो पनि लाइसेन्स बिनाको, थिए रे । त्यो गाडीको ‘वीमा’ थियो की थिएन? थियो भने गाडीको भौतिक क्षति र अरुलाई ठक्कर दिंदा उसको शारीरिक क्षतिको लागि कतिको “कभरेज” थियो त? सोको जानकारी चालकलाई थियो की थिएन? किनकि यदि कमसेकम १५-२० लाखको शारीरिक क्षतिको “कभरेज” थियो भने त्यहि वीमाले ‘उपचार’ खर्च धान्ने थिय। नेपालमा गाडी मालिकले व्यक्तिगत खर्चले उपचार गर्नुको साटो मान्छे मर्दाको क्षतिपूर्ति रकम थोरै हुने देखेर ‘जानी जानी’ सामान्य चोटपटक लागेकालाई पनि मार्ने गरेको पाइएको धेरै दृष्टान्तहरु छन्। सरकारले यो विषयमा बलियो कानून बनाउनु पर्छ र कार्यान्वयन गर्नु पर्छ। न्युनतम २०-२५ लाख, कति हुन्छ, बीमा हुने पर्छ, गाडीको आकार र प्रकार हेरेर। लाइसेन्स बीना चलाएको जरिवाना र सजाय कडा बनाउनु पर्छ।

जीवन बीमा
यो चाही हरेक नागरिकले लिनुपर्छ , आफुलाई केहि भईहाल्यो भने आफ्नो परिवारको आर्थिक सुरक्षाको लागि काम लाग्छ । समस्या के छ भने नेपालमा बीमा धेरै महँगो छ। नेपालमा मैले “पैसा बचत” हुने बीमामात्र भेटेको छु जुन धेरै महँगो छ – २० लाखको २० वर्षे “जीवन तरंग” बीमाको वर्षेनी १ लाख जति पर्न जान्छ, त्यो पनि २५-३० वर्षे जवान मानिसको लागि। नेपालमा “आवधिक बीमा” मैले भेट्टाएको छैन। “आवधिक बीमा” धेरै सस्तो हुन्छ।अमेरिकामा नेपाली रुपैया ३ करोडको २० वर्षे आवधिक बीमा नेपाली ३ हजारमा सजिलै पाइञ्छ २५-३० वर्षे स्वस्थ मानिसको लागि। एक त नेपालमा बीमा कमैले गर्छन। अर्को त जति कमले बीमा लियो, त्यति महँगो हुन जान्छ।नेपालमा सस्तो “आवधिक बीमा” र धेरैलाई बीमा गराउनु पर्ने एकदमै आवश्यकता छ।

न्यूनतम ट्राफिक चिन्हहरुको उपयोग
नेपालमा सडक बनाइन्छ तर सुरक्षाको न्यूनतम ख्याल राखिएको हुन्न। द्रूत गतिमा चल्ने राजमार्गहरु बस्तिको वीचैबाट लागिएको हुन्छ। त्यसमाथि “गति सीमा” हुन्न। “लेन मार्कर” हुन्न।सबैतिर ट्राफिक बत्ति सम्भव नहोला तर एकदमै कम खर्चमा सामान्य ट्राफिक चिन्हहरुको प्रयोगले अधिकांश सडक दुर्घटना रोक्न सकिन्छ

“स्टप” चिन्ह
अमेरिकामा एउटा सडक अर्को सडकमा “क्रस” हुँदा वा मिल्दा “स्टप” चिन्ह जताततै देख्न सकिन्छ। सानो बाटोबाट आएकोले सो चिन्हमा केहि समय (५-१० सेकेन्ड) रोक्ने, दायाँ-बायाँ हेर्ने अनि अगाडी बढ्ने। यति जाबो सानो नियमले कति दुर्घटनाहुन बाट जोगिन्छ? यदि चारैतिर “स्टप” चिन्ह छ भने जो पहिला रोकेको हो, उ पहिला अगाडी बढ्ने।कति सरल तर ज्यान जोगाउने प्रभावकारी नियम ।

गति सीमा
नेपालमा जसले जातिमा गाडी हुइकायो भने पनि हुने – चाहे आवाद होस् कि जंगल। हरेक बाटोमा,अझ विशेषगरी मूल बाटो र राजमार्गमा, हरेक १-२ किलोमिटरमा “गति सीमा” राख्नुपर्छ।स्कूल क्षेत्रमा ३५-४० किलोमिटर प्रति घण्टा को गति सीमा, मूल बाटोमा अनि आवाद ठाउँमा ५० – ६० किलोमिटर प्रति घण्टा को गति सीमा, र बस्ति नभाको ठाउँमा ८० – १०० किलोमिटर प्रति घण्टा सम्मको गति सीमा राख्न सकिन्छ।यसले गर्दा बस्ति भाको ठाउँमा “द्रूत गतिमा” गाडी नचलेपछि दुर्घटना हुने सम्भावना आफै धेरै कम हुन जान्छ।

लेन मार्कर
अहिलेसम्म मैले नेपालको कुनै पनि बाटोमा लेन मार्कर देखेको याद छैन।यतिसम्म कि राजमार्ग जस्तो बाटोमा पनि छैन। अमेरिकम्मा जस्तो दुइतर्फी ट्राफिक हुने बाटोमा वीचमा “पहेलो धर्का” अनि एकतर्फी ट्राफिक हुने बाटोमा दुई वा बढी लेन भएको खण्डमा “सेतो धर्का” कोर्न सकिन्छ। बस्ति कम भाको र सुरक्षित ठाउमा “ब्रेक” भएको धर्का राख्न सकिन्छ जसमा “ओभरटेक” गर्न मिल्छ।अन्य ठाउँमा “निरन्तर धर्का” राख्न सकिन्छ जसमा “ओभरटेक” गर्न मिल्दैन अनि दुर्घटना हुने सम्भावना कम हुन जान्छ।

यस्ता सामान्य ट्राफिक चिन्हहरुको उचित प्रयोग तथा लाइसेन्स अनि बीमाको कडा नियम कार्यन्वयनले वर्षेनी हज्जारौं मानिसहरुको “अनाहक” मा “सडक दुर्घटना” बाट ज्यान जोगाउन सकिन्छ। स्थानीय तथा प्रदेश अनि केन्द्र सरकारको अनि ट्राफिक प्रहरी विभागको यसमा ध्यान जाओस।

-विश्वमान आङ्गदेम्बे,
अट्लान्टा, जर्जिया, अमेरिका

प्रतिक्रिया