नैतिकताहीन नेतृत्वको उपज राष्ट्रपति माथिको गाली-गलौज :
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष,स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी,विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२औं स्थानमा सूचिकृत गरेको गरेकी तथा गणतन्त्र नेपालको दोश्रो र नेपालको इतिहासको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी हिजो पौष १४ गते दुई पुर्व प्रधानमन्त्रीहरुले नेतृत्व गरेको विरोध जुलुसमा चरित्र हत्याको शिकार हुनुपर्यो।दुवै पुर्व प्रधानमन्त्रीहरु विवाहित पुरुष हुन।विवाहिता श्रीमतीहरुका साथ पारिवारिक जीवन बिताइ रहेका नेपालका वरिष्ठ नेतागणहरुले नेतृत्व गरेको जुलुसमा एक विधुवा महिला माथि चारित्रिक हत्याको गाली-गलौज सहितको नाराबाजी हुदां महिला हक अधिकारको नारा बोकेर हिड्ने मानव अधिकारवादीहरु र महिला अभियान्ताहरुको आवाज कतै सुनिएन।
विगतमा राष्ट्रपतिको पद सम्हाल्दा पटक पटक पतिको हत्यारा पत्ता लगाउन नसकेको आरोप त कहिले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै आलोचित हुदै आएकी थिइन तर हिजो देशकी राष्ट्रपतिलाई नै त्यति तल्लो स्तरमा झरेर गाली-गलौजको नारा लगाउने कार्यकर्ताको जत्थालाई नेतृत्व गरेर राष्ट्रनिर्माणको झुठो आश्वासन जनतालाई बांढेर आफु छोटे महाराज बन्ने सपना मात्र देखेका रहेछन भन्ने प्रस्ट देखिन्छ।हिजोको विरोध जुलुसमा राष्ट्रपति माथिको गाली-गलौज महिला मानसिक हिंसाको पराकाष्ठा हो,यसको निन्दा जुनसुकै शब्दमा गरेपनि कम हुन्छ।
मानवाधिकारवादी र समाजसेवीहरुको मौनता:
भीषण आगोको शुरुवात सानो झिल्को बाट नै शुरु हुन्छ।महिला राष्ट्रपतिको गाली गलौज सहितको विरोध जुलुस लाई सानो उदाहरण बाट जोड्न खोजें।ठुलो संख्यामा नेपालीहरु विदेशमा छन र ती नेपालीहरुलाई एउटा छाता संगठन गैर आवासिय नेपाली संघले जोडेको छ।क़रीब ८० देशमा आफ्ना राष्ट्रीय समन्वय परिषद स्थापना गरेको छ।डिसेम्बर १९ का दिन युरोपका पाँच अस्ट्रिया,आयरल्याण्ड,डेनमार्क,स्पेन र युकेका राष्ट्रीय परिषदका युवा संयोजकहरु मिलेर नेपालका दृष्टिविहीनहरुको सहयोगार्थ खोलिएको संस्था कलरफुल स्याडोजको लागि केही सहयोग रकम संकलन गरे।
यस कार्यक्रमको भव्य सफलता बाट उत्साहित भएको समुहले अझै विस्तृत रुपमा अर्को कार्यक्रम गर्ने योजना बुन्यो र छनौटमा पर्यो “महिला हिंसा र लैंगिक समानता”।योजनाकै रुपमा अगाडी सारिएको कार्यक्रमको प्रारम्भिक चरणमै विद्रोह शुरु भयो,महिला सम्बन्धी विषय महिला महासचिव वा महिला संयोजकले मात्रै उठान गर्न पाउनुपर्छ र सहभागिता महिलाको मात्र हुनुपर्छ भन्ने विद्रोहको आवाज आयो।यस विद्रोहले आन्दोलनको रुप लिनु अगावै आयोजकपक्षले योजनालाई नै स्थगित गर्नु पर्यो।गैर आवासिय नेपाली संघ,युरोपका राष्ट्रीय समन्वय परिषदहरुको यस योजनालाई विफल बनाउन महिलाहरु प्रयोग गरी महिलाहरुलाई नै असफल बनाउनुले नेपालमा बसोबास गर्ने महिलाहरु पितृ सत्तात्मक सोच बाट जति पिडीत छन, त्यति नै पिडीत विदेशमा रहेका महिलाहरु पनि छन भन्ने प्रस्ट हुन्छ।पहिलो महिला राष्ट्रपतिमाथि त्यति असम्भ्य शैलीमा गाली गलौजको हिंसा हुदां गैर आवासिय नेपाली संघको महिला सामाजिक अभियन्ताहरुको कुनै विरोध नसुनिदा शिक्षित र स्वावलम्बी महिलाहरुले समेत अर्की पिडीत महिलाको इज्जत लुटिएको टुलुटुलु हेरेरै बस्ने रहेछन भन्ने प्रस्टियो।
नेपाली सामाजिक संरचना र संस्कार:
२०४६ सालको जन आन्दोलनले पन्चायती व्यवस्था ढाल्न जुन अस्त्रहरु नेपाली समाजमा परिचित गरायो र सफलता हासिल गर्यो।त्यसले राजनैतिक क्रान्तिको साथ साथै अराजकता र अनुशासनहीनताले पनि नेपाली समाजमा राम्रो स्थान प्राप्त गर्यो।२०४६ साल पछि सुचना र संचार क्षेत्रमा जुन किसिमको परिवर्तन आयो, त्यसले नेपाली समाजलाई थप उत्श्रृखलता तिर धकेलिदियो।जिम्मेवार राजनैतिक दल र तिनीहरुका नेताहरुआइ परेको समस्या समाधान तर्फ लाग्नु पर्नेमा विरोध, विद्रोह र विरोधलाई मात्रै राजीतिको अस्त्र बनाउनुले देश र जनताप्रति गैरजिम्मेवारीपना हो।
शायद २०४६ सालदेखि २०६२/६३ सम्म आइपुग्दा भएका विभिन्न राजनैतिक उतार-चढ़ाव अनि पाठ्यक्रममा हेर फेर र पाठ्यक्रमबाटै नैतिकशिक्षा हटाइनुले पनि यो छाडापन बढदै गएको हुनसक्छ तर यसलाई नियन्त्रणमा लिन र पितृसत्तात्मक सोचले ग्रसित सामाजिक संरचना तोड्न दरिलो कानुनको जरुरत छ।नेपालमा साइबर क्राइमको व्यवस्था नभएको होइन तर कानुन ठुलालाई चैन सानालाई ऐन बनिदिन्छ भने हरेक कुरा दलगत राजनीति संग जोडिनु दुर्भाग्य हो।विरोध, विद्रोह,असहमति,नकारात्मक व्याख्या र गाली गलौज नेपाली समाजमा भित्राउने राजनैतिक दलहरु नै हुन भन्ने कुरा सन् २०१७ सालमा विवेकशील पार्टीका तर्फ बाट काठमाण्डौ महानगरपालिकाको स्थानीय चुनावकी प्रतिस्पर्धी २१ वर्षीया रन्जु दर्शनालाई महान्यायधिस सुशिला कार्की महाअभियोग प्रकरणमा सार्वजनिकरुपमा भाषण गर्दा स्याल बहादुर,मुसा बहादुर र फुस्य कमल भनी शेर बहादुर देउवा र प्रचण्डलाई गरेका गाली गलौजले युवा पुस्तामा गहिरो छाप पर्नुले नेपालका राजनैतिक दलहरु जुन जोगी आए पनि कानै चिरिएका हुन भनी प्रमाणित भइसकेका छन।शक्ति संकलनको चरणमा रहेका वैकल्पिक राजनैतिक शक्तिका नेताहरु डा. बाबुराम भट्टराई,रविन्द्र मिश्र हुन या अस्तित्व बचाउन लागि परेका नागरिक समाजका अभियन्ताहरु स्वागत नेपाल,डा. सुरेन्द्र के सी, पत्रकार रवी लामिछाने हुन या पुन्य गौतम सबको शैली गाली गलौज,अपशब्द र नकारात्मक नै हुने गरेको छ,जसका कारण राजनैतिक अस्थिरता र सामाजिक संरचना दिन प्रतिदिन बिग्रदो छ भने नेपाली समाजमा महिलाहरु हरेक दिन असुरक्षित र निरुत्साहित हुदै गइरहेको छन र युवापुस्ताअनुशासनहीन र मानवताहीन बन्दै गइरहेको छन।जिम्मेवार राजनैतिक दलहरुले आफ्ना नीति र प्रणालीमा सुधार नल्याए भोली मौखिक गाली गलौजले हतियारको प्रयोग ननिम्ताउला भन्ने छैन।
राष्ट्र प्रमुख एक महिला र अझै भन्नु पर्दा दुई छोरीहरुकी आमालाई यस किसिमको तल्लोस्तरमा झरेर सार्वजनिकरुपमा गरिएको गालीलाई सामान्य सम्झिएर तारे होटलहरुमा वा जुमका अनलाइन मिटिंगहरु सजिएर महिला अधिकारका कुरा गर्दै महिला हकहितको भाषणले न कसैको मानव अधिकारको रक्षा हुन्छ न त हिंसा नै रोकिन्छ।सर्प देख्दा दुलो बाहिर हात र माछा भेट्दा दुलो भित्र हात घुसार्दैमा सामाजिक रुपान्तरण हुदैन।
महिला राष्ट्रपति विद्यादेवी भण्डारी माथि प्रयोग गरिएका निम्न स्तरीय गाली गलौजको नारा गर्ने र त्यसको नेतृत्व गर्ने माथि मानहानिको सार्वजनिक मुद्दा दायर गरी कानुनको दायरामा ल्याइ सजाय दिलाउनु नै समयको माग हो र यसमा मानव अधिकारवादी र महिला अधिकारवादीहरुको आवाज उठ्नु जरुरी छ।होइन भने बोक्सीको आरोपमा एकल महिलाहरुले दिशा पिसाब खान बाध्य पारिनु ,बलात्कार पछि बालिकाहरुको हत्या हुनु,दाइजो कम ल्याएर छोरीहरु जिउदै जल्नु वा प्रेम सम्बन्ध अस्वीकार गरेर तेजाबले जल्नु जस्ता अपराधहरु एकदिन समाजमा सामान्य चोटपटकसंग दांजिनेछ।
बाबा राजेश्वरी थापा
भियना,अस्ट्रिया
प्रतिक्रिया