प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने–मुख्यमन्त्री राई

मनोज दाहाल २०७७ पुष ५ गते १४:२२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,५ पुस(रासस):प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताउनु भएको छ।

प्रदेश सरकार,विराटनगर महानगरपालिका र नीजि क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा रु आठ करोडको लागतमा विराटनगर –१० मा एचडियु र अक्सिजन सहितको थप १०० बेडको कोभिड अस्पतालको आइतबार उद्घाटन गर्दै उहाँले कोरोनाको उपचारको कममा नीजि अस्पतालले नागरिकको घरवास समेत उठाएकोले गुणस्तरीय निःशुल्क उपचारका लागि अस्पतालको निर्माण गरिएको विचार व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले कोराना सङ्क्रमित जनताले अक्सिजनको अभाव र सहज उपचार उपलव्ध नहुदा अकालमै ज्यान गुमनाउनु परेकोमा दुःख व्यक्त गदै नौलो सोच र छोटो समयमा कोभिड अस्पतालको भौतिक संरचना निर्माणबाट उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो।

उहाँले संविधान निर्माण एवं सङ्घीयतामा नीजि क्षेत्र राष्ट्रको एउटा खम्वा भएकोले राष्ट्र निर्माणमा सहकार्य गर्न सकिन्छ भन्ने उदारण नव निर्माण भएको कोभिड अस्पतालको सफल प्रयोग हो भन्नु भयो।

उहाँले कोरोना महामारीबाट नागरिकको उपचारका सम्वन्धमा समाजमा रहेको विभेद अन्त्य गरेको छ भन्दै अस्पताल निर्माणमा राजनीतिक स्वार्थ विना सवै पार्टी,नागरिक समाज आपसमा मिलेर अस्पतालमा तयार गरेको विचार व्यक्त गर्नु भयो।

सङ्घीय उद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै सराहनी कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त राख्न आग्रह गर्नु भयो।

उहाँले कोरोनाको जोखिम हटेपछि विशिष्टकृत अस्पतालको रुपमा प्रयोग गर्नु पर्नेमा जोड दिदै यसका लागि आवश्यक पर्ने सहयोग सङ्घीय सरकारबाट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो।

प्रदेश नं १ का प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अस्पताल निर्माण नीजि क्षेत्रको सहयोगमा अनुकरणीय कार्य भएको चर्चा गर्दै कोरोना सङक्रमितहरु अक्सिजन विना छटपटाएको कैयन घटनाको स्मरण गर्दै अव सहज उपचार सेवा उपलव्ध हुने विश्वास व्यक्त गर्नु भयो।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोभिड अस्पतालको क्षेत्रमा थप १०० बेडको भेन्टिलेर अस्पतालमा चाँडै निर्माण कार्य शुरु गर्नका लागि स्विस सरकारबाट रु चार करोड सहयोग उपलव्ध भएको जानकारी दिदै फोहर व्यवस्था,वाटर ट्रिटमेन्ट,र अक्सिजन प्लान्ट आदि यस क्षेत्रमा निर्माण गर्ने बताउनु भयो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्क्रमित नागरिकको उपचारको समस्याका कारण नीजि क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोच अनुसार अस्पताल निर्माण भएको बताउर्दै भविष्यमा यस अस्पताललाई विशिष्टकृतको मुटु रोग उपचार केन्द्र बनाउनु पर्नेमा जोड दिनु भयो।

नागरिक केयर सेन्टरका अध्यक्ष पवन सारडा, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले अस्पतालको निर्माणबाट यस प्रदेशका साथै छिमेकी प्रदेशका नागरिकले सहज उपचारको सुविधा प्राप्त हुने बताउनु भयो।

सेन्टरका कोषाध्यक्ष एवं मोरङ व्यापार संघका पूर्व सभापति महेश जाजुले आर्थिक प्रतिवेशन पेश गर्नु भएको थियो।

अस्पताल निर्माणका लागि प्रदेश सरकारले रु एक करोड, महानगरपालिकाले रु २५ लाख र विभिन्न नीजि क्षेत्रका उद्योगी,व्यापारी,वैंक लगायतले रु छ करोड ७५ लाख सहयोग उपलव्ध गराई रु आठ करोडमा अस्पताल निर्माण सम्पन्न भएको हो।

 

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया