प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गैरसंवैधानिक र अलोकतान्त्रिक कदम : नेपाली काँग्रेस

इनेप्लिज २०७७ पुष ५ गते १३:०८ मा प्रकाशित

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनलाई गैरसंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निन्दा र भत्सर्ना गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि बताएको छ ।

संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ ।

बैठक पछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भत्सर्ना गर्दछ ।

बैठकले निम्नानुसार निर्णय गरेको छ—

नेपाल सरकार मन्त्री परिषद्ले आज हठात् प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी गरेको निर्णय, प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिस र सम्माननीय राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनामा हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ ।

(१) यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो । सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ ।

(२) विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ । कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जन–जिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रीत रह्यो । पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता संचालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता हो ।

(३) नेपाली कांग्रेसको यो बैठक नेपाल कम्युनिष्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

(४) नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्नेछ ।

जय नेपाल !

 

प्रतिक्रिया