जीवनमरणको दोसाँधमा प्रचण्ड, मोहन वैद्य र बाबुरामका जनयुद्धकालीन सुरक्षा कमाण्डर

इनेप्लिज २०७७ मंसिर ६ गते १६:०३ मा प्रकाशित

नेकपा (माओवादी) ले १० वर्षसम्म जनयुद्ध सञ्चालन गर्‍यो। भीषण लडाइँपछि शान्ति स्थापना भएको शुक्रबार (मंसिर ५ गते) १४ वर्ष पुग्यो। यसबीचमा जनयुद्धमार्फत् शान्ति प्रक्रियामा आएका त्यही पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने।

पार्टी एकतापछि बनेको नेकपा र सोही पार्टीको नेतृत्वमा बनेको सरकारमा जनयुद्ध लडेका नेताहरू मन्त्रीको कुर्सीमा छन्। कोही राजनीतिक नियुक्ति पाएर काठमाडौंका आलिशान महलमा बसेका छन्।

तर, जनयुद्धमा प्रचण्ड, बाबुराम, मोहन वैद्यसहित शीर्ष नेताहरूलाई आफ्नो ज्यानको बाजी लगाएर सुरक्षा प्रदान गर्ने योद्धाहरू अहिले जीवनमरणको दोसाँधमा छन्। उपचार खर्च व्यहोर्न नसकेर जीवनको अन्तिम घडीको प्रतिक्षामा छन्।

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका जनयुद्धकालीन अंगरक्षक तुलबहादुर घर्ती (मुनाल) उपचार गर्ने पैसाको अभावमा छन्। पक्षघातका कारणले स्वास्थ्य अवस्था गम्भीर भएको छ।

जनयुद्धका क्रममा प्रचण्डको सुरक्षामा रातदिन खटिएका घर्तीको उपचारमा न त सरकारले केही गरेको छ, न अध्यक्ष प्रचण्डले नै चासो देखाएका छन्। उनी अहिले घरमै सिकिस्त अवस्थामा छन्।

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जवाङस्थित आफ्नै घरमा रहेका घर्तीले उपचारको अपेक्षाले धेरै नेतालाई गुहारिसकेका छन्। तर, कतैबाट उपचारका लागि सहयोग नपाएको घर्तीका आफन्तले बताएका छन्।

‘जनयुद्धकालको चर्चित चुवाङ बैठकमा प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, हालका गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरूको सुरक्षाको जिम्मेवारी घर्तीले नै लिनु भएको थियो,’ एक आफन्तले भने, ‘तर, अहिले उपचार नपाएर छटपटिँदा पनि कसैले हेरेनन्।’

पार्टीका नेताहरूलाई पूर्व जनसेनाका कमाण्डर घर्तीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराइएको परिवारका सदस्यहरूको भनाई छ। तर, पार्टीका नेताहरूले सहयोगको आश्वासन बाहेक केही नदिएको उनीहरूको गुनासो छ।

उपचार खर्च जुटाउन लागे सामाजिक अभियन्ता

पक्षघातबाट थपिएका तुलबहादुर घर्तीको उपचार खर्च जुटाउन अभियान शुरु भएको छ। तत्कालीन माओवादीका नेता तथा सामाजिक अभियन्ता हेमबहादुर खड्कासहितका युवाहरूले घर्तीको उपचारका लागि पहल थालेका हुन्।

‘तुलबहादुर घर्ती उपचार नपाएर छटपटिरहँदा कसैले पनि सहयोग गरेनन्, त्यसैले खर्च जुटाउन थालिएको हो,’ खड्काले भने, ‘उपचार नपाएरै उहाँको ज्यान जाने अवस्थामा नआओस् भनेर अभियान शुरु गरेका हौं।’

खड्काले उपचार सत्तारुढ नेकताका नेता तथा आमनागरिकलाई सहयोगको अपिल गरेका छन्। ‘देशको परिवर्तनका खातिर आफ्नो शरीर जर्जर बनाउने मुनालजस्ता सयौं साथीहरू अहिले गम्भीर अवस्थामा हुनुहुन्छ,’ खड्काले भने, ‘उहाँको जीवनरक्षा गर्नु आफ्नो दायित्व ठानेर हामीले खर्च जुटाउन थालेका हौं।’

जनयुद्धकालमा आफ्नो ज्यानको बाजी लगाएर शीर्ष नेताको सुरक्षा गर्ने योद्धाहरूलाई सरकारले उपचार खर्चसम्मको व्यवस्था गर्नुपर्ने खड्काको धारणा छ।

‘जनयुद्धमा हेडर्क्वाटरका नेताहरूको रक्षा गर्ने मुनालजस्ता सयौं कमरेडहरू बेसहारा हुनुभएको छ, उहाँहरूको जीवनरक्षा कसले गर्ने?,’ खड्काले भने, ‘राज्य जिम्मेवार होस्, सबैले सहयोग गरौँ भन्ने मेरो अपील हो।’

घर्तीलाई काठमाडौं ल्याएर उपचारको प्रबन्ध गर्ने तयारी भएको जानकारी खड्काले दिए। सहयोगका लागि बैंकमा खाता खोलिएको र विभिन्न क्षेत्रका अगुवासँग आवश्यक समन्वयको प्रयास भइरहेको उनले बताएका छन्।

प्रतिक्रिया