ढकाललाई ध्रुबे हात्तीको संज्ञा, पैसा र पावरको दम्भ नदेखाउन सुमार्गीको चेतावनी

इनेप्लिज २०७७ मंसिर ३ गते २२:४१ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् आगामी निर्वाचनमा पनि खुला तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीले महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई ध्रुबे हात्तीको संज्ञा दिएका छन् ।

नेपालगन्जमा आयोजित चुनावी कार्यक्रममा सुमार्गीले ध्रुबे हात्तीले एक जनालाई बोकेर चुनाव जिताउने ठेक्का लिने प्रवृत्ति अब अन्त्य हुनैपर्ने बताएका हुन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहलाई नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा सुमार्गीले ५० प्रतिशतको हकदार भएर पनि महासंघले जिल्ला नगरको तर्फबाट नेतृत्व नपाउनु दुखद भएको बताए ।

“महासंघमा एउटा ध्रुबे हात्ती छ” सुमार्गीले भने, “ध्रुबे हात्तीले चुनाव जिताउने ठेक्का लिने प्रवृत्तिका कारण ५० प्रतिशत हकदार भएर पनि आजसम्म आनन्दराज मुल्मीबाहेक अरु नेतृत्व जिल्ला नगरबाट पुग्न सकेका छैनन् ।”

उनले भने “एउटा ३ दशक लामो महासंघमा सेवा गरेको किशोर प्रधान हुनुहुन्छ, अर्कोतिर पैसा र पावरको दम्भमा चुनाव जित्छु र जिताउछु भनेर हिडेको ध्रुबे हात्ती छ, अब यो ध्रुबे हात्तीको आतंक धेरै दिन सहनुपर्ने छैन ।”

सुमार्गी किशोर प्रधान समूहको चुनावी प्रचारप्रसार संयोजक पनि हुन् ।

प्रतिक्रिया