बुधबार, मंसिर १० २०७७
काठमाडौं ०३:११
वासिङटन डिसी 16:26

कविता: बर्षौं भयो नभेटेको!

विमल नेपाल २०७७ कार्तिक २८ गते ०:२८ मा प्रकाशित

बर्षौं भयो नभेटेको!
थाहा थिएन मलाई
तिमि हिडेको बाटोको पनि सुगन्ध हुन्छ भनेर
तिम्रो मुटुको ढुक ढुकी अझै गुन्जिन्छ भनेर!

चैते घाम-पानीमा निथ्र्युक रुझ्दै
मलाई नदेखे जस्तो गरि, मैलाई सुनाउन
तिमीले बनपाखा जुन्जाएको कहाँ बिर्सेको छु र?
बर्षौं भयो नभेटेको,
थाहा थिएन मलाई तिम्रा स्वर अझै यी पाखामा
घन्कीरहन्छ भनेर!

शिशिरका ती चिसा रातमा
जग मग जग मग तारा जगमगाएको बेला
याद छ त्यो हाम्रो प्रथम चुम्बन?
आजभोलि याद अझै सल्बलाउछ।
बर्षौं भयो अँगालो नहालेको
थाहा थिएन मलाई
आज भोलि चिसा रातले पनि तातो स्वाश फेर्छ भनेर!

सायद बसन्तको त्यो कुनै दिन
मनोहर सुर्यास्तको बेला
बास बस्ने चराहरुको चिरबिर बीच
तिम्रो चंचल नयन लजाएको बेला
मैले घुम्टो हटाइ दिएको?
थाहा थिएन मलाई
हरेक बासन्ती-साँझ आहिले सम्म लजाउछ भनेर !

जुनेली रातमा
तिमीलाई भेटेको साँझमा
हाम्रो प्रथम स्पर्शको याद आउछ।
हरेक पुर्णिमाको दिन
अझै पनि जुन मुस्कुराउछ।
बर्सौं भयो नछोएको तिमीलाई
थाहा थियन मलाई,
हरेक पुर्णिमाको दिन जुन शर्माउछ भनेर!

बर्षौं भयो नभेटेको!
थाहा थिएन मलाई
तिमि हिडेको बाटोको पनि सुगन्ध हुन्छ भनेर
तिम्रो मुटुको ढुक ढुकी अझै गुन्जिन्छ भनेर!

– विमल नेपाल, नोवेम्बेर १२  २०२० क्याम्ब्रिज, म्यासाच्युसेट्स

प्रतिक्रिया