भूमरी संग कुस्ती खेल्दै स्वच्छ हावा सरी बहकिदिने
शक्तिको सागरमा डुबुल्की मार्न सिकाउने मेरी आमा ।
चक्रब्यूहरुलाई सहज यात्राको रेखाहरु कोर्न सिकाउने
जीवन सुमार्गको आभाष गराइ रहने मेरी प्यारी आमा ।
गोधूली साँझ पिंढिमा बसी सुनौलो बाटो बिछ्याइ रहने
सन्ततिको खुसीमा सुकर्महरु पछ्याइ रहने मेरी आमा ।
बिथोल्न खोज्नेहरु सित मितेरी लाउन सिकाइरहने
निस्वार्थ मायाकी खानी हुंदा रैछन् सन्ततिकी आमा ।
तिमीलेनै सिकायौ कुकर्म र हिनताहरुबाट पञ्छिरहने
सन्ततिलाई कर्म र कर्तब्यको बोध गराउने मेरी आमा ।
‘आमा’ म पनि त आमा बनें जब तिमी जस्तै लहराउने
महसुस गरें कति पिडाहरु लुकाउनु पर्दा रहेछन् आमा ।
संधै सुख –खुसीको आगमन सपनाको माला बुनीरहने
आँधी –असिनालाई छिचोल्दै हुईंकिनु पर्दो रहेछ आमा ।
तिम्रा सदगुण, शिक्षा, पाठहरु मनन् गर्दै सिकिनै रहें
सिकाउने उही हो सन्ततीलाई जे सिको गरें आमा ।
मलाई गर्व लाग्न थाल्यो नारी हुनुमा जब म आमा बने
म पनि त आमा बनें संस्कार सिकाउने तिमी झै आमा ।
अलका मल्ल ,काठमाडौं
प्रतिक्रिया