मोरंगमा थप छ जना कोरोना सङ्क्रमितको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १५ गते १४:३६ मा प्रकाशित

विराटनगर,१५कात्तिक । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बुढीगंगा मोरङमा एक र म्याक्स इन्टरनेशनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एकजनाको मृत्यु भएको हो।

नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध, मोरङ सुन्दरहरैचा नगरपालिका– १० की ६९ वर्षीय महिलाको आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिनु भयो सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल अगाडी शुक्रबार एम्बुलेन्समा नै मृत्यु भएको छ ।मृतक कोरोना पोजेटिभ देखिएपछि उपचारका भर्ना हुन अगाडि नै मृत्यु भएको प्रवन्धक दाहालले बताउनु भयो।

विराट शिक्षण अस्पतालमा विराटनगर–३ का ६५ बर्षीय पुरूषको आज मृत्यु भएको छ । मृतक यही कात्तिक ६ गते उपचारका लागि भर्ना भएको आइशोलेसन प्रमुख सुनिल देवले जानकारी दिनु भयो।

यस्तै म्याक्स ट्रमा सेन्टर विराटनगरमा उदयपुरकी ४२ वर्षिया एक महिलाको आज मृत्यु भएको छ । मृतक उपचारका लागि शुक्रबार हस्पिटलमा भर्ना भएको प्रवन्धक हेमनारायण मेहताले बताउनु भयो।

प्रदेश नं १ मा अहिलेसम्म कोरोना सङ्क्रमणबाट १९२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया