बज्जिका साहित्य संगमको पाँचौ वार्षिकोत्सव

सञ्जय मित्र, रौतहट २०७७ कार्तिक ७ गते १:५१ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

राष्ट्रिय जनगणनामा एउटा मातृभाषालाई अर्को मातृभाषामा उल्लेख गर्ने गराउने चलखेल हुने गरेकोले आउँदो जनगणनाको लागि मातृभाषा प्रति सचेत रहने गरी केन्द्रित हुन भाषा सेवीहरुले आग्रह गरेका छन्।बज्जिका साहित्य संगम रौतहटको पाँचौ वार्षिकोत्सव तथा साधारण सभा लाई सम्बोधन गर्दै बज्जिका भाषा विकास परिषद नेपालका अध्यक्ष शिवचन्द्र प्रसाद साह,बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव,बज्जिका शिक्षक प्रतिष्ठान नेपालका अध्यक्ष सफिन्द्र प्रसाद यादव,सर्लाहीका साहित्यकारहरु रामचन्द्र महतो कुशवाहा, रामपवित्र साह,राजेन्द्र ठाकुर,रामअधार पासवान,संगीता सहनी,रेणु गुप्ता लगायतले भाषा र साहित्यको विकासका साथै जनगणनामा मातृभाषा बज्जिका प्रति सचेत रहल आग्रह गरेका छन्।वर्तमान अवस्थामा बज्जिका भाषा र साहित्यको चेतनाको विस्तार सन्तोषजनक रहेको भन्दै थप अध्ययन र अनुसन्धानको आवश्यकता रहे पनि आउँदो जनगणनामा महोत्तरी,सर्लाही, रौतहट र बाराका बज्जिका मातृभाषी लाई अझ बढी सचेत गराउनु पर्ने आवश्यकता औल्याइएको छ।

संस्थाका अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष किशुन दयाल यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बज्जिका भाषाका अभियन्ता साहित्यकार सञ्जय साह मित्रले कार्यक्रमको संचालन गर्दै बज्जिका भाषा र साहित्यको अवस्थाको बारेमा प्रकाश पारेका थिए।

मुख्य गरी सर्लाही र रौतहटमा बोलिने बज्जिका भाषा पूर्वी बारा तथा पश्चिमी महोत्तरीसम्म बोल्ने गरिएको दाबी बज्जिकासेवीहरुले गर्ने गरेका छन्।पछिल्ला दुई राष्ट्रिय जनगणनामा समावेश भएको बज्जिका देशको सातौँ ठूलो मातृभाषाको रुपमा रहेको तथ्यांकले देखाएको छ।

सरकारले मातृभाषा बज्जिका लाई उपेक्षा गरेको आरोप बज्जिका भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रका बुद्धिजीवीहरुले लगाउने गरेका छन्।

 

प्रतिक्रिया