मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २०:३७
वासिङटन डिसी 09:52

कविता कविता भएछ

इनेप्लिज २०७७ कार्तिक ६ गते ०:४१ मा प्रकाशित

कविता

कविता भएछ

जगन्नाथ पाैडेल ,भर्जिनिया, अमेरिका

तिमीले हात उठा भन्याै

मैले उठाएँ

तिमीले नाक छाेप् भन्याै

मैले छाेपिदिएँ

मुख छाेप् पनि भन्याै

छाेपिदिएँ

हुँदाहुँदा छाक बन्द गर् भन्याै

त्याे पनि गरें

हामीजस्तै सबैकाे शिर टेकेर

अग्लाे भएँ भन्याै

मनले मानेन

र पनि

हेरिबसें

आँखीझ्यालबाट चुहिएकाे

अलिकति उज्यालाे हेर्नखाेज्दै थिएँ

समयकै आँखामा पैताला बजार्याै

शिर टुट्लाजस्ताे भाे

छाती फुट्लाजस्ताे भाे

तर छामेर टालेर बसें

हुँदै नभएकाे कुरा हाे भन्याै

कान थुन्न मन गरेर पनि

नथुनी बसें

भएकाे कुरालाई हुँदैहाेइन भन्याै

हेर्न लाज लागेर पनि

आँखा बन्द गरिनँ

हुँदहुँदा तिमीले

ओठ बन्द गर् भन्न भ्यायाै

सास मात्र बाँकी राख्याै

त्यसैले थाम्नै नसकेर तिम्रा हर्कत

हेर्नै नसकेर पिपिएकाे त्याे अनुहार

अक्षरमा बारुद भरें

र पड्काएँ

(साेच नै साेचले कवि पाे भएछु क्यार)

कविता भएछ ।

प्रतिक्रिया