मानवअधिकार रक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरी सफल–मुख्यमन्त्री राई

इनेप्लिज २०७७ असोज ३० गते ११:०८ मा प्रकाशित

विराटनगर,३० असोज(रासस): प्रदेश प्रहरी कार्यालय प्रदेश न.१ रानी विराटनगरमा ६५औँ प्रहरी दिवसको अवसरमा इलाम वशन्तपुरकी प्रहरी जवान सविना खत्री सर्वोत्कृष्ट प्रहरीको रुपमा आज पुरस्कृत हुनु भएको छ।

उहाँलाई साधना देवी श्रेष्ठको नाममा स्थापित अक्षयकोषबाट रु.एक लाख राशीको पुरस्कार कोषका संस्थापक विक्रम श्रेष्ठले प्रदान गर्नुभयो।

सोही कार्यक्रममा प्रहरी परिवारका एसइइ परीक्षामा उत्कृष्ट हुने ३६ जना छात्रछात्राहरुलाई जनही रु.१० हजारका दर पुरस्कार प्रदान गर्नुका साथै प्रदेश प्रहरी कार्यालयमा व्यवस्थापनमा उत्कष्टता हासिल गर्ने प्रहरी जवान एवं अधिकृतहरुलाई पनि पुरस्कृत गरियो।

मुख्यमन्त्री शेरधन राईले गौरवपूर्ण इतिहास बनाएको नेपाल प्रहरीले मानवअधिकार रक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।उहाँले आफ्ना पहिचान र परिचय झल्काउन सक्ने नेपाल प्रहरीले सीमित साधन श्रोतको बाबजुद पनि समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको बताउँदै राष्ट्रको साझा आकाँक्षा पूरा गराउन प्रहरी संगठन सदैव क्रियाशील रहनु पर्ने कुरामा जोड दिनुभयो । मुख्यमन्त्री राईले समाजलाई अपराधरहित बनाउ प्रहरी संगठनलाई समयसापेक्ष सुदृढ गर्नु पर्ने आवश्यकता औल्याउँदै कोभिड–१९ को रोकथाम एवं नियन्त्रणमा प्रहरी संगठन अग्रपंक्तिमा बसेर काम गरिरहेकोमा प्रशंसा गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी संगठन इमान्दार र अनुशासित ढङ्गले परिचालन हुनु पर्ने भन्दै प्रहरी संगठनलाई सक्षम एवं दक्ष बनाउन प्रदेश सरकार गम्भीर छ भन्नुभयो । उहाँले प्रहरी संगठनले उच्च मनोबलका साथ जनताका काममा लाग्नु पर्ने सुझाव दिँदै धरानमा स्थापित फोरेन्सीक ल्यावलाई स्तरीय बनाउन प्रहरी नायव महानिरीक्षकलाई निर्देशन दिनुभयो ।

प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले नेपाल प्रहरी सीमित साधन र श्रोतबाट नै समाजमा अमनचयन कायम गराउन सफल भएको प्रसंग उल्लेख गर्दै प्रहरी संगठन कुनै पनि लोभलालचमा नपरि जनताका सेवामा तल्लिन रहेको कुरामा जोड दिनुभयो।

 

प्रतिक्रिया