पीडित छन् ईश्वर पनि

विकास थापा २०७७ असोज २४ गते १६:३५ मा प्रकाशित

एकाबिहानै
फूलअक्षता धूप बोकेर
लागेथे मन्दिरतिर
ढुङ्गाभित्र देवता खोज्न
गाउॅदै आरती भजनहरू
बाल्दै गर्दा धूपबत्ती
देखे एउटा उदासिनताको गाउॅ
आकाशलाई छानो मानी बस्नेहरूको
देखे एउटा विरहको बस्ती
मागीमागी प्राण धान्नेहरूको
देखे चहलपहलभित्र एउटा उत्पात
ढोगी धनीमानी धर्मात्माहरूको

कुनै शोक काव्यको
सम्प्रेषित सर्गजस्तै
छटपटाउॅदै थियो एउटा कुनो
फैलाउॅदै वरिपरि वेदनाको पवन
झरेको एउटा फूलको शोकमा
सुने फेरि उही र उस्तै विवशता
आकाङ्क्षाको चील गाडी चढेर
“अरब “ उडेका ती गाउॅहरूबाट
फुट्यो रे फेरि अर्को चुरा
के नै गर्न सक्थे र वियोगी मैले
चढाइदिॅए एउटा समवेदनाको फूल
र सम्झे चॅुडिएको सपना उसको

मन्दिरभित्र गुन्जिएथे वर्जित भजनहरू
कहॅा गएथे कुन्नि उर्तीण भक्तहरू
देखिन्न कोही दर्शनार्थी
बनेथे भत्किए आस्थाहरू
भत्कियो खै ? कसरी भत्कियो
भक्तहरूले लिएको धर्मको बाटो
पोखियो खै ? कसरी पोखियो
पापका घैलाहरू धर्मको साटो
मानिसहरूले लिएको कर्मको बाटो
हे युग !

कति सस्ता भएछन् ईश्वरहरू
कति निर्मम भएछन् भक्तहरू
बोले त हुन्थ्यो ती ढुङ्गाका ईश्वरहरू
छाप्नुहुन्थ्यो एउटा विज्ञापन बरू
ईश्वर अहिले अन्यायमा छन् ।

विकास थापा
पेन्सलभेनिया,अमेरिका

प्रतिक्रिया