खोई कुन चाहीँ विषयमा एकाग्र हौं र कथा लेखौं
कुन चाहीँ को नालिवेली खोलौ र व्यथा पोखौ
र देखाउ समाजलाई कि परिस्थिती प्रतिकूल छ
भयाभय त छँदै थियो भावशुन्य पनि भएको छ।
घर :
घरभित्र हेरौ भने प्रेम सिकिस्त र रिक्छ छ
स्वः मातालाई नै चिथोर्ने र दोहन गर्ने चित्र छ
स्वः जनलाई नै तिरस्कार गर्ने खेल बुनिदैछ
कलह र विद्वेश फैलाउने जाल बुनिदैछ ।
जसको मानो खाको छ र संसारमा आको छ त्यसको मान छैन,
जसको रगत र पसिनाको भेलमा उभिएको छ त्यसको मोल छैन
वरु छ त दुर्वचन, तिरस्कार र अपहेलना छ
विषयूक्त वाणीले लहुलोहान गरिदो छ ।
यहाँ वावुहरु कुटिदैछन, आमाहरु लुटिदैछन्
लछार–पछार पारेर उनिहरुकै घरबाट धोक्रयाइदैछन्
लखेटिदैछन्, मानौं उनिहरुको वात्सल्य प्रेमनै अपराध थियो
यसै भकुरिदैछन्, मानौं उनिहरुको वलिदान नै पाप थियो ।
घर घरमा छोरीहरु दुत्कार्येका छन् र लुटिएका छन्
भोग्य सामाग्री झै मुल्य सँग तुलिएका छन् र मारिएका छन्
भाई–भाई–सधैं लडाई–साँढे जुधाईको अन्त्य छैन
घृणाको ज्वार भाटा चम्किलो छ ताप र रापको सिमा छैन ।
स्वार्थ चम्किएको छ, यया इर्षा दन्किएको छ यहाँ
अहंकारको उग्रताले गाँजेर द्वन्द चर्किएको छ यहाँ
न सम्झाउन मिल्छ, न समाल्न मिल्छ यहाँ
आफैले सिर्जेको संसारले आफैलाई निल्छ यहाँ ।
समाज :
घरहरु भत्किएका छन्, वुझ्रुकहरु तर्साइएका छन्
प्रतिष्पर्धाको द्वन्दताले सन्किएका र रन्किएका छन्
कसैले कसैलाई चिन्दैन यहाँ, कसैले कसैलाई मान्दैन यहाँ
समाजको लोहलोहन भएको छ, कोही समाजलाई जान्दैन यहाँ ।
मित्रतामा छिद्रता आएको छ
अपनत्वलाई स्वार्थले खाएको छ
बन्धुत्व प्रतिष्पर्धाले क्षत विक्षत र विक्षिप्त भएको छ
घर कलहको विष प्रवाहले समाजलाई खाएको छ ।
फुट छ, झुट छ र व्रहमलुट छ, समाजमा
वलिया वाङ्गिएका वाङ्गिएकै छन्
निमूखा र निर्धा चाहीँ नग्याईका नग्याईकै छन्
चरम ब्यथितिहरु सल्वलाएर नाङ्गोनाच छ समाजमा ।
अब समाज भन्ने नै काहाँ छ र क्षत विक्षप्त भएको छ
धुजाधुजामा च्यातिएको छ र रित्तिएको छ
समाज खण्डहर भएको छ, एकादेशको कथा भएको छ
व्ययक्तिक स्वार्थताका विष प्रभावले समाज मुर्छित भएको छ ।
राष्ट्र र राष्ट्रियता :
राष्ट्र रोएको छ, फुटेको घर र भत्किएको समाजमा
दर्शक बनेको छ, मूक दर्शक भएको छ, कुजिएको छ, आफैमा
वादले किचिएको छ, प्रतिवादले मिचिएको छ
अजंगका स्वार्थीवासीको वोझले त्यसै त्यसै रापिएको छ ।
व्यक्ति–व्यक्तिको अहंकारले राष्ट्रलाई पोलेको छ
छिन्न भिन्न भएको विकृत समाज स्थितिले राष्ट्रलाई गालेको छ
हतप्रथ वटुवा झै रणभुल्लता छाएको छ
आफैलाई पो कतै वेच्ने हुन कि ? शंका पलाएको छ
जातका र रंगका नाममा राष्ट्रलाई चिर्न खोज्ने पनि सल्वलाएका छन् ।
धर्मका नाममा विभेदिकरण गर्नेहरु त झनै सल्वलाएका छन्
राजनितिक लुछाचुँडीले तछाड मछाड गर्ने क्रमले उनितिको घर पारेका छन्
राष्ट्रलाई चिरा चिरा पारेका छन् ।
संसार :
यो एका देशको कथा मात्र पनि होइन,
यो एक या अर्को राष्ट्रको व्यथा मात्र पनि होइन्
यो व्ययक्तिक स्वार्थपरताले छोपेको अन्धकार
कुनै भौगोलिक सिमाना भित्र मात्रको पनि होइन
यो व्यापक अझ सर्वव्यापक माहारोग हो,
सनातन प्रचलन र संस्कृति माथिको खुला आक्रमण हो,
पाश्चात्यताले अतिक्रमित विष तरङ्ग हो
मनै औपनिवासित वनाउने सवः म,म म जगाउने रोग हो ।
यो झाँगिदो छ, अनवरत र रैथोनेलाई विस्तापित गरिरहेछ
धेरै नै शक्तिशाली छ उल्टो दिशामा बगेको छ,
भेल उर्लिरहेछ, कुर्लिरहेछ र मानवताको पर्खाल तोडिरहेछ
सुमधुरताका संस्कार र संस्कृतिलाई वगाई रहेछ,
थोपरी रहेछ शुस्क र छुद्रता सहितको स्वार्थ,
मानवीयताको खेलवाड भएको छ,
कुरीतिको नाङ्गो नाच चम्किइको छ ।
माया, प्रेम र सद्भाव व्यापार बनाइदैछन्
निर्धालाई आघात र वलियालाई अपरम्पार बनाईदै छन्
कुण्ठा बढाईदैछ, कलुसितता जगाईदै छ
मानव मन, मष्तिष्कमा नै आघात गरि मानवलाई स्वार्थ पुन्ज बनाइदै छ,
संसार नै कपटिको खेल मैदान कनाइदै छ ।
विभेदले रंगमन्च सजाएर, स्वार्थको मन्चन गरिदो छ,
लोभको कहिल्यै नभरिने भाडो अझै विशाल बन्दो छ,
व्देष, घमण्ड र अहंकारले –तप्त तप्त ढाकेर शिलवन्द गरेको छ
व्दन्द्र –प्रतिव्दन्दताका सांगा भित्र –मानवत वनेको छ ।
यो प्रलयकारी माहारोग हो,
विकास–उन्नती र प्रगतीको नाममा प्रवेश गरेको हो,
यसलाई पन्छाउन सजिलो छैन
स्वतन्त्रताको नाममा पसेको छैद हो
यसलाई टाल्न सजिलो छैन ।
यो अदृष्य छ, मन मष्तिष्कमानै प्रवेश गरेको छ,
रोक्न कठिन छ, यो विष प्रवाह धमनीमा नै घुलेको छ,
मानवको स्वसुखरुपी माहास्वार्थ चाहानालाई हतियार बनाई
मानवलाई अन्धो स्वार्थी बनाई रहेको छ,
स्वः सुखमय माहाजादुले भ्रमित पार्दै
घर, समाज, राष्ट्र र राष्ट्रियतालाई नै तोडिरहेछ ।
यो एउटा विषय युक्त स्वः स्वार्थको आदत हो
जसले विकाशरुपी माहाअस्रमा स्वतन्त्रता रुपी तीर साँधेर हृदयमा नै घोप्छ र मताउँछ
मात्तिएको मानव वेहोसी मै आफ्नैलाई घोच्छ
अनि आफैबाट टाढिन्छ ।
घर चोईट्याउँछ, समाज टुक्राटुक्रा पार्छ
कलहको सलह प्रवेश गराई राष्ट्रलाई पनि धोका दिन्छ
यो प्रलय हो मनुषत्व भाँड्न तम्सिएको छ ।
यो कृतिमताले भरिएको छ, क्षणमै रंग फेर्छ
मानिसलाई मानिस होइन, उपभोग्य वस्तुमा हेर्छ
यो महारोग हो, एकादेशक मात्र कथा होइन
यो स्वस्वार्थ–स्वसुखको माहाअस्त्रधारी माहारोग,
चानचुने हिसावमा छेकिने व्यसन होइन ।।
त्यसो भए कसो गर्ने :
विकल्प–१
हार स्वीकारेर रुने, कराउने, चिच्याउने
मनुषत्व समाप्तीलाई स्वीकार गर्ने,
हथप्रथ भएर निरासाको दास बन्ने,
लासको के आस भनि माहारोगको ग्रास बन्ने।
विकल्प–२
यो महारोगको प्रतिकार गर्नु पर्छ
उल्टो दिशाबाट आएको रोगलाई छेक्नु पर्छ
र नङ्गयाउनु पर्छ, यस व्यधिलाई
त्यसै गरी जसरी यसले मानवतालाई विरुप पारेको छ,
यसका लागी कलमवाजहरु व्यूतनु पर्छ
र देखाउनु पर्छ, सत्यको तागत
ज्ञानीहरु जाग्नु पर्छ र ज्ञानको चक्र संचार गर्नुपर्छ
जाजलयमान बनाउनु पर्छ , शान्ति संन्देशलाई ब्युताउनु पर्छ ।
ज्ञान यज्ञ गर्नुपर्छ , सत्यका ऋचाहरु वाचन गर्नुपर्छ
प्रेमले सिंचेर, प्रेमकै अखण्ड माहाज्योती प्रज्वलन गर्नुपर्छ
र होम्नु पर्छ, त्यो माहास्वार्थ प्रवृतिलाई –र प्रेममय बनाउनु पर्छ ।
ऋषि, महर्षि व्यूतिनु पर्छ
सन्त, महात्मा र सर्जक वौरीनु पर्छ
र पिउनु पर्छ ती अहंकार, स्वार्थ र घृणा सहितको विष प्रवाहलाई
विज्ञहरु जाग्नु पर्छ र छोड्नु पर्छ पाप नासक अस्त्र
शान्ति शान्ति अनि माहाशान्तिलाई ।
पर्खिने समय छैन –माहारोग व्यापक बनिसकेको छ,
त्यसैले प्रेमवादी र सत्यवादीहरु उठिहाल्नु पर्छ
मानवतावादीहरु सुमधूरताको व्यूहरचनामा जुटी हाल्नुपर्छ
ज्ञानीहरुले साश्वत प्रेमको संजिवनीलाई प्रयोग गरिहाल्नु पर्छ ।
र यो प्रवृतिगत स्वार्थीपनको निरुपण गरी,
प्रेमको आलिकनले घरपरिवारलाई ब्यूताउँनु पर्छ
करुणाको सागरमा समाजलाई नुहाउनु पर्छ,
समता, समानताको सर्वमान्य सिद्धान्तमा राष्ट्रलाई डो¥याउनु पर्छ
विश्व वन्धुत्व र भाइचारामा संसारलाई फिर्ता ल्याउनु पर्छ ।
वशुधैव कुटुम्वकमलाई सर्वव्यापक बनाउनु पर्छ
सर्व सहवन्धुत्वमा संसारलाई जोड्नु पर्छ
प्रकृत प्रदत मूलस्वरुप मानवले सहजीवनमा फर्किनु पर्छ
प्रेममय संसारलाई पूर्नजीवन दिनुपर्छ ।
प्रेममानै जीउन जान्नु पर्छ,
प्रेमद्वारा नै विदाई लिन तयार हुनुपर्छ ।
।। शुभम् ।।
– प्रा.डा.मेदनीप्रसाद भण्डारी
प्रतिक्रिया