अन्तर प्रदेश कविता गोष्ठी आयोजित

इनेप्लिज २०७७ असार २७ गते १२:३५ मा प्रकाशित

– सञ्जय मित्र, रौतहट

भर्चुअल प्रविधिबाट अन्तर प्रदेश कविता गोष्ठी सम्पन्न भएको छ।मकवानपुरको झरना साहित्यिक परिवारले शनिवार व्यवस्थापन गरेको भर्चुअल अन्तर प्रदेश कविता गोष्ठीमा छवटा प्रदेशका कविहरूले रचनावाचन गरेका छन्।

आयोजक संस्थाका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा प्रदेश १ बाट रशेम शुभेच्छु, प्रदेश २ बाट सञ्जय साह मित्र, बागमती प्रदेशबाट रचना मोक्तान यात्री, गण्डकी प्रदेशबाट मिल समीर, प्रदेश ५ बाट सरस्वती कुसुम्या र सुदूर पश्चिम प्रदेशबाट मीन थापाले तीन चरणमा गरी तीन तीनवटा कवितावाचन गरेका छन्।

कार्यक्रममा मित्रले बज्जिका, यात्रीले तामाङ र कुसुम्याले थारू भाषामा पनि एक एक कवितावाचन गरेर गोष्ठीलाई बहुभाषिक बनाएका छन्।

वाचित कविता तथा समसामयिक कवितात्मक प्रवृत्तिबारे कवि तथा समालोचक निमेष निखिल र रमेशमोहन अधिकारीले प्रकाश पार्दै प्रविधिमैत्री कविता गोष्ठीले एकातिर देशका सबै प्रदेशका कविलाई जोडेर आत्मीयताको विकास गरेको छ भने अर्कोतिर वर्तमान अवस्थामा साहित्यकारको भूमिकाबारे पनि स्पष्ट पारेको बताएका छन्।

कार्यक्रममा विभिन्न संघसंस्थाका साथै अन्य जिल्लाका प्रतिनिधि कविहरूको पनि भर्चुअल सहभागिता रहेको थियो । मकवानपुरबाट हरेक प्रदेशका एक एकजना सहभागी गराएर प्रवृत्तिगत तथा विधागत रचनावाचनको पहिलो प्रयास भएको टिप्पणी गरिएको छ।

कर्णाली प्रदेशबाट रत्नकमल विष्टलाई सहभागी गराउने कार्यक्रम रहेकोमा प्राविधिक कारणले सहभागिता जनाउन नसकेको आयोजक संस्थाका सचिव मसान उपासकले जानकारी गराएका छन्।

प्रतिक्रिया