“मेरा हजुरबुवा”

कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका २०७७ असार २५ गते २१:४० मा प्रकाशित

आजभोलि
हजुरबुबा
निक्कै सम्झनामा आउन थालेका छन्
छड्के ढाकाटोपी र दौरासुरुवालमा सजिएका
हजुरबुबाले
शनिश्चरे बजारको अर्जुनधारामा
मलाई आशीर्वाद दिएका भर्खरजस्तो लाग्छ।
दशैंमा टीका लगाएर
मेरो शिरमा जमरा राख्दै
आशीर्वाद दिएका भर्खरजस्तो लाग्छ ।

भुटेको मकै आफ्नै दाँतले चपाउन पाउँदा
निक्कै खुशी हुने
चौरानब्बे टेकेका मेरा हजुरबुबा
साथमा बसेर
कुराउनी र सेलरोटी खाएको याद आउँछ

अचेल म निक्कै
हजुरबुबालाई सम्झन थालेकी छु,

मैले जाने देखि
हजुरबुबासँग
प्यारो देश थियो
देशभित्र आस्था अनि उमंगहरू फूलेका थिए
हजुरबुबाको मनभित्र देश थियो
देशभित्र माया र विश्वास झुलेका थिए ।

मेरा हजुरबुबाका तागत थिए
एक ठेकी मही र एक हर्पे घ्यू
गाईमा पालिएका थिए भगवानका भाकलहरू

मैले मेरा हजुरबुबा भित्र
राष्ट्र चिन्तनका सागरहरू देखेकी थिएँ,
र त अहिले पनि सम्झने गर्दछु

हजुरबुबा हुनुको अर्थ
देशको गौरव हुनु हो ,
हजुरबुबा हुनुको अर्थ
देवीदेवताको आशीर्वाद हुनु हो,

प्रत्येक चाडपर्वहरूमा
मेरा हजुरबुबा सम्झना बनेर आउँदा
आशीर्वाद पनि प्राप्त भएझैँ लाग्छ

तर
आज हजुरबुबा
हामीबाट धेरै टाढा जानुभएको छ,

फेरि पनि
खै । किन किन ।
म मेरै हजुरबुबाको खोजीमा हिँडिरहेछु,
हजुरबुबाले टेक्ने लट्ठीको खोजीमा हिँडिरहेछु,
किनकि,
हजुरबुबा हुनुको अर्थ मेरो देश हुनु हो,
हजुरबुबा हुनुको अर्थ
मेरो देशको सभ्यता हुनु हो ।

कमला प्रसाईं
हाल न्यूयोर्क, अमेरिका

प्रतिक्रिया