नेकपा प्रदेश नं. १ का १४ जिल्लाका अध्यक्ष एवं सचिवद्धारा पार्टीलाई विभाजन रोक्न माग

मनोज दाहाल २०७७ असार २१ गते १४:१२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २१ असार । नेपाल कम्यूनिस्ट पार्टी( नेकपा) प्रदेश नं. १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवहरुले पार्टीलाई विभाजनबाट रोक्न आज यहाँ माग गर्नु भएको छ।

नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवहरुले आज विराटनगरमा आयोजित सामुहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्नेहुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिनु भएको छ।

उहाँहरुले करीव दुई तिहाईको जनमत सहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भिरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिदै टुटफुट र विभाजन रोक्ने गरि पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पंक्तिमा पनि आग्रह गरिएको छ।

पत्रकार सम्मेलनमा उहाँहरुले पार्टी नेतृत्वलाई पार्टी एकताको मर्म र भावना अनुरुप कदम चाल्न आग्रह गरिएको छ।

नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिई यसमा भएको कमीकमजोरी सच्चाइ पार्टी सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिनु भयो।

नेकपा मोरंग अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयंगम गरि पार्टी एकतामा जोड दिनुभयो।

उहाँले पार्टी एकतालाई कमजोर पार्ने कुनैपनि गतिविधि सङ्लग्न नहुन पार्टी सदस्यहरुलाई आग्रह गर्नुभयोे।

नेकपाका १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाईने अध्यक्ष पोखरेलले बताउनुभयो।

पत्रकार सम्मेलनमा १४ जिल्लाका अध्यक्ष एवं सचिवहरुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति समेत पढेर सुनाइएको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया