बजेट समानुपातिक हिसाबले विनियोजन भएको छ

मनोज दाहाल २०७७ असार १६ गते २१:१८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १६ असार । प्रदेश नं.१ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले पर्यटन विकासका लागि सबै जिल्लामा समानुपाति हिसाबले बजेट विनियोजन गरेको बताउनुभएको छ।

प्रदेश नं.१ को प्रदेश सभाको आज बसेको बैठकमा विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफमा उहाँले सरकार सीप विकास, रोजगार सिर्जनामा ध्यान दिएको छ भन्नुभयो।

उहाँले एक गाउँ एक उत्पादनका लागि सरकारले बजेट विनियोजन गरेको छ भन्दै वैज्ञानिक वन व्यवस्थापनले भावी सन्ततिलाई जङ्गलमा पहँुच पुग्ने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री कुसियतले जडीबुटीका लागि प्रदेशको सबै जिल्लामा जडीबुटी उत्पादन एवं विकासका लागि बजेट विनियोजन भएको छ भन्दै प्रदेशको गौरव र ऐतिहासिकतालाई सरकारले नबिर्सेको कुरामा जोड दिनुभयो।

प्रदेश सभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेकयमा निर्दिष्ट गरी राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बन्धित शीर्षकहरु माथि छलफल शुरु भयो।

छलफलमा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले जनताको समानुपातिक अधिकार र विकासलाई ध्यान दिन सरकारसँग माग गर्नुभयो ।
उहाँले हाम्रो विकास दक्षिणी सिमाना देखि उत्तर तिब्बतसँग जोड्न सकिने सडक निर्माण भएमा यसबाट नेपाली जनतालाई धेरै लाभ मिल्ने कुरामा जोड दिनुभयो।

सदस्य राजेन्द्रकुमार राईले एक पालिका एक मैदानका निम्ति बजेट संशोधन गरेर भएपनि ल्याउनु पर्ने बताउँदै ढिलो गरी अख्तियारी दिने परम्परालाई हटाउनु पर्ने बताउनुभयो।

उहाँले योजना छनौटमा सांसदहरुलाई पनि सहभागी गराउन सकेमा जनतासँग प्रतिनिधि र सरकार पनि जोडिने भएकोले यसतर्फ सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया