नेपालका लागि प्रवासी नेपालीहरुको अभियान युरोपमा (भिडियो सहित)

इनेप्लिज २०७७ असार १५ गते ६:०९ मा प्रकाशित

डिसी । नेपाली राष्ट्रियता, प्रवासी नेपालीको भूमिका र अबको भारतसँगको सम्बन्धका विषयमा सञ्चालित नेपालका लागि प्रवासी नेपालीहरूको अभियान २०२० सातौँ शृङ्खलामा अइपुग्दा युरोपमा समेत विस्तारित भएको छ ।

गत शनिबार इनेप्लिज, हाम्रो आवाज, नेपाल व्रिटेन डटकम, युरोप नेपाली खबर लगायतका मिडियाबाट एकसाथ प्रत्यक्ष प्रसारण गरिएको बहसमा युरोपका विभिन्न देशमा रहेका सामाजिक अभियन्ताहरू सहभागी भएका थिए ।

नेपाली समयअनुसार शनिबार बेलुकी ८ः१५ देखि १ घण्टा १० मिनेट चलेको भर्चुअल बहसमा सहभागी अगुवाहरूलाई अभियानका सुरूवातकर्ता थोमस बास्तोलाले स्वागत गरेका थिए । पूर्व बीबीसी साझा सवालका कार्यक्रम प्रस्तोता तथा अभियानका अभियन्ता नारायण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सहभागी वक्ताहरूले नाभी, कुटी गुन्जी लगायतका गाउँहरू तथा लिपलेक, लिम्पियनधुरा र कालापानी समेतका सम्पूर्ण भूभागहरू नेपालको अधिनमा आउने विश्वास व्यक्त गरेका थिए ।

बहसमा एनआरएन जर्मनीका पूर्व अध्यक्ष डा. नबराज रोश्यारा, वेलायतबाट पत्रकार चिरन शर्मा र विनोद दाहाल, पोर्चुगलबाट राजकुमार थापा क्षितिज र रोबर्ट लिम्बु तथा अष्ट्रियाबाट डाइमण्ड राई सहभागी भएका थिए । सबै अभियन्ताहरूले अतिक्रमित भूभाग फिर्ता गरायन व्यक्तिगत र संस्थागत हिसाबले समेत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

युरोपबाट जोडिने अभियन्ताहरूले नेपालीहरू एक ठाउँ भएर कालापानी क्षेत्र फिर्ता लिनुपर्ने, त्यसका लागि प्रमाण जुटाउने, विश्वभर क्याम्पियन चलाउने, सरकारले चालेको सही कदमका लागि एेक्यबध्दता दिँदै खबरदारी गर्ने र त्यसका लागि आवश्यक सबैखाले कामको लागि तयार हुने प्रतिबध्दता व्यक्त गरेका छन् ।

देशलाई दुख्दा नेपालीहरूलाई जहाँ रहेपनि नेपाली मनहरू दुख्छन् र कुनै अप्ठेरो परेको बेला प्रवासी नेपालीहरूमा भएको देशभक्ति प्रकटीकरण र उजागर हुनुपर्ने आवश्यकता औंल्याउँदै सोही उजागरणका लागि यो अभियान सञ्चालन गरिएको हो ।

नेपाल सरकारले नक्सा प्रकाशित गरेपछि गत मे २२ मा ६ बुँदासहित अमेरिकामा रहेका ८ जना युवाहरूले अभियानको घोषणा गरेका थिए ।तत्पश्चात् अभियानअन्तर्गत छैठौँ शृङ्खलासम्म अमेरिकामा सम्पन्न भइसकेको छ ।

अभियानका एक अभियन्ता पत्रकार तथा लेखक किशोर सापकोटाले इनेपलिजमा र अभियानका सदस्य, पत्रकार तथा गीतकार गौतम सागर राईले हाम्रो आवाज अनलाईन टीभीमार्फत हरेक हप्ता कम्तिमा एउटा अभियान विशेष कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

युरोपवाट नेपालका लागि प्रवासी नेपालीहरुको अभियान सातौं श्रृंखला

Posted by Enepalese on Saturday, June 27, 2020

प्रतिक्रिया