संस्मरण : दरबार हत्याकाण्डदेखि गणतन्त्रसम्म

बसुधा नेपाल पोखरेल २०७७ जेठ २८ गते २२:२५ मा प्रकाशित

 

संयाेग नै भन्नुपर्छ, नेपालका ठूला ठूला घटनाक्रममा म नेपालमा थिइनँ। राजदरबार हत्याकाण्ड ( जेष्ठ १९ ) हुँदा म संयुक्त राष्ट्र संघमा कार्यरत मेरा पतिसँग इस्ट टिमोरमा थिएँ ।

इस्ट टिमोरको समयअनुसार शायद रातको १-२ कति बजेको हुँदो हो, कैलाशजीको फोनमा घन्टी बज्यो । नेपालमा “होल फेमिली कोल्याप्स” भनेको आवाज सुनें । नेपालमा कसलाई के भएछ भनेर एकदम डर लागेर आयो ।

फोन रहेछ सुनीलबहादुर थापा ( कैलाशजी र सुनील दाइ इष्ट टिमोरमै संयुक्त राष्ट्र संघमा काम गर्दाका साथी ) सूर्यबहादुर थापाका छोराको । नेपालमा रोयल म्यासेकर भएको दु:खद् खबर रहेछ ।

हामीले तुरुन्त टेलिभिजन खोल्यौं, केही समाचार आउँछ कि भनेर । समाचारमा नेपालसम्बन्धी केही खबर थिएन । हरेक एक घण्टामा आउने बीबीसीको समाचारमा अलिपछि शायद त्यहाँको समय अनुसार बिहानको ३ बजेको हुँदो हो, नेपालमा शाही नरसंहार भएको दु:खद् समाचार आयो ।

पत्याउनै मुस्किलपर्ने दु:खद् खबर । तीनदिन पछाडि हाम्रो नेपाल फर्किने टिकट थियो । हामी सिङ्गापुर हुँदै काठमाडौं आउनुपर्थ्यो । नेपाल फर्कँदा सिङ्गापुर होटेलमै बस्दा राजा बीरेन्द्र र वहाँको परिवारको अन्त्येष्टिकाे दृश्य हेर्दा हरेक सिंगापुरेहरुकासमेत आँखा रसाएका थिए ।

काठमाडौं एयरपोर्टमा ओर्लिंदा त बिल्कुल मूर्दाशान्ति जस्तो थियो काठमाडौं शहर । एउटा अत्यन्त ह्रृदयबिदारक घटनाले विक्षिप्त भएका थियौं, हामी सम्पूर्ण नेपाली ।

विस‌ं २०६१ माघ १९, मा ज्ञानेन्द्रले अचानक प्रजातन्त्र अनि प्रजातन्त्र कर्मीलाई बन्दी बनाएर मुलुकलाई संसारसँग संचार संपर्कविहीन बनाएर राज्यसत्ता हातमा लिँदा म विश्व बैङ्कमा कार्यरत मेरा पतिसँग संयुक्त राज्य अमेरिकामा थिएँ ।

स्वभाविकै हो, मुलुक बाहिर बस्दा मुलुकको बारेमा अत्यन्त उत्सुकताका साथ समाचारहरु पढ्न कम्प्युटरको साथमा बसिन्छ । त्यो दिन म मेरो कम्युटरमा अनलाइनमै थिएँ । अचानक एउटा समाचार आयो, माधव नेपाल (मेरा ठुल्दाजु) लाई हाउस एरेस्ट गरेको ।

केही महिना अगाडि असोजमा बुबाको हाथको टिका थाप्न अनी तिहार मनाउन एक महिनाका लागि नेपाल आएकी थिएँ । तिहारको समय ताका ठुल्दाजु दिल्ली जानुभयो । ( मेरो अन्दाजमा उहाँ शान्ति प्रकृयाको क्रममा माओवादीहरुसँग कुरा/वार्ता गर्नु परेकाले होला ) मलाई दिल्लीबाट फोन गर्नुभयो । बसु, मेरो यहाँ मिटिङ अलि दिन लम्बिएकाले म तिहारमा काठमाडौं आउन नसक्ने भएँ ।

त्यो भन्दा एकैछिन अगाडि अष्टलक्ष्मी शाक्य दिज्जुले पनि मलाई फोन गरिसक्नुभएको थियो, माधव कमरेड तिहारमा काठमाडौं आइपुग्न नसक्ने, उहाँको मिटिङ लम्बिएको, त्यसैले बसुलाई भनिदिनु, मेरो फोन लागेन भन्नुभएको कुरा भन्नुभएको थियो ।

मैले दाजुलाई भनें ” ठिकै छ , भाइटीका त फेरि अर्को वर्ष मनाउँला, योभन्दा त्यहाँको मिटिङ महत्वपूर्ण हो । केही छैन भनेर भित्रभित्रै चित्त बुझाएँ ।

बरु भाइटिकाको भोलिपल्ट बुबाको ९० औं जन्मोत्सव र पुस्तक विमोचन भएकाले राष्ट्रकवी माधवप्रसाद घिमिरेज्युलाई विमोचन गरिदिन निमन्त्रणा गरिएको छ, हजुरले नै कार्यक्रम तयार गरेको होइन र भनेर सम्झाएँ । फेरि राष्ट्रकविज्युले नराम्रो मान्नुहोला भनें । दाजुले ओ हो ! हो त त्यसका लागि चाँहि म भरसक मिलाएर आउँछु भन्नुभयो । तर, दिल्लीमा माओवादीहरुसँगको विशेष मिटिङ्गले होला, दाजु आउन सक्नुभएन ।

प्रसंग फेरि दाजुको हाउस एरेस्टकै ।

राजनीति गर्ने ब्यक्ति जेल पर्नु र थुनिनु मेरा लागि नयाँ थिएन । म त्यसबेला करिब-करिब कम्प्युटरको किराजस्तै भैसकेकी थिएँ अमेरिकामा । आफ्नो बैँकको जागिर ( बैँक अफ अमेरिका ) को समय बिहान ८:३० देखि ६:०० साँझदेखि बाहेक शायद सम्पूर्ण समय म कम्प्युटरकै अगाडि बिताउँथें । राति पनि अपडेट गरेको समाचार हेर्थें ।

एकदिन फेरि मेरो माइती कोटेश्वरमा अचानक पुलिसहरु आएर मेरा तीनजना दाजु माधव, बिनोद, सरोज, ( घर एउटै कम्पाउन्डभित्र भएकाले ) हरुको घरबाट सम्पूर्ण कम्प्युटर, टेलिफोन सेट उठाएर लगेको दृश्य अनलाइनमा देखें । दाजुको १५-२० दिनको हाउस एरेस्टपछि होला, मेरा परिवारको सदस्य(बुवा, दाजु, भाउजू) लाई दृश्यमा देखें। भिडियो हेर्दा म अत्यन्त दुखित र स्तब्ध भएँ ।

त्यसबखत म अमेरिकाको वासिंगटन डीसीमा पढ्दै पनि थिएँ । क्लासमा मेरो अमेरिकन शिक्षक डोनाले ‘बसुधा आज तँ एकदम उदास उदास देख्छु , के भयो तँलाई ? भनेर सोधिन् । मैले हो म एकदम दुखित भएकी छु किनकी आज मेरो देश र मेरो परिवार, मुलुकमा भइरहेको विभिन्न घटनामा प्रत्यक्ष शिकार भएको छु । म मेरो परिवारसँग कुनै पनि कोणबाट सम्पर्क गर्न सक्दिनँ । सम्पूर्ण फोन र संचारविहीन भएको छ मेरो मुलुक । संसारबाट पुरै सम्पर्कविहीन छ ।

डनाले मलाई त्यसदिन मेरो सबै कुरा सुनाउन मौका दिइन् क्लासमा । र, मैले नेपालमा भइरहेको सबै घटनाक्रम सुनाएँ । डोना मेरी शिक्षिका, उनले सोधिन् यो एकाईसौं शताब्दीमा पनि तेरो मुलुक नेपालमा त्यस्तो क्रुर राजा छ ? जसले सम्पूर्ण संसारसँग डराएर आफ्नो मुलुकलाई आइसोलेट गराउन खोजिरहेछ ?

अब तेरो सम्पूर्ण नेपाली सोसाइटीले व्हाइटहाउस अगाडि डिमोन्स्ट्रेसन गरेर प्रेसिडेन्ट बुसलाई लेटर बुझाउनुपर्छ भनेर मलाई मोरल सपोर्ट गरिन् । मेरो दिमागमा आयो, ओहो यो अमेरिकनहरुमा कस्तो ग्रेट राष्ट्रियताको भावना । मलाई धेरै कुराको उदाहरण दिएर खुबै माया र आत्मीयता देखाइन् डोनाले ।

अर्कोदिन म ओछ्यानमै थिएँ, कैलाशजी ( मेरा श्रीमान )ले सुनाउनुभो दाजु (माधव नेपाल)लाई हाउस एरेस्टबाट महाराजगञ्ज प्रहरी प्रधान कार्यालय लाँदालाँदै बीच बाटोबाट अचानक ककनीमा लगेर थुनियो रे । म एकदम छटपटिएँ । रुन आयो । कारण उहाँलाई थुन्नुको चिन्ता होइन, उहाँको सुरक्षाको विषयको चिन्ता । ज्ञानेन्द्रले किन यस्तो गरेको होला दाजुलाई मात्र । यस्तै-यस्तै थुप्रै कुराले छटपटिएँ । यतिखेर सम्म नेपालमा मेरो परिवारको सम्पूर्ण सञ्चार माध्यम काटिइसकेको थियो ज्ञानेन्द्रको सरकारले ।

म कुनै पनि माध्यमबाट परिवारको संपर्कमा आउन सक्थिनँ । ठूली भाउजु (गायत्री नेपाल) को धेरै सम्झना आयो । जोसँग कुरा गरेर मनहल्का पार्ने उन्का छोराछोरी उन्का साथमा छैनन् । उता बुवा (मंगलकुमार नेपाल) जो उमेरले ९१ बर्षको हुनुहुन्छ, जस्को धेरै बोल्ने बानी छैन । कान पनि सुन्नुहुन्न ।

अध्ययन लेखनमै धेरै समय ब्यतीत गर्नुहुन्छ । आमाको स्वर्गरोहणपछि निरन्तररुपमा जेठा छोरा बुहारी (माधव गायात्री) का साथमा बस्नुहुन्छ, पत्रिकामा छोराको बिषयमा समाचार पढ्दा बुबाको मन कति रुन्छ होला भन्नेजस्तो लाग्यो । बेलाबेलामा त्यस्तै कुराले म भावविह्वल हुन्थें ।

मैले बुझ्ने उमेरदेखि नै दाजु राजनीति गर्दै आउनुभएको । यसवीचमा शाही सत्ताले उहाँलाई मानसिक, शारीरिक रुपमा दिएको प्रताडना, मेरो आमा-छोराको बिषयमा तिनै कारणले गर्दा सधैं रोएका दिनहरु मेरा सामु अझै ताजा छन् ।

शायद शाहीसत्ताले मेरो परिवारलाई दिएको टर्चर, मेरो बालसुलभ मस्तिस्कमा परेका कारणले गर्दा होला, मलाई शाही सत्ताप्रति कुनै सहानुभूति छैन ।

यसैवीच मैले भाउजु (गायत्री नेपाल) को इमेल पाएँ । घर बाहिर गएर लेख्नुभएको रहेछ । उहाँले आफूहरु (बुबा, सरोज दाजु र उहाँ) ठुल्दाजु ( माधव नेपाल )लाई भेट्न् ककनी जाँदा बुबाले आँसु झार्नुभएको भन्ने पढ्दा मलाई अझै दुखी बनायो ।

हुनत मेरा दाजुको दृढ निश्चयी, कर्तव्यनिष्ट अनि सकारात्मक सोचाइँ राख्ने, इमान्दार अनि सबैलाई मिलाएर लानुपर्छ भन्ने स्वभाव सानै देखी चिन्दै अनि देख्दै आएकी छु। उहाँ पञ्चायतकालमा जेल पर्दा म सानी थिएँ । त्यो बेलाको घटना अलि अलि सम्झना छ ।

बुबाआमा र म जलेश्वर जेलमा उहाँलाई भेट्न गएका थियौं । आमाले छोरालाई लगिदिएको खानेकुरा लगायत सम्पूर्ण समान कडा निरीक्षणपछि पुलिसले हामीलाई १०-१५ मिनटका लागि भेट्न अनुमति दिएको थियो । अँध्यारो ठाउँ दारी पालेको छोरा देखेपछि आमा रुन थाल्नुभएको थियो । दाजुले ‘मलाई समात्ने क्रममा पुलिसले लट्ठीले घोच्दाखेरी मलाई चोट लाग्यो’ भन्दा बुवाको आँखा भरिएर आएको थियो । आमाबुवा दुबैजनाको हालत देख्दा म सानी केटी आमाको छेउमा धोती समात्दै कति रोएँ रोएँ ।

दाजुको बाहनामा बुवा ( स्कुलको शिक्षक, पछि प्रधानाध्यापक )लाई पनि बिभिन्न दु:ख दिएको कुरा घरमा सुनिरहन्थें।

कुरा फेरि ककनीकै ।

दाजुलाई ककनी लग्दै गरेको भन्ने समाचारले मलाई अत्यन्त छट्पटाहट तुल्यायो । त्यसबेला मैले काठमाडौंको सिडियो शुशिल घिमिरे, मैले इष्ट टिमोर बस्दा चिनेकी थिएँ, त्यसैले मैले अमेरिकाबाट(अमेरिकी समय अनुसार एकाबिहानै थियो)लाई काठमाडौंमा फोन गरें ।

मैले सोधे तपाईंहरुले मेरो दाजुलाई महाराजगञ्ज लाने भनेर बाटोबाटै किन ककनी पुर्याएको ? ज्ञानेन्द्रले हाउस एरेस्ट गरेर पनि नपुगेर किन उता लगेको ?

सिडियोले भन्नु भो – ‘ बैनी वास्तवमा उहाँ (माधव नेपाल)लाई महाराजगञ्ज लाने भनेर चिट्ठी तयार गरेर लगिएको, तर बाटामा पुग्ने वितिक्कै ककनीमा मुभ गर्नु भनी माथिबाट आदेश आयो, त्यसैले ककनी लगिएको हो ।

मैले फोनमै उहाँलाई भनें उहाँको सिक्युरिटीको जिम्मा ज्ञानेन्द्र लिन्छ ?

श्रीमान कैलाश पोखरेलले उहाँ आफू इष्ट टिमोरमा संयुक्त राष्ट्र संघमा काम गर्दाको आफ्नो बोस रोस भ्यलेन्टाइनलाई इमेल गर्नुभो । रोस भ्यलेन्टाइनको साथी नेपालको यु एन मिसन चिफ इयान मार्टिन भएकाले कैलाशजीले रोस भ्यलेन्टैनलाई सम्पूर्ण कुराको जानकारी गराएर ईमेल गर्नुभयो कि इयान मार्टिनले यस बिसयमा के भन्छन् भनेर ।

मैले यी सबै कुरा नेपालमा गणतन्त्र स्थापना गर्न मेरा दाजु र उहाँजस्ता अरु कैयनले कस्तो कस्तो पीडा र यातना भोगेका होलान् भन्ने सम्झना आएर उल्लेख गरेकी हुँ ।

चैत्र २९ गते राजा ज्ञानेन्द्र हारे । उन्नाइस दिनको क्रान्तिपछि नेपाली जनताले मुलुकमा लोकतन्त्र स्थापना गरे । त्योबेला पनि म अमेरिकामै थिएँ ।

समाचारमा नाना भाती कुरा आउँथे त्यसैले मैले दाजु माधव नेपाललाई इमेल गरें । मैले लेखें- यो कानले कहिल्यै माधव नेपाल ज्ञानेन्द्रले बनाएको प्रधानमन्त्री हो भनेर कसैले भनेको सुन्नु नपरोस् । म मेरा दाजु हाम्रो मुलुकका लागि केही गरेर देखाउने सम्झिनलायक महान ब्यक्ति भएको सुन्न र देख्न चाहन्छु ।

हाम्रो मुलुक अनि नेपाली जनताको चाहना बुझेर यस्तो काम गर्न सकियोस्, जुन इतिहासमै सधैं असल नमुनाको रुपमा सम्झना गर्न सकुन् नेपाली जनताले भनेर लेखेकी थिएँ ।

इमेलको जवाफमा दाजुले मलाई लेख्नुभएको थियो, तिमी एकदम निस्चिन्त होउ कि म ज्ञानेन्द्रको प्रधानमन्त्री बन्न गइरहेको छैन । जनताको चाहनाको कदर हुनुपर्छ । त्योभन्दा अझ माथि सिद्धान्तको प्रश्न महत्वपूर्ण छ मेरा लागि । त्यसैले यसमा मेरो धारणा यसैमा एकदम स्पस्ट छ, दृढ छु, त्यसैले तिमीले चिन्ता गर्नुपर्दैन । आन्दोलनले नयाँ स्वरुप लिइसकेको छ । लोकतन्त्रभन्दा कम हाम्र लागि केही पनि मान्य हुने छैन । जनताभन्दा बलवान कोही छैन, अब जनताले चाहेजस्तो सुशासन मुलुकमा आउँछ ।

इमेलका यी लाइनहरु पढ्दा म एकदम गौरवान्वित भएँ दाजुसँग ।

अहिले त मुलुकले चाहेको गणतन्त्र नै पाइसकेको छ । यो पनि सन्जोग नै होला, गणतन्त्र कार्यान्वयन घोषणा गर्दा पनि म नेपालमा थिइनँ । विसं २०६५ साल जेष्ठ १५ गतेको दिन पनि म चीनको राजधानी बेइजिङ्गमा थिएँ ।

त्यो दिन दिउँसो हामी ग्रेटवाल हेर्न गएका थियौं । म बेइजिङ्गस्थित नेपाली दूतावासमा त्यसबेलाका राजदूत महामहिम टंक कार्कीको निवासमा थिएँ । रात छिप्पिइसकेको थियो । नेपालमा गणतन्त्र घोषणा गर्ने बेला हुन लाग्यो भनेर छटपटाहट थियो । उठेर कम्युटरमा सधैं झैं अनलाइन क्लिक गरें । अमेरिकादेखि नै अनलाइन भिजिट गर्ने बानी परिसकेको थियो ।

संविधानसभाको पहिलो बैठक प्रत्यक्ष प्रसारण भइरहेको थियो । मैले सोचें । यस्तो क्षण हेर्न मैले राजदूतज्यूलाई पनि बोलाउनुपर्छ । त्यसपछि हामी (टंक दाइ, उहाँकी श्रीमती शारदा कार्की र छोरी निकिता ) हेरेर बस्यौं । चिनियाँ समय अनुसार रातको १:३०-२:०० बजेको जस्तो लाग्छ, नेपाल गणतन्त्रमय भयो ।

मुलुक गणतन्त्र भएकोमा खुशीलाग्यो । तर, अझै पनि मेरो मनमा धेरै प्रश्नहरु घुमिरहे चीनको भ्रमणका क्रममा । ओ हो २० वर्षभित्रमा विकास भएको यो बेइजिङ शहर !

अमेरिका बसाइका क्रममा बनेकी मेरी ‘बिन’ नाम गरेकी चाइनिज साथी थिई । उनका श्रीमान अमेरिकामा पीएचडी गर्न गएका । मेरो त्यहीं भेट्घाट हुँदा मित्रता घनिष्ट भएको थियो । उसले अमेरिकाबाट चाइना फर्केपछि ईमेल गरेकी थिई –

‘ हे बसुधा, मैले अमेरिकालाई मिस गरिरहेकी छु । तिमी पनि अमेरिकाबाट आफ्नो देश नेपाल फर्केपछि अमेरिकालाई मिस गर्नेछ्यौ । जवाफमा मैले लेखेकी थिएँ, ‘ म अमेरिकालाई कहिल्यै मिस गर्ने छैन ।

तर, ग्रेटवाल हेर्न जाँदा गाडीबाट बेइजिङ्ग शहर देख्दा मेरी बिनको इमेल सम्झेर मेरो मुखबाट अचानक निस्किएछ “कठै ! म नेपाली ।”

किन ‘कठै म’ नेपाली भन्नुभएको ? भनेर राजदूत पत्नीले मलाई सोध्नुभो । मैले भनें जसको मुलुकमा करीब-करीब अमेरिकाकै स्टैन्डर्डको बिकास छ, गगनचुम्बी महल छ, फ्लाईओभर ब्रिज छ, बिशाल चौडा चौडा सडकहरु छन् । ठूला ठूला अपार्टमेन्टहरु छन् । सफा पार्क र बिशाल शहर छ, जहाँ मजस्ती नेपाली राजाधानीबासी जसले सफा अनि विशाल चौडा सडक कस्ता हुन्छन् भनेर कल्पना मात्र गर्न सक्छन् । अग्ला अग्ला गगनचुम्बी भवन, जो विदेश गएका छ्न्, तिनले मात्र देखेका हुन्छन, नत्र टेलिभिजनमा देखेका हुन्छौं । फ्लाईओभर ब्रिज त टाढाको कुरा, भएको दुई लेनको सडक पनि सफा देख्न सपनाजस्तै लाग्छ । पार्क भनेको त खुला सौचालय होइन र ? जस्तो पो लाग्छ । त्यस्ती ठाउँ कि बिचरी म ।

‘ बिन’ ले मलाई कस्तो न विकसित मुलुककी म भनेर सोचेकी रैछे है जस्तो लाग्यो ।

२० वर्षभित्र बिकास भएको रे यो बेजिङ्ग शहर । मेरो सानो दिमागमा आयो, अग्ला अग्ला भवन त बनाउन सकिएला रे, तर यति चौडा सडकको प्लानिङका लागि भूमी कहाँबाट आयो होला ? कसरी सम्भव भयो यी विशाल सडक बनाउन ? यी फराकिला सडक २० वर्ष अगाडि पनि थिए त ? पछि मैले थाहा पाएँ, त्यसका सम्पूर्ण घरहरु सरकारी रे । सरकारले निर्णय गरेर पुराना भत्काइएछन् र नयाँ योजनाका साथ फेरि पनि सरकारले नै चौडा सडक र गगनचुम्बी महल बनाएछन् । जसले गर्दा अहिले व्यवस्थित सडकमा अवस्थित विशाल विशाल गगनचुम्बी महलले शहरको शोभा बढाएको रहेछ । प्रत्येक अपार्ट्मेन्टमा व्यवस्थित खेल्ने मैदान, घुम्ने पार्कको व्यवस्था छ ।

समुद्रको बीचैबीच ३४ किलोमिटर लामो ६ लेनको सडकसहितको पुल बनाएर संसारलाई चकित पारिदिएको छ । यो बिकासित मुलुकको भ्रमण मैले गरिराख्दा मेरो मुलुक गणतन्त्र घोषणा कार्यान्वयन भएको खुशीयालीमा मग्न थियो ।

कठै ! म छोरीको मनमा आयो के अब हाम्रो गणतन्त्रात्मक मुलुकका आदरणीय नेताज्यूहरु पनि ठूला ठूला यस्तै चुनौतीको सामना गर्दै, ठूलो छाती राखेर (राजनीतिको मात्र रडाको छोडेर) राजनीतिभन्दा माथि उठेर मुलुकको विकासमा अग्रसर होलान् त ?

साभार :अनलाइनखबर डटकम (अमेरिकाबाट फर्कनु भएकी बसुधा नेपाल पोखरेलको लेख राम्रो लागेकोले साभार गरिएको हो )

प्रतिक्रिया