आई वान्ट टु ब्रिथ

गुणराज लुइटेल / भर्जिनिया २०७७ जेठ २४ गते ३:३१ मा प्रकाशित

जमीनमा तिमीलाई घमण्ड छ
त्यसैले भन्छौं
हामी त विशाल छौं
संसारमै फैलिएका छौं
ठूला छौं
बडा छौं

ब्यवस्थामा तिमीलाई अहम् छ
त्यसैले भन्छौ
हामी अब्बल छौं
प्रजातन्त्रका प्रणेता हौं
गणतन्त्रका संस्थापक हौं
स्वतन्त्रताका जननी हौं

अझ भन्छौ
आकाशमा बिजय गरेकाछौं
स्पेस पहिले नै हाम्रो थियो
पानीमा पन्डुब्बी चारै
दिशामा छोडिएका छन
किरण, विकिरण हाम्रै नियन्त्रणमा छन्
हावाले पनि सोध्नुपर्छ
कसरी चल्ने भनेर ।

आज मेरो घॉटी थिचिएको छ
तिम्रो बज्रठ्यांग घुंडाले
मेरो स्वास नली दबाइरहेको छ
म पलपल छटपटाइरहेछु
चित्कार गरिरहेछु,
यो विशाल भूभागको
एउटा कुनामा
निहत्था मलाई
विनाकसूर लडाइएको छ
म कराइरहेछु
भनिरहेछु,
प्रश्न गरिरहेछु
ए विशालताका घमण्डी,
तिमीसंग तिम्रै एउटा नागरिकलाई
स्वतन्त्र भएर हिड्न पाउने
एक टुक्रा जमिन छैन ?
दिन सक्छौं मलाई स्वतन्त्र हिड्ने
चारपाउ जमिन ?

बडाबडा स्वतन्त्रता,
प्रजातन्त्र,
नागरिक स्वतन्त्रता
अनि मानव अधिकारहरुका
पाठ र उपदेश दिने
तिम्रो पद्धतिको
वास्तविक रुप
म जमिनमा लडेर
अन्तिम स्वास फेर्न
हिक हिक गरिरहेको बेला
छ्यॉग देखिरहेछु
तिमीलाई प्रश्न गर्न चाहन्छु,
दिनसक्छौ एक मुट्ठी सास ?
म स्वास फेर्न चाहन्छु
आइ वान्ट टु ब्रिथ
म बॉच्न चाहन्छु
आइ वान्ट टु लिभ ।

ए कुर्सी माथिका अन्धा महासय,
मर्दामर्दै पनि मैले भन्नै पर्छ
आज तिमीले थिचेको घॉटी
मेरो घॉटी हैन
यो चार सय वर्षदेखि
गाथा गाइएको
नागरिक मुक्तिको घॉटी हो
यो नागरिक स्वतन्त्रता,
प्रजातन्त्रको
श्वा प्रश्वास गर्ने एक नली हो
ठीक छ,
तिमी आज यसलाई बन्द गरिदेउ
निमोठेर चुंडाइदेउ
तर ध्यान रहोस्
इतिहासले तिमीलाई
त्यो कंशको संज्ञा दिनेछ
जस्ले आफ्नै भान्जाको
घॉटी दबाउन खोज्यो,
तिमी त्यो रावणको उपनाम बरण गर्दैछौ
जस्ले आफ्नै ब्यहोराका कारण
दानव शासन सकेर गयो,
तिमी त्यो मैसासूर बन्दैछौं
जस्ले सत्य के हो
संघार पछि मात्रै थाहा पायो

महासय पनि कता कता सैनिक परेड नै
मन पराउंदै हुनुहुन्छ कि ?
कतै बारुदको बासना
महासयलाई पनि मगमगाउन थालेछ कि ?
कतै २५० वर्षको
स्वतन्त्र आकाशलाई
कॉडे बारले नै घेर्न खोज्दैछौ कि ?
कतै चीनकै बाटो पो पछ्याउदै छौ कि ?
कतै उत्तर कोरियाबाटै पो केही सिक्दैछौ कि ?
विदेशी गुलामीमा हिजो निसास्सिएका
दिनहरु विर्सियौ कि ?
तिम्रो टाईसुटमा लतपतिएका
सिभिल वारका
रक्ताम्मे टाटाहरु देखेनौ कि ?
हिजोको नरसंहारले सिकाएको पाठ
कालो अक्षर भैंसी बराबरै भयो कि ?
अब्राहम लिंकनको शालिकले
सेतो घरकै आडमा
‘जनताबाट, जनताद्वारा, जनताका लागि’
भन्दै चिच्याएको सुनेनौ कि ?

यहॉ आज थिचिएको सासबाट
सगरमाथाभन्दा ठूलो आशको
पहाड खडा भैरहेको छ
शहर, गल्ली र सडक
नरनारीहरुले भरिएको छ
नव युवाहरुका स्मृतिपटलमा,
प्रतिशोधको ज्वाला दन्किएको छ
उनीहरुको हृदयमा
समानता, सम्मान, सहृदयता र विशालताको
इतिहास कोरेरै छोड्ने अठोट जागेको छ
अमानवीयताको पुलिंदा बुन्नेहरुलाई
समयको दर्पणले
कालो मोसो घसेर छर्लंग
देखाइदिएको छ
ख्याल रहोस,
यो समय हिटलरहरुको हैन
अलेक्ज्याण्डर सिक्स्थ, क्यास्ट्रो र
सद्दामहरुको हैन

आज मेरो घॉटी थिचिएको छ
तिम्रो बज्रठ्यांग घुंडाले
मेरो स्वास नली दबाइरहेको छ
म पल पल छटपटाइरहेछु
चित्कार गरिरहेछु,
यो विशाल भूभागको
एउटा कुनामा
निहत्था मलाई
विनाकसूर लडाइएको छ
म कराइरहेछु
भनिरहेछु,
प्रश्न गरिरहेछु,
ए विशालताका घमण्डी,
तिमीसंग तिम्रै एउटा नागरिकलाई
स्वतन्त्र भएर हिड्न पाउने
एक टुक्रा जमिन छैन ?
दिन सक्छौं मलाई स्वतन्त्र हिड्ने
चारपाउ जमिन ?
तिमीलाई प्रश्न गर्न चाहन्छु,
दिनसक्छौ एक मुट्ठी सास ?
म श्वास फेर्न चाहन्छु
आइ वान्ट टु ब्रिथ
म बॉच्न चाहन्छु
आइ वान्ट टु लिभ ।

(भर्जिनिया, जुन ४, २०२०)

प्रतिक्रिया