दसगजामा जन्मिएँ

वारि-पारी दुबैतिर 

पिल्लरसँग ताँते खेल्दै

बिनासाथ कसैको 

हुर्किएको  यो कालो

म सदा मुसहर ।

सुख्खा खडेरीको

या बर्षातको हिलो  

उस्तै छ माया  माटोको 

त्यसैले त  यो कालो

म सदा मुसहर ।

 

समाचारमा नआउँने

नागरिकतामा नअटाउँने

उत्तर  हो या दच्छिण 

आफ्नै पसिनामा 

बाँच्ने र बचाउँने

तिम्रो पिल्लर

मेरो बाल सखासँगै 

जीवन बिताउँने यो कालो 

म सदा मुसहर ।

 

माटोमा गलत रंग भर्ने 

तेरो र मेरोमा 

बुद्धलाई चोर्ने 

चन्दनको लेपमा

मूर्तिलाई फोर्ने 

सबैबाट मुक्त कालो

म सदा मुसहर ।

माटोले माटोलाई मिचेर 

लोभमा आमालाई थिचेर 

टोपीको रंगसँगै

ईमानको नाम फेर्ने

सबैबाट मुक्त कालो

म सदा मुसहर ।