प्रदेश १ मा ४०हजार बढीको पिसिआर परीक्षण हुने

मनोज दाहाल २०७७ जेठ ९ गते २०:४८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ९ जेठ।

प्रदेश नं. १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड—१९ सङक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गीकरण समेत गरेको छ । उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ । उच्चजोखिम क्षेत्रमा एक प्रतिशत, जोखिम क्षेत्रमा शून्य दशमलव ७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामाकुल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हाल यस प्रदेश १०० भन्दा बढीको पिसिआर परीक्षण भइसकेको छ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । यसकालागि कोशी कोभिड अस्पताल १००, झापामा २००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २००, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३००, कृष्णदास आश्रम बराहश्रेत्र २०० र नेपाली सेना इटहरीमा ५० गरी थप ८५० बेड थपिने भएको छ।

यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ । स्वीकृत कार्ययोजनाअनुसार ईलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड सङ्ख्या बन्ने भएको छ । ईलाममा दुई हजार, झापामा चार हजार, मोरङ्गमा पाँच हजार र सुनसरी जिल्लामा चार हजार बेड तयार हुन थालेका छन् ।यतिबेला यी जिल्लाका १० ठाउँमा एक हजार १०३ ३ वटा बेड बनिसकेका छन्।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया