(लघुकथा) दर्नाल साइँला

इनेप्लिज २०७७ वैशाख २१ गते १६:३६ मा प्रकाशित

म खेती जाने बाटो । खोलाछेउ झुरुप्प दलित वस्ती । म पाँच बर्ष बिदेस बसेर फर्कन्दा धेरै झुप्रा घर फेरिएछन ।

यसैबिच एक बाँस टाटीको घर जस्तोको तस्तै थियो । त्यो दर्नाल साइँलाको थियो । उ मेरो स्कुले साथी जोसंग मैले आफ्नो बाल्यकाल बिताएको थिएं । उ गरिबीले गर्दा पढ्न सकेन । उ घर बनाउने मिस्त्री काम गरेर आफ्ना एक पत्नी र चार बच्चा पाल्दै थियो । म बिदेस हुँदै सुनेथें – दर्नाल साइँला रक्सी खाएर मर्यो रे ।

एक बिहान । उसको कान्छा भाइ यो लक डाउनको बेला रिचार्ज लिन किराना पसलमा आएको भेटें । उ निकै मोटाएछ । कमाएर घर पनि ठूलो बनाएछ ।

” ठुले दाइ ! सन्चैहुनुहुन्छ ? धेरै बर्षपछि भेट भयो नि हाम्रो ।” मलाई देखेर खुशी हुँदै बोल्यो उ ।
” हो त भाइ ! एकदम ठिक छु । तिमी पनि मोटाएछौ ।”
” हल्का दाइ ! एक दिन दाइसंग मज्जाले बसेर गफ गर्ने मन छ । तपाईले सुन्नु भयो ? हाम्रो साइँला त खस्यो !”
” सुनेथें भाइ ! साह्रै दु:ख लाग्यो । कस्तो मज्जाको मान्छे थियो तिम्रो दाजु । ” मैले उफ गर्दै सोधें,” अनि भाउजू कता छ अचेल ? ”
” पोइल गयो त दाइ ! ” उसले हाँस्दै भन्यो ।
” ला हो र ! अनि चार जना बच्चा छोडेर गएकै हो ! हैट नारीको पीडा बुझी नसक्नु छ है भाइ । ”
” हो रहेछ दाइ ! बिदेस गएको थियो । उतै बिहे गर्यो । ल फेरि भेटुं है दाइ ! ” लक डाउनको बेला रिचार्ज लाएर उ साइकल चढेर बाटो लाग्यो ।
म पनि गम खाँदै सोच्दै घर आएं – यस्तीलाई कस्तो पुरुषले लग्यो होला । न रुपकी न जिउडाल !!

दिनांक

१८ बैसाख २०७७ बिहिबार

दिलिप राई सगर
उर्लाबारी, मोरङ

तस्बिर : खोटाङ र उदयपुर जोड्ने रसुवाघाट, दुधकोशी

प्रतिक्रिया