हिमालय एअरलाइन्सले चीनबाट गर्यो पहिलो व्यवसायिक कार्गो चार्टर उडान

इनेप्लिज २०७७ वैशाख १५ गते १८:५७ मा प्रकाशित

काठमाडौँ । अत्यावश्यक स्वास्थ्य सामग्रीसहित नेपालको नीजि विमान कम्पनी हिमालयन एअरलाइन्सले पहिलो पटक चीनबाट चार्टर कार्गो उडान गरेको छ । आइतबार साँझ काठमाडौँबाट चीनतर्फ उडेको विमान सोमबार बिहान ९ बजेर ५१ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

विमानमा ९ सय ७६ कार्टुन टेष्ट किट, ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई), मास्क, पञ्जालगायतका आकस्मिक स्वास्थ्य सामग्री रहेको हिमालय एअरलाइन्सले जनाएको छ । स्वास्थ्य सामग्रीका लागि चीनबाट गरिएको यो चौथो चार्टर उडान हो ।

यसअघि नेपाल वायुसेवा निगमको विमानले कान्चौबाट नै तीन वटा चार्टर उडान गरिसकेको छ । चार्टर उडान सफल पार्न एअरलाइन्सका चीनस्थित महाप्रबन्धक योङ्ग शङ्ग, सञ्चालन एवम् व्यवस्थापन प्रवन्धक थाङ्ग चिङ्गसमेत सामान लोड गर्न रातभर खटिएका थिए ।

नेपाल र चीनको संयुक्त लगानी रहेको उक्त निजी विमान कम्पनीले चीनको छोङ्ग छिङ्ग, खुनमिङ्ग, छाङ्गशालगायत अन्य ठाउँबाट पनि स्वास्थ्य सामग्री ल्याउन कार्गो उडान गर्ने बताएको वीच्याट अफिसियल एकाउन्टमा जनाएको छ ।

प्रतिक्रिया