लक डाउनमा के गर्दै छन् महिला साहित्यकार

-भगवती बस्नेत, काठमाडौं २०७७ वैशाख ६ गते ०:१३ मा प्रकाशित

-भगवती बस्नेत, काठमाडौं । घाम पहिलेको जस्तै उदाएको छ । हावा आफ्नो गतिमा बहिरहेको छ । खोला नाला र झरनाहरु आफ्नो गतिमा कलकल गरेर बगिरहेको छ । चराचुरुंगीहरु स्वच्छन्द रुपमा आकाशमा उडिरहेका छन् । तर यो समयले हामीलाई घरभित्र थुनिदिएको छ । आफ्नो वरपरको वातावरण बुझ्ने मौका दिएको छ । म टेलिभिजनमा काम गरे पनि मेरो साहित्यिक बिट भएकोले साहित्यिक कार्यक्रम नहुनाले अगिल्लो दिन अफिस गएर अब केहि दिन अफिस नजाने सोचमा बसेको थिए । भोलिपल्ट देखि लकडाउन भयो । अहिले लेख्ने पढ्ने, करेसाबारीमा तरकारी लगाउने, लेख्न थाति रहेका केहि रचनालाइ लेख्न कोशिस गर्दै छु ।

चिनको बुहान शहरबाट विश्वब्यापी फैलिएको कोरोना भाईरसको प्रभावले आज विश्व नै आक्रान्त बनेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले आज महामारीको रुप लिएको छ । यस कोभिड १९ कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकलाई नै ‘लक–डाउन’ गरेको आज २५ दिन भएको छ । यस लक् डाउनमा बिशेष गरि दिन दिनै कमाएर खानु पर्नेहरुलाई ठुलो असर परेको छ । महिला बालबालिका पनि यस लकडाउनको चपेटामा परेको तथ्यांकले देखाउछ । दिनदिनै काममा हिड्नु पर्ने भिडमभीड र ठेलम ठेल भरिएको सार्वजनिक यातायातमा सवारी गर्ने मानिस र सवारी साधन पनि थन्किएका छन् । धुलो र धुवाको प्रदुषणले विषाक्त बनेको पृथ्वी पनि यसबेला शुद्द अक्सिजन प्रदान गरिरहेछन् । सधैँ व्यस्तताले आफ्नो घर परिवारलाई समय दिन नसक्ने बेफुर्सदिला सबैलाई समय बढी भैसकेको छ । यस बेला हामी क्रुर भाईरस बिरुद्धको बाहिरी लडाईंका साथ बन्द कोठाभित्र यसको प्रभावले निम्त्याई रहेको मानसिक अन्तरद्वन्दको दोहोरो लडाईं पनि लडिरहेका छौ । यस असहज परिस्थितिमा पनि साहित्यकार महिलाहरु के गरेर बसेका छन् त भनेर केहि साहित्यकारहरु सँग अनलाइन कुरा गर्ने अवसर मिल्यो ।

(१ ) उषा शेरचन , साहित्यकार

सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरूपमा पालन गर्नु आफ्नो कर्तव्य र धर्म सोचेर पूर्णरूपमा पालन गरिरकेकी छु । हामी घरका तीनजना सदश्य तीनवटा कोठामा बसेका छौँ । सबैभन्दा बलियो साथी सामाजिक सञ्जाल बनेको छ । मनपरेका कार्यक्रम युट्युवमा हेर्नु, सिनेमा हेर्नु अन्तर्वार्ता हेर्नु र कथा निबन्ध कविता गजल मुक्तक आदि पढ्नु आदि । अहिले भने लाइभमा कवि भाइहरूले सञ्चालन गरेका लाइभ वाचनमा कविताहरू सुन्छु । लाइभ गाउनु भएका गीतहरू सुन्छु । स्वयं आफैंले पनि नयाँ मुक्तक, कविता, गीतका साथसाथै कथा पनि लेखिरहेकी हुन्छु । अहिले म डायट प्लानमा रहेको र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नानाथरी परिकार बनाएर खाने केही गरेकी छैन । र, भान्सामा पनि पसेकी छैन । सहयोगीहरूले सिरेनुन हालेको साधारण खाना जे दिन्छ त्यही खाने गरेकी छु । अन्न भन्नाले भात र रोटी ढिंडो च्याँख्ला केही खाएकी छैन । मनमा लागेको कुरा फेसबुक स्ट्याटसमा लेख्छु । मौसम, मुड र प्रकृतिका भिडियो तस्बिरहरू खिचेर फेसबुकमाअपलोड गरिरहन्छु । महत्त्वपूर्ण समाचारहरू सुनिरहन्छु । र,यो हतियार बिनाको तेस्रो विश्वयुद्धको विभीषिकाबाट विश्वलाई छिटोभन्दा छिटो मुक्ति मिलोस् र जीवन फेरि पुरानै लयमा फर्केर सुचारू रुपमा चलोस् भन्ने कामना गरिहन्छु । र, विश्वभरि संकटमा परेको मानवजाति सबैलाई सम्झिरहन्छु ।

(२) इन्दिरा प्रसाई, साहित्यकार

विहान ५.०० बजे उठ्छु । शौच अघि आधा लिटर र शौच पछि २ लिटर मनतातो पानी पिउँछु । पानी झन्नै १ घण्टा लगाएर पिउँछु । त्यसबेला पुस्तक पढ्नै पर्ने मेरो आदत छ । त्यसपछि यौगिक स्नान गर्छु र झन्नै दुई घण्टासम्म व्यायाम, प्राणायम र ध्यान गर्छु । ध्यान सकेको आधा घण्टापछि कागती, मह र बेसार हालेर जुस बनाएर खान्छु । घरमा काम सघाउने सहायक छिन तर पनि अलिअलि काम गर्छु । त्यसपछि विहानको खानपीन गर्छु र सामाजिक सञ्जाल, फोन, कम्प्युटरमा केही काम वा लेखन आदिमा व्यस्त हुन्छु । पहिलेदेखि नै विहान काँढा पानी पिउने गरेका थियौँ अहिले दिउँसो पनि पिउने गरेको छ । अनि दूध हालेको एककप चिया खाने हो । बेलुकीको खाना ६.०० बजेसम्ममा खाइसक्ने हो । चालिस वर्षदेखि नै भात एक छाक मात्रै खाने हो । एक छाक भेटेसम्म फलफूलादी, तरकारीहरू र अङ्कुरित अन्न खाने गरेकी छु । साँझ टिभिमा हिन्दी सिरियल वा हिन्दी सिनेमा हेर्न मन पर्छ । राती १० र ११ का वीचमा सुत्ने गरेकी छु ।

(३) रजनी ढकाल, लेखिका समलोचक

लकडाउनको यो समय पारिवारिक रेखदेखमा नै बढी बितेको छ । घरको सरसफाइ र पकाउने खाने सधैँको दैनिकी अझ लम्बिएको छ । बिहान योग र केही व्यायाम गर्नु, छोरासँग ब्याटमिन्टन खेल्नु, करेसाबारीका झालपात गोडमेल गर्नु र पकाउनु जस्ता कामले समय धेरै लिन्छन् । ठुलो छोरो अमेरिकामा रहेकाले दैनिक ऊसँग कुरा नगरी चित्त बुझ्दैन । आफन्तसँग पनि कुराकानी भइरहन्छ । महामारीले विश्व नै बन्दाबन्दीमा रहेको यो समय घरीघरी सपना हो कि जस्तो पनि लागिरहन्छ । विश्‍वभर भइरहेको मानव विनाशका समाचार कुनै स्वैरकल्पनाको सन्त्रस्त कथा जस्तो लाग्छ… । जतिपटक समाचार सुन्छु उतिपटक झस्केको हुन्छु अनि समाचारबाट भागेर घरकै काममा अलमलिन थाल्छु । सकेसम्म सकारात्मक खालका समाचार पढ्ने र सेयर गर्ने गर्छु । जीवनमा यति धेरै समय नितान्त आफ्नो लागि सायद पाएका थिएनौँ जस्तो पनि लागिरहन्छ । जीवनलाई चिन्ने एउटा गजबको समय पनि रहेछ यो एकान्तबास । माथिको नीलो आकाश, हरेक दिन पातलिँदै गएको स्वच्छ हावा, विरुवाका कञ्चन हरिया पातहरू, कोलाहलहीन बस्ती, चराको चिरीबिरी अनि क्षितिजको सुन्दर दृश्यमा डुबिरहेकी हुन्छु र प्रेमिल भावमा केही आशावादी कविता पनि कोरिरहेछु । यसैबीच पहिले पढ्दै गरेको उपन्यास द्रौपदी पढेर सकेँ । अधुरा रहेका एक दुई समालोचनात्मक लेख पूरा गरेँ । श्रुतिसंवेगबाट सिद्धार्थ, कल्याणी धरती, दरबार बाहिरकी महारानी, सेतो बाघ आदि उपन्यासहरू कुशल पाठकको आवाजमा सुनेर आनन्दित भइरहेकी छु । आफ्ना केही सिर्जनालाई पल्टाएर फेरि हेर्न मन लागेको छ । अहिले मिचेल ओवामाको आत्मकथामा भुलिरहेछु । केही रमाइला फिल्म हेरिरहेछु । लेखपढमा जति योजनाहरू बनाए पनि मन चाहिँ सोचेजस्तो एकाग्र हुन सकेको छैन । अब के हुन्छको अनुत्तरित प्रश्न मनमा आइहाल्छ तर उत्तर आफैँसँग छ कुनै पनि चिजको सुरुवात भएपछि त्यसको अन्त्य हुन्छ नै । यो महाविपत्ति पनि पक्कै हट्नेछ छिट्टै ।

(४ ) मन्जु ‘काँचुली  तिवारी, कवयित्री

साहित्य लेखन भनेको एक किसिमको योग नै हो । साहित्यको एकान्तबासको महत्व नै बेग्लै हुन्छ । जब मा एक्लो बस्छु, मा कहिले पनि एक्लो हुन्न । मा भित्र र बाहिर सिर्जनाका सल्बलाई रहन्छन । हाम्रो घर शहरको भागदौड र होहल्ला भन्दा पाच मिनेट भित्र पर्छ । प्रकृतिले भरिएको छ । बिहान उठ्ने बित्तिकै ओछ्यान संगैको झ्यालबाट स्वम्भुको दर्शन पाइन्छ । पहिले नभ्याएका थाती साहित्य रचनालाई गर्ने काम गर्दै छु । एउटा नयाँ कथा संग्रह प्रेसलाइ दिने बित्तिकै लकडाउन भयो । पहिले लेखेका कविता सङ्ग्रहहरु, लघु कथा निबन्ध,अग्रेजी,भाषामा लेखेका कविता,कथा नेपाली उपन्यास नछापिएका पाण्डुलिपिसँग व्यस्तहुने गरेको छु । थोरै मात्र कविता र कथा लक् दौन्को अवस्थामा लेख्न सकेको छु । किताबहरु पढ्छु । पढ्नु र लेख्नु भन्दा पनि आफ्नो घरबाट देखिने हिमाल पहाड डाडा, रुख खोला बाटो फाटफुट मानिसहरु साझ बिहान हिडेको देखेर रमाउछु । कोइली, सारूंग भंगेरा फिस्टा काग परेवा आदि चराका बोलि सुनेर रमाउछु । बिहान सबिरै उठेर यी सबै प्रकृतिलाई एकएक गरि हेर्दै भावबिभोर भएर रमाउछु । यति नजिक भएर पनि बेफुर्सतिले नजिकिन नपाएको यो बिराट प्रकृतिको लिला देखेर अचम्म पर्छु । बिशेष गरि बिदेशमा बस्ने नेपाली आफ्नो घरमा बस्ने इच्छा हुँदा पनि बस्न नपाएर अलपत्र परेका नेपाली भोकले पीडित गरिव मजदुरहरुको आर्तनादले मन रुवाउछ ।

(५) पद्मावती सिंह , आख्यानकार

ओहो कस्तो समय आयो । कहिल्यै नसोचेको त्रासदी समय । घरमै कैद भएको यो क्वारेन्टिनको बेला त असाध्य नरमाइलो र उराठ लाग्दो हुने रहेछ । पढू भने पढ्न मन नलाग्ने । केहि रचना गरौ भने मन ठेगानमा नहुने । मैले यो लक् डाउनको समयमा बिहान बगैचामा फूलहरुको स्याहार सुसार गर्ने, दिनभरी यसो तुनुमुनु गर्ने र साथीभाईसित अनलाइनमा सम्पर्क गर्ने । पुराना गीत गज़लहरु सुन्ने र राति चाहिं टिभी हेरेर बितिरहेछन् मेरा दिनहरु । बल्ल एउटा कथा लेखे लकडाउन भन्ने शीर्षकमा । यस समयमा मैले आफ्ना पुराना गीतहरु यताउता छरिएका थिए तिनीहरुलाइ सङ्कलन गर्न भ्याए । धेरै जसो समय समाचारहरु हेर्दै बितेका छन् । यतिबेला आफ्ना बिदेशमा रहेका प्रियजनको सार्है चिता लाग्दो रहेछ । अनि समाचारमा कोरोनाको समाचार मात्र सुन्दा सार्है दिक्क लाग्दो रहेछ । केहि लेख्न बस्यो कि कोरोना सम्बन्धि विचारले मस्तिष्कलाइ आघात पार्दो रहेछ । मस्तिष्क शुन्यसरी हुँदो रहेछ । त्यसैले पनि सिर्जनात्मक कार्य गर्न गाह्रो भैरहेको छ ।

(६ ) माया ठकुरी , कथाकार, प्राज्ञ

यो असहज परिस्थितिमा मैले नयाँ पुराना पुस्तकहरु पढ्ने, परिवारसँग बसेर बितेका अनेक स्‍मृतिहरु उद्धिन्ने , घरको सर सफाई गर्ने केही समय नयाँ सिर्जन मा बिताउने र आफन्तहरुसँग संचार माध्यमबाट एक अर्कासंग भलाकुसारी गर्ने गर्ने, वर्तमान बारे बिभिन्न माध्यमबाट आफूलाई अपडेट राख्ने संगीतका धुनहरु सुन्ने र कहिले आफूले रेडियोमा रेकर्ड गराएका गीतहरु सुन्ने र केहि नयाँ सिर्जना गरेर नै मेरा दिनहरु बितिरहेको छ । यो कठिन समय छिट्टै समाप्त भएर सामान्य दिनचर्या फर्कियोस भन्ने कामना गरिरहेछु ।

(७ ) इल्ल्या भटराई, कथाकार, नियात्राकार

बिहान ५.३० मा उठेर तामाको गिलासमा रातभरि राखेको पानी खान्छु । नित्यकर्मपछि लगभग आधा घंटा को सुतेर गर्ने एक्सरसाइज़ गर्छु । त्यसपछि ४ किमी प्रतिघन्टाको गतिमा आधाघन्टा ट्रेडमिलमा हिँडछु । ६.३० तिर तल ओर्लेर दूध, तरकारी ल्याई फूल टिपी पूजा गर्न बस्छु । पूरा १ घन्टा लाग्छ मलाई पूजा गर्न । म यो समयावधि लाई मेडिटेशन गरेको ठान्छु । ८ बजे आफ्नो कौसीमा घाममा बसी ठीक आधा घन्टा प्राणायाम गर्छु । त्यसपछि १० बजेसम्म सामाजिक संजाल हेर्छु । १० बजे बुहारी र म भान्सामा पुग्छौं । १२ बजे सम्म खानपिन सकेर कोठामा आएर सरसफाई गर्छु । त्यसपछि कम्प्यूटर मा आफ्नो लगभग पूरा हुन लागेको नियात्रा पुस्तकको सम्पादन गर्ने काम गर्छु । यहीबीच मन लागे समाचार हेर्छु, कहिले सिनेमा हेर्छु । ५ बजे तिर बगैंचामा गएर फूलको स्यहार गर्छु । त्यसपछि आरती गरेर परिवार का दुई प्रिय सदस्यहरू हाम्रा कुकुरहरूका लागि रोटी पकाउँछु । दिउँसोको खाजा र रातिको खाना बुहारीले बनाउँछिन् । परौठाहरू खानेभए म बनाउँछु । ७.३० बजे तिर खाएर कोठामा आएर पहिले समाचार त्यसपछि पाकिस्तानी सिरियल हेरेर १० बजे सुत्छु । अहिले घर सहयोगी नभएको हुनाले सरसफाई को काम आफैंले गर्नुपरिरहेको छ । पहिले त हामी सबैलाई साह्रै गाह्रो लागेको थियो, तर अहिले बानी हुँदै गएको छ ।

(८) गीता रेग्मी, नियात्राकार

मेरो लकडाउन , महिलाहरूका लागि यो लक डाउन यो नै पहिलो र अन्तिम होइन । तरपनि मनमा छट्पटी छ । भान्साको समय लम्बिएको छ । लेख्न नसकेर पढ्नमा ध्यान लगाउने चेष्टा भै रहेछ । समाचारले मन तान्दा लेख्ने बिषय नयाँ नयाँ बनेर आइरहेका छन् । यसैले कही अनलाइनका प्रकाशन बने केही बन्ने क्रममा छन् । लकडाउनलाई उपलब्धिपूर्ण बनाउने हर सम्भव कोशिसमा छु । विगतमा थालिएका लेखनीलाई टुङ्याउने भन्दा नयाँ बिषयको थालनी हुने संकेत देख्दै छु ।

(९ ) सरिता अर्याल, कथाकार

अफिस स्कुल जाने नहुनाले बिहान चाढै उठने हतार छैन् । बिहान योगाको क्लास लिन जानू नपर्ने भएकाले नियमित गरिने योगा पनि अनियमित जस्तै भएको छ । बिहानको नित्यकर्म पूजापाठ सबै सकेपछि एक गिलास तातो पानी र एक गिलास सखर पकाएको पानी पिउन छुटाउदिन । खाना बनाउने हतार नभएकोले म बिहान बगैचामा फूलका गमलालाई सुमसुमाउन पुग्दछु । खाना पकाउने खाने काम सकिए पछि केही समय साहित्यका किताब पढने गरेकी छु तर पहिलेको जस्तो किताबमै डुबेर पढन सक्दिन । दिमागमाती किताबका कुरा राख्न नसकेको अनुभव भै रहेको छ । फुर्सद भएपछि कति पढ़ौला , के केलेखौला भन्ने लाग्दथ्यो तर चाहिने जति समय फुर्सदकै भएपनि कोरानाको त्रासले कहाँ के भयो भनेर बेला बेलामा टिभीरुपी कोरोना नजिक , विश्व भ्रमणमा निस्किएकी कोरोना तिमी कहाँ पुग्यु र आज आफ्नो उपस्थिति कसरी देखायौ भन्दै । युरोप थाईल्याण , चिन र इन्डियाका नियात्रा लेख्ने बिचारमा थिए तर यो समयमा टिपोट तीनै यात्राको टिपोट गर्ने काम मात्र गर्दैछु , साहित्य लेखन मा ती यात्रालाई पनि ढाल्न सकिन । समाचारले बेलाबेलामा अत्तालिन पुग्दछु र मोवाईलमा सुरु गर्दछु क्यान्डिक्रस र म्यारिज तास नामक गेम खेल्न जुन खेल्नु कुनैपनि पक्षबाट राम्रो नमान्ने म नै अहिले दिमाग लाई भुल्याउन गेममा डुब्न थालेकी छु ।

(१० ) सुभद्रा भट्टराई, साहित्यकार

म चाहि सरकारी र व्यक्तिगत राहत वितरण अनि सिमा क्षेत्र भएकोले। ड्रक्स युजरहरू कहाँकहाँबाट हिडेर आईरहेका छन् . उनीहरुलाई पहिचान गरेर प्रहरीलाई जिम्मा लाउने काम गर्दैछु, हामीले हरेक टोल बिकास संस्थाहरूमा लकडाउनलाई सहज र सफल पार्ने पाँच पाँच जनाको टिम बनाई दिएर सबैलाई घरभित्र बस्न खबरदारी गर्दै सचेतना अभियानमा व्यस्त छु । अनि सन्देसमुलक कविता र गीत पनि लेखिरहेको छु । बेला बेलामा लाइभ आनलाइन आएर आफ्ना कविता गीत पनि सुनाइ रहेको छु । यसरी नै मैले आफ्ना दैनिकी गुजारिरहेको छु ।

(११ ) ललिता दोषी, कवयित्री, कथाकार

लकडाउनमा मेरो त्यति कलम चल्न सकेको छैन । नरेन्द्रराज प्रसाई दाजुको गीतको समीक्षा थोरै लेखेकी थिएँ पूरा गर्न सकेकी छैन । रोहिणी विलास लुइटेल सर, तारा श्रेष्ठ सर र आश्मा अर्याल बहिनीको किताबकोबारे लेख्नु पर्ने धेरै पहिले नै थियो । अझै त्यो पनि अधूरो नै छ । मभन्दा माथिकी दिदी सुस्मिता शर्माले कोरोनाबारे कविता लेखेर आजै फेसबुकामा राख भन्नुभएकोले एउटा कविता त कोरेँ । आफूलाई नै चित्त बुझेन त्यतिकै छोडेँ । ‘उज्याला दिनहरू’ शीर्षको एउटा बालकथा लेख्नैपर्छ भनेकोले लेखेँ । अहिले म डोलिन्द्रप्रसाद शर्मा सरको ‘बादलभित्रको धाम’ पढिरहेकी छु । मन छुने निबन्धहरू रहेछन् । भोलितिर सिद्धिन्छ होला । मन डामाडोल छ । लेख्ने मुड नै छैन । चाँडै कोरोना हटेर सबैका अनुहारमा खुसी देख्न पाइयोस् ।यही कामना गरिरहेकी छु ।

(१२ ) ज्ञानु अधिकारी , समालोचक

लक डाउनको आज छ्ब्बीसौ दिनमा आइपुग्दा अलि बढी मन आत्तिएको छ ! आफ्नो कारणले भन्दा पनि सडकमा पुगेका मजदुरहरू र सरकारको असंवेदनशीलताले । पहिले त केही दिन होलाजस्तो लागेको थियो तर लकडाउनको अवधि लम्बिदै गर्दा असहज लागिरहेको छ । म अक्सर एकान्त र प्रशस्त समयको खोजीमा रहने र लेखन पठनमा नै बिताउने भएकाले समय बिताउन मलाइ त गारो छैन तर पनि यो अकल्पनीय परिस्थितिले मनलाई बेचैन भने बनाइरहन्छ । मान्छे आज पिँजडामा कैद भएको पन्छिजस्तो भएको छ । जीवन के हो ? स्वतन्त्रता के हो ? मातृभूमि के हो ? बल्ल बुझ्दैछ ।यसर्थ लकडाउनले मानिसलाई सङ्कट्मा त पारेको छ नै साथै धेरैतत्त्वज्ञानको बोध पनि गराएको छ ।

प्रतिक्रिया