भर्चुयल सञ्चारमा साहित्य र नाफाको गोष्ठी

डा. गोबिन्द रावत, टोरन्टो २०७७ वैशाख २ गते १९:०९ मा प्रकाशित

डा. गोबिन्द रावत, टोरन्टो,

गत साल २०१९ को नोभेम्बरमा चिनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोभिड–१९ संक्रमणको प्रकोप आज विश्वभरीनै फैलिएको छ । ।विश्वव्यापी महामारीका रूपमा फैलिरेहेको कोरोना संक्रमणका कारण मानिसहरु एकआपसमा सामाजिक दुरी बनाएर बस्न बाध्य भएका छन् । महिनौं देखि घरमा एक प्रकारको स्वेच्छा कैदीका रुपमा थुनिएकाहरुमा दैनिक ज्यालदारी गरेर राती छाक टार्ने मजदुरबाट लिएर ठुला ठुला व्यापारी तथा उद्योगपति अनि कला साहित्य संस्कृति मनपराउने पाठक र दर्शकबाट लिएर कला साहित्य संस्कृति कर्मीहरु पनि घरमा कैद छन् । यो स्वतन्त्रताको कैदी जीवनको अवधि बढ्दै जान थालेपछि सबैले आआफ्नो क्षेत्रबाट आफुले जानेका तथा आफ्नो विधा एवम् क्षेत्रगत् क्षमताका आभारमा आफ्ना पाठक, श्रोता र दर्शकसँगै आफैले पनि एक प्रकारको मानोरञ्जन लिई–दिई रहेका छन् । मैले आफ्नो फेसबुकबाट जानकारी पाएपछि दिपक बज्राचार्य, जितु नेपाल, उज्वल भण्डारी (उज्जु) आदि सम्पर्कमा रहेका र जानकारी पाएकाहरुको सामिप्यता पाउन थाले । यो भर्चुयल (आफ्नो कम्प्युटरका माध्यमबाट सम्पर्कमा रहने) प्रविधिले दिनहु  हामीहरु बीच सामिप्यता ल्याउनुका साथै आआफ्नो क्षमता र क्षेत्रका आधारमा कोरोनाका कारण घरमा बस्न बाध्य भएकाहरुका बीच मनोरञ्जन प्रदान गर्दै आएको छ । हुन त हामीसँग चलचित्रका माध्यमबाट मनोरञ्जन लिने धेरैनै विद्युतीय माध्यमहरु छन् र दैनिक रुपमा चलचित्र हेरेर एवम् राम्रा चलचित्रका बारेमा अरुमा जानकारी गराइ रहेका पनि छौं । चलचित्र बाहेक पनि प्रत्यक्ष प्रस्तुति हेर्न–सुन्न मन पराउनेहरु पनि छन् । उनीहरुका लागि भनेर नै होला कला–साहित्य–सँस्कृतिसँग आबद्ध कला–साहित्य–सँस्कृतिकर्मीहरुले प्रत्यक्ष प्रस्तुतिहरु राख्दै आएका छन् । गत मार्च २७ “रङ्गमञ्च दिवशको दिन) देखि थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ शुरु गरेको थियो । सरकारले लकडाउनको घोषणा गरे लगत्तै यी रङ्गकर्मीहरुको प्रयासबाट क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो । नाट्य उत्सवका रूपमा एउटा निश्चित समयमा दैनिक नाटकको भिडियो प्रदर्शन गराउँदै आई रहेको छ । उत्सव निर्देशक केदार श्रेष्ठ र संयोजक प्रशुन सिन्धुलियको प्रयासबाट शुरु भएको भर्चुयल नाटक उत्सवको पहिलो चरणको प्रदर्शन समाप्त भएपछि अब त्यसैलाई भिन्न स्वरूपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने बारे जानकारी गराएका छन् । उत्सवको नियमित समय बेलुकी ५ बजे रङ्गमञ्च, कला, साहित्यका सन्दर्भमा कार्यक्रमहरू जारी राखिने तथा रङ्गमञ्च सम्बन्धी अन्य नयाँ र सिर्जनात्मक कार्यक्रमहरु आउने भएको छ ।

त्यसरीनै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पनि समाजका सदस्यहरुका बीच भर्चुयल काव्य गोष्ठी गर्दै आएको बारे जानकारीमा आएको छ । गायकहरुले गीत गाएर भर्चुयल बनाउँदै आई रहेका छन् । यसरीनै भर्चुयल प्रविधिका माध्यमबाट अमेरिकाको म्याडिसन, विनकोन्सनको नाफा साहित्यिक संस्थाले आफ्नो नियमित संचालन गर्दै आएको कोठे साहित्य कार्यक्रमको ३० औं श्रृखला भर्चुयल काव्य गोष्ठीका रुपमा गत आईतबार सम्पन्न गरेको थियो । अविश्कार भारती र दिनार श्रेष्ठको अगुवाईमा सम्पन्न यस भर्चुयल काव्य गोष्ठीमा अमेरिका, क्यानडा, नेपाल र भारतमा गरी २२ जना कविहरुले काव्य वाचन गरेका थिए । यसरी काव्य वाचन गर्नेहरुमा अमेरिकाबाट दिनार श्रेष्ठ, धन मल्ल श्रेष्ठ, अविष्कार भारती, पूर्ण श्रेष्ठ, अविमान पासाछे, नीकिता पाण्डेय, कल्पना रिजाल, सुषमा श्रेष्ठ, शर्मीला पोखरेल, लेखनाथ काफ्ले, मित्र पौडेल, नारायण दास मल्ल, प्रदिप के.सी., राजेन्द्र अर्याल, सीता अर्याल, क्यानडाबाट डा. गोबिन्द रावत, मनोज श्रेष्ठ, भारतबाट अर्चना द्वा, नेपालबाट बिष्णु बहादुर सिंह, पुष्कार लोहनी तथा बाल कवि आन्या पाण्डेयले आआफ्नो सिर्जना पस्केका थिए । वाचित कविताहरु नासाको  nafasahitya.blogspot.com मा राखिएको छ ।

यसरी नै नेपालको किताब यात्रा फाउन्डेसनको आयोजनामा सोमबारबाट ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ सुरु हुने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लकडाउन भइरहेको स्थितिमा सिर्जनशील बनिरहने उत्प्रेरित गर्ने उद्देश्यका साथ फेस्टिभल सुरु गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताए । फेस्टिभलको पहिलो दिन दुई सत्रमा बहस हुने सेसनकोअर्डिनेटर शकुन्तला जोशीले बताइन् । उनका अनुसार पहिलो सेसनमा ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरू युग पाठक, अमर न्यौपाने र मनिषा गौचनले छलफल गरेका छन् । निरुपा प्रसुनले सहजीकरण गर्ने सत्र दिउँसो १ बजे लाइभ भइसकेको छ । त्यसको रेकर्ड किताब जात्राको फेसबुक पेजमा जहिले पनि हेर्न सकिनेछ । त्यस्तै, दोस्रो सत्रमा रङ्गकर्मी अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले ‘भर्चुअल मिडियामा रङ्गमञ्च’ शीर्षकमा बहस गर्नेछन् । कला अनुरागीले सहजीकरण गर्ने सत्र अपरान्ह चार बजे लाइभ भएको थियो । छलफलहरू किताब जात्राको फेसबुक पेज facebook.com/kitabjatra बाट लाइभ हेर्न सकिनेछ । फेस्टिभल एक सातासम्म चल्ने बारे जानकारी गराइएका छ । आजको प्रविधिले ल्याएको भर्चुयल सञ्चारका माध्यमबाट हामी आआफ्नो सिर्जनालाई भर्चुयल मञ्चका माध्यमबाट घरघरमा थुनिन बाध्य भएका कला साहित्य संस्कृतिका श्रोत –पाठक–दर्शकका माँझ राखेर पनि हामी सिर्जनालाई निरन्तरता दिदै जान सक्ने छौं ।

प्रतिक्रिया