केको हो रुप ईश्वर ! सन्दर्भ -कोभिड

शिव लामिछाने २०७७ वैशाख १ गते १८:३४ मा प्रकाशित

कोभिड नामको रोग तर्साई विश्वका घर
छरी आतङ्क मान्छेमा बनायो सब थर्थर
न देख्नु रोगको रुप न सुन्नु यसको स्वर
न सुँघ्दा गन्ध आउँछ केको हो रुप ईश्वर !

डिसेम्बर सुरुको दिन्मा सन् उन्नाईस सालको
शताब्दीपछि फर्कियो यो नयाँ रोग हालको
हुवान चीनको बस्ती जङ्गली जीव मांसमा
आएछ मिसिई पैले फैलियो अनि विश्वमा ।

मान्छेको चेतना उच्च बन्दै छ यस कालमा
जीवाणु र किटै बन्छन् विज्ञान नव सिर्जना ।
सुनियो मानिसै हुन् रे यस्को गर्ने परीक्षण
फुत्कियो रोक्न खोज्दामा, भाग्यो निस्केर तत्क्षण ।

ठीकै जस्तो छु ठानेर मान्छे ती शुरूका दिन
काममा, घुम्नमा रम्दा अर्कोमा सर्छ त्यै क्षण
एकबाट दुई मान्छे तीबाटै चार आठ रे
सरेर यसरी बढ्ने गुणै यो रोगको छ रे ।

भन्छन् भाइरस जान्नेले, नजान्ने त्रस्त छन् यहाँ
पसी सुटुक्क फोक्सोमा थप्छ रे वंश नै त्यहाँ
बग्ने सिँगान, थाकेर सुख्खा खोकी बढाउने
दुखेर टाउको सारै ज्वरो हन्हन ल्याउने ।

साना बालक खोजेन, युवा कति यसैसित
हिँडे, बृद्ध निकै धेरै– विदा लिई धरासित
वैज्ञानिक मरे आफैँ डाक्टर नर्सहरु पनि
रंग, जाति नछानेर काल समग्रको बनी ।

हजारौँ मारिए, लाखौँ इटालीमा थला परे
यता न्युयोर्क आत्तियो यसैको पासमा परे
सिङ्गै युरोप थर्कायो अमेरिका त त्रस्त भो
विश्वका राष्ट्रको अर्थतन्त्र एक्कासि ध्वस्त भो ।

मान्छे रोकेर ती यन्त्र बस्दा बाटो खुला सबै
कोही बाहिर निस्कन्नन्, घरमा चुपचाप भै
बस्नुमै एक्लिई राम्रो, आज्ञा भो एक आशले
मान्छेको युगमा यौटा भयो मतैक्य त्रासले ।

युद्ध, हत्या, कुनै ध्वंस, दुर्घटनाहरु पनि
सुनिन्नन् यसका बीच ज्ञानी मानिस नै बनी ।
के हुन्थ्यो र कुनै सूत्र मान्छेमान्छे मिलाउने
‘कोभिड’ यो नहुँदो हो त, कोसित को डराउने ?
–भर्जिनिया, अमेरिका

प्रतिक्रिया