कोरोना प्रभाव अफ्रिकाका नेपालीमा

इनेप्लिज २०७६ चैत १६ गते २२:४० मा प्रकाशित

अफ्रिकी देशहरुमा कोरोना संक्रमितको संख्या ५ हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या १ सय पुगेको छ । सबैभन्दा बढी संक्रमण दक्षिण अफ्रिका र उत्तरी अफ्रिकाका इजिप्ट, अल्जेरिया, मोरक्को र ट्युनिसियामा देखिएको छ ।

त्यसैगरी पश्चिमी अफ्रिकाका बुर्कानो फासो, आइभोरी कोस्ट, घाना र नाइजेरियामा बढ्दो क्रममा रहेको छ । दक्षिण पश्चिम, मध्य र पूर्वी अफ्रिकामा भर्खर प्रवेश गरे पनि कोरोनाको प्रभाव द्रुत गतिमा बढेको छ ।

हाल सम्म सियरालियोन, लेसेथो, साओ टोमे एन्ड प्रिन्सेव, मलावी, कोमरोस, बोत्स्वाना, बुरुन्डी र साउथ सुडानलगायत ८ राष्ट्रमा भने यो देखिइ सकेको छैन । मूलत: गरिबीले आक्रान्त धेरै अफ्रिकन मुलुकहरूमा स्वास्थ्य सुविधा, चिकित्सक र स्रोत–साधनको उपलब्ध स्थिति अत्यन्त कमजोर छ ।

नेपालीहरु कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्‍ने हो कि भन्‍ने त्रासमा छन् ।

दक्षिण अफ्रिकालगायत केही मुलुक पूर्ण लक डाउनमा गइसकेका छन् भने अन्यले पनि हवाई सेवा, आन्तरिक आवतजावत, भेला–उत्सव, व्यापार व्यवसायमा बन्देज लगाउन सुरु गरिसकेका छन् ।

अफ्रिकाका ४० भन्दा बढी देशमा नेपालीको उपस्थिति रहेको छ भने १६ देशमा गैरआवासीय नेपाली संघका शाखासमेत खुलिसकेका छन् । अहिले पूरै महादेशमा नेपालीको संख्या ७ हजारभन्दा माथि रहेको आकलन छ ।

अहिलेसम्म यहाँका सबै मुलुकमा रहेका कुनै पनि नेपालीमा कोरोना संक्रमण पाइएको छैन । गैरआवासीय नेपाली संघका शाखा र अभियन्ताहरू एकआपसमा सम्पर्क, सूचना तथा सतर्कता आदानप्रदान एवं संकट आइपरे कसरी सहयोग सञ्चालन गर्ने भन्नेबारे छलफल गरिरहेका छन् ।

पर्यटन, होटल व्यवसायमा कार्यरत सेसेल्सका २ सयभन्दा बढी नेपालीले रोजगारी गुमाइसकेका छन् भने नेपाल फिर्तीको प्रयास गरिराखेका छन् ।

तस्बिर :एबिसी न्युज

प्रतिक्रिया