राष्ट्रपति ट्रम्पको चाहना अनुरुप दुइ सातामा सुचारु होला अमेरिका ?

किशोर सापकोटा २०७६ चैत ११ गते १९:४६ मा प्रकाशित


लुइभेल, केन्टकी । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार अचानक अमेरिकाको ‘डुवेको अर्थतन्त्रलाई उद्धार गर्न’ भन्दै दुइ सातामा नै अमेरिकालाई खुल्ला गर्न चाहेको वताए । ट्रम्पको चाहनामा अविश्वास गरौ, उनी सर्वशक्तिमान राष्ट्रका राष्ट्रपति हुन्, विश्वास गरौं, कुनै पनि सुचकले राष्ट्रपतिको चाहना कार्यान्वनमा आउन सक्ने देखिदैन ।

राष्ट्रपति ट्रम्पले अमेरिकीहरुको चाड इष्टर अघिनै अमेरिका खोल्न चाहेको वताए जवकि विभिन्न राज्यका गभर्नर र विभिन्न शहरका मेयरहरुले आपतकाललाई लम्व्याएर लगेकाछन् । आगामी अप्रिल १२ मा अमेरिकीहरुको चाड इष्टर पर्छ । विश्व परिवेश हेर्दा पनि दुइ सातामा नै कोरोनाको संक्रमण नियन्त्रणमा आउने छैन । यस्तो अवस्थामा राष्ट्रपतिको चाहना कति सफल होला ?

राष्ट्रपतिको ट्रम्पको चाहना कार्यान्वयन होला वा नहोला, त्यो विषय एकातिर छ, तर अर्कोतिर ह्वाइट हाउसको कोरोना भाइरस टास्कफोर्सले मंगलवार दिएको निर्देशनलाई मात्रै हेर्ने हो भने पनि राष्ट्रपतिको यो चाहना कार्यान्वयन हुने देखिदैन । टास्क फोर्सले अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर मानिएको न्यूयोर्क शहर छाडेर अन्य शहरहरुमा जानेहरुलाई चौधदिने क्वारेन्टाइनमा जान निर्देशन दिएको छ । न्यूयोर्क यस्तो शहर हो जहां अमेरिकाका कोरोना भाइरस संक्रमित मध्ये झण्डै आधा संख्या रहेको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका संयोजक डा. डेवोरा विक्र्सले मंगलवार नयां कोरोना भाइरस संक्रमण हुनेहरु मध्ये ६० प्रतिशत न्युयोर्क शहरमा नै रहेको वताए । न्युयोर्क शहरमा अन्य अमेरिकी शहरभन्दा संक्रमणको दर पांच गुणा रहेको छ । अमेरिकाको सवैभन्दा ठुलो आर्थिक शहर न्यूयोर्क रोग र शोकमा डुविरहेको अवस्थामा कसरी अर्थतन्त्र सुचारु होलार ? एक नेपाली अनिल लिम्वुको पनि मंगलवार विहान कोरोना भाइरस संक्रमणको कारण न्यूयोर्कमा नै निधन भएको थियो ।

राष्ट्रपति ट्रम्पले भनेको एउटा कुरा सत्य हो, जति चांडो हामी अमेरिकालाई खुल्ला गर्न सक्छौ, त्यति नै चांडो यहां राम्रो हुनेछ । तर हरेक दिन अस्पतालमा विरामीहरुको चाप थप्दै कसरी अर्थतन्त्रलाई सुचारु हुन्छ ? वढदै गएका विरामीहरुलाई कसरी व्यवस्थापना गर्न सकिन्छ ? स्वास्थकर्मीहरुलाई आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेट (पीपीइ) कहांवाट उपलव्ध गराउन सकिन्छ ? न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोनोले आउदो दुइ साताभित्र आफ्नो राज्यलाई थप १ लाख ५० हजार वेड सहितको अस्पताल आवश्यक पर्ने वताउंदै तत्कालै ३० हजार भेण्टिलेटर उपलव्ध गराइदिन राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका छन् । अहिले न्युयोर्कसंग ७ हजार भेण्टिलेटर सहित करिव ५३ हजार वेड रहेका छन् । अहिलेको आवश्यकता मानवीय उद्धार हो कि अर्थतन्त्रको उद्धार हो ?

अमेरिकामा मंगलवार मात्रै १४५ जना वढी मानिसको मृत्यु भएको छ भने ११ हजार भन्दा वढी संक्रमित थपिएका छन् । यो डरलाग्दो संक्रमण र मृत्युलाई कसरी नजरअन्दाज गर्न सकिन्छ ? मंगलवार सांझसम्ममा अमेरिकामा मृत्यु हुनेहरुको संख्या ७७८ पुगेको छ भने संक्रमित हुनेहरुको संख्या ५३ हजार ४२० वढी पुगेको छ । अमेरिकाका १७ वटा राज्यहरुले ‘स्टे -एट -होम अर्डर’ जारी गरेका छन् र देशको सम्पूर्ण जनसंख्याको करिव ५२ प्रतिशत जनता घरमा वस्न वाध्य छन् । यी सम्पूर्ण प्रतिकुलताका वीच अमेरिका सुचारु कसरी हुन सक्लार ?

राष्ट्रपति ट्रम्पले चेतावनीको शैलीमा भनेका छन्,- ‘यदि राष्ट्रलाई आर्थिक मन्दी वा निराशामा राखियो भने तपाइहरुले यो भन्दा वढी मानिसलाई गुमाउनु पर्नेछ’ । राष्ट्रपति ट्रम्पको चेतावनीले काम गर्ला वा वढ्दो संक्रमणलाई नियन्त्रण गर्न अमेरिकाको अर्थतन्त्र ठप्पनै रहला ? कुरेर परिणाम हेर्नुको विकल्प छैन ।

राष्ट्रपति ट्रम्पको चाहनाप्रति प्रतिपक्षी डेमोक्रेटिक पार्टीका नेताहरु र स्वास्थ क्षेत्रमा लागिरहेका विज्ञहरु सहमत हुन सकेका छैनन् ।
आगामी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार वन्ने दौडमा रहेका जो वाइडेनले भनेका छन् -‘राष्ट्रपति ट्रम्पले वोल्न रोक्नैपर्छ र स्वास्थ क्षेत्रका विज्ञहरुलाई सुन्नुपर्छ’ । उनले राष्ट्रपति ट्रम्पले समस्या समाधान गर्न चासो नलिएकोले भयावह स्थिति सिर्जना भएको वताए ।

माइक्रोसफ्ट कम्पनीको सवै जिम्मेवारी छाडेर लोककल्याणकारी काममा जुटेका विश्वका दोश्रो धनी विल गेट्सले राष्ट्रपति ट्रम्प नाम समेत नलिइ राष्ट्रपतिको यो चाहना अत्यन्त गैरजिम्मेवरीपूर्ण रहेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, कुनामा लासहरुको खात राखेर मानिसहरुलाई रेष्टुरेन्ट गइराख, नयां घर किन भनेर भन्नलाई निकै कठिन छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया