मनोज दाहाल,
विराटनगर,२२ फागुन(रासस)ः प्रदेश नं. १ सरकारले कोरोना भाईरस कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रमुख नाकाहरु विराटनगर, काकडभिट्टा, पशुपतिनगरमा एकीकृत स्वास्थ्य जाँच केन्द्र राख्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको बैठकले मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, भन्सार कार्यालयका प्रमुखहरु, चिकित्सकहरुको उच्चस्तरीय बैठकले कोरोना भाईरसको संक्रमण भन्दा पनि बढी हल्ला र अफवाह फैलिएकोले सचेतना र सजगता गराएर जनतालाई जागरुक बनाउने पनि निर्णय गरिएको छ ।
यसैगरी विराटनगर विमानस्थलवाट दैनिक दुई हजार हवाईयात्रु आवतजावत गर्ने भएको सो स्थानमा आवश्यक स्वास्थ्य चेकजाँच केन्द्रको स्थापना गर्ने समेत निर्णय भएको छ ।
बैठकले आवश्यक औषधी, मास्क, स्यानिटाईजर र खाद्यान्नको व्यवस्थापन गर्दै कृतिम अभाव नहुन दिन आवश्यक निगरानी बढाउने निर्णय गरेको छ ।
यसैगरी श्रीलंका टप्पुमा आईसोलेशन सेन्टर स्थापना गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा भएको सो बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाउने पनि निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले प्रदेश सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थानीय तह सम्म संरचना बनाएर रोकथाम र सचेतना कार्यक्रम गर्न लागेको बताउनु भयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले हल्ला र अफवाहमा नलागेर सजगता र सतर्कता अपनाउन सकिए कोरोना भाइरसको संक्रमण बाट बच्न सकिने जानकारी दिनुभयो ।¬¬¬¬¬¬¬¬¬¬ फोटो उपलव्ध छ)¬¬¬¬–––––––––
पत्रकार
प्रतिक्रिया