अनेसास कोरियाको बृहत् साहित्य मेला भव्य रुपले सम्पन्न !

इनेप्लिज २०७६ माघ १२ गते १३:१७ मा प्रकाशित

सौल , कोरिया- माघ ११ ।

अनेसास कोरियाद्वारा आयोजित ‘बृहत् साहित्य मेला’ भव्य रुपले सम्पन्न भएको छ। शनिबार कोरियाको राजधानी सौलस्थित शुभेच्छा होटलको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।कोरियन चाड सलनालको अवसरमा गरिएको काव्य-सुधा अन्तर्गतको १२ औं शृन्खलामा नौ जना स्रष्टाहरुको विशेष रचना वाचन रहेको थियो ।

आयोजकले कविता, गजल र मुक्तकलाई एउटै मन्चमा उभ्याएर नयाँ स्रष्टाहरुलाई उर्जा र प्रेरणा दिएको छ । प्रवासमा रहेर पनि आफ्ना सिर्जनाहरुलाई सुन्दर र कलात्मक मनोभावहरुले उच्छवासित गर्ने स्रष्टाहरुमा क्रमश कवितातर्फ- मिलनकान्छा किराँती शकुन आँशु, गंगा बस्नेत, गजलतर्फ – जीवन भण्डारी, कमल बाछिटे ,सुमन तिमलसिना र मुक्तकतर्फ-रामचन्द्र शर्मा, अर्जुन लामा र शुशिल अर्याल थिए । स्रष्टाहरुको काव्य शक्तिले सभाहल गुन्जायमान थियो, दोङ्देमुन तातेको देखिन्थ्यो । कार्यक्रममा प्रमोद सारंगद्वारा लिखित हाइकु संग्रह ‘ अनूदित आँखाहरु’को लोकार्पण गरिएको थियो ।

सर्जकहरुले देशप्रेम, जीवनबोध, प्रवास पीडा, जीवन दर्शन, राजनीति, प्रेम आकर्षण, उन्माद ,डायस्पोरा लगायत नेपाल भ्रमण वर्ष २०२० सम्मलाई समेटेर रचना वाचन गरेका थिए । करिब ५ घण्टा लामो लगातार कार्यक्रममा शृंगारिक मुक्तकहरुले मनोरन्जन प्रदान गर्दा तनाब हराएको देखिन्थ्यो । सो कार्यक्रममा तीन दर्जनको हlराहारीमा सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सर्जकहरुलाई हौसल्ला र सम्मान गर्ने उदेश्यले प्रशंसा-पत्र पनि प्रदान गरिएको थियो ।

समाजसेवी जुनु गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न संघसस्थाका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने सुर्यले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगले गरेका थिए । भर्खरै जापानमा भएको तेस्रो च्याप्टर सम्मेलनमा दोस्रो उत्कृष्ट च्याप्टर पुरस्कार प्राप्त गरेको अनेसास कोरियाले नयाँ बर्षको आगमनसँगै योगगुरु/ शान्ति दुत आचार्य राजन शर्मा (भीमसेन सापकोटा)को आतिथ्यमा ‘कोरियामा तनाव व्यस्थापनको तालिम र योग साधना’ को कार्यक्रम सम्पन्न गरिसकेको छ । आगामी कार्यक्रम भने कोरियाव्यापी कविता प्रतियोगिता, पुस्तक विमोचन र रचना वाचन कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया