नेपाली साहित्यका दुई मुरारि अधिकारीहरू

गोविन्द गिरी प्रेरणा २०७६ माघ ७ गते ११:३६ मा प्रकाशित

गोविन्द गिरी प्रेरणा,

नेपाली साहित्यमा मुरारि अधिकारीको नामले कथा लेख्ने दुईजना थिए । जेठा मुरारि अधिकारी तराईका थिए र कथा लेखनमा पनि उनी जेठा थिए । उनले “ वग्दो खोला थिर बगर” उपन्यास पनि लेखेका थिए । उनको कथा संग्रह

“अस्वीकृत” प्रकाशित छ । त्यस संग्रहमा उनका १८ कथाहरू संकलित छन् । उनका कथामा तराईको भाषिक सुन्दरता र परिवेश पाईन्छ । उनले कथा साहित्यमा योगदान पुराए वापत मैनाली कथा पुरस्कार प्राप्त गरे ।

यिनी वि.सं.२००० साल अक्षय तृतियाका दिन पदमपुर सिरहामा जन्मेका थिए । उनले अमेरिकाको फ्लोरिडावाट एमएस गरेका थिए र श्री ५ को सरकारको जागिरमा थिए, रेडियो शिक्षा परियोजना सानोठिमी भक्तपुरमा । उनको पहिलो कथा विसं २०२० सालमा वीस बर्षको उमेरमा रुपरेखामा प्रकाशित भएको थियो ।
उनी भन्थे, “ मेरो लेखन एउटा मान्छे, एउटा साधारण गरीव मान्छेका आशाहरु, सपनाहरु, उनीहरुका दुःख–सुखका अनुभूतिहरुका वरिपरि केन्द्रित भएकोले म त्यस प्रत्येक आम मान्छेको बौद्धिक, आर्थिक र सामाजिक उन्नति चाहान्छु ।’’

२०२० सालदेखि लेख्न थाले पनि उनको लेखन भने खासै बाक्लो हुन सकेन । फूटकर कथाका अतिरिक्त उनले यौटा उपन्यास लेखे वग्दो खोला थिर बगर । यो उपन्यासलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको थियो । तर कथाहरु भने फूटकर रुपमै रहेका थिए ।

बास्तवमा उनी २०५० सालमा यौटा यस्तो रोगवाट थलिए, उनलाई त्यो रोगले सारा संसारबाटै विच्छेद गराईदियो । त्यही जीवनको कठिन घडीमा साझा प्रकाशनको पहलमा उनका छरिएका कथाहरुको संग्रह तयार गरियो र “ अस्वीकृत’’ शिर्षकमा २०५१ सालमा प्रकाशन भयो । उनको आफ्नो अवस्था र रोग र कथाको वारेमा उनले छोटो भूमिकामा लेखेका छन्ः

“ जीवनमा देखेका, भोगेका विभिन्न अनुभवहरुलाई कथाको रुपमा प्रस्तुत गरिएको यस सङ्ग्रहमा मेरो उद्देश्य लेखनबाट एक ब्यक्तिमा रहेको ईच्छा, आकाँक्षा र भावनालाई चरितार्थ गर्नु थियो । मलाई लाग्छ, यस अस्वीकृत कथा सङ्ग्रहले ती सब कुरालाई पूर्णता प्रदान गरेकै छ ।
मनमा भावनात्मक लहरहरुको प्रतिस्पर्धा भईनै रहन्छ । ती भावनालाई कलमको नीबमा राख्न नपाउँदै कहिले अस्पतालको शैया त कहिले आफ्नै विछौनामा आफूलाई पाउन थाल्दछु । मेरो जिन्दगीको पानामा बिसौनी, अनुत्तरित, पानी, ईमिरितिया आदिवाट चित्रित हुँदा हुँदै आजको गोपनीमा गएर टुङ्गिएको छ । यस सङ्ग्रहमा “ आजको गोपनी’’ मेरो हालसम्मको अन्तिम कथा हो ।

दैवको ईच्छा र समयको विडम्वनालाई मेरो कलमको बलले छोप्न सकेन जसको परिणाम गत २०५० कार्तिकदेखि जीवनको कहाली लाग्दो मोडमा आफूलाई पाएको छु । बाहिरी दुनियाँसँग पूर्ण सम्वन्ध छुटे तापनि साझा प्रकाशनद्वारा मेरा अनुभव सुषुप्त अवस्थामा रहेका लेखनहरुलाई एक सङ्गालो वनाई मेरा पाठक समक्ष ल्याउने प्रयासप्रति म आभार प्रकट गर्दछु ।’’

यसरी उनले आफ्नो भूमिकामा भने पनि उनले यस सङ्ग्रहमा भएको भनिएको अन्तिम कथा “ आजको गोपनी ’’ भने संग्रहमा छुटेको छ । यस सङ्ग्रहमा उनका वारिसनामा, भलाद्मी, गलबन्दी, अवमूल्यन, अस्वीकृत, एक त्यान्द्रो सुख, उ, तुषारो र म, इमरितिया, एक टुक्रा जमिन, फ्रिज, विष्णुप्रिया, चिया, थीम, निहुँ, सीपका पानाहरु, अवतरण, विसौनी गरी १८ थान कथाहरु सङ्ग्रहित छन् । यस हिसावले हेर्दा उनका केही कथा यस सङ्ग्रहमा नपरेको पनि लाग्छ । त्यसका साथै उनका यी कथाहरु कुन कुन पत्रिकामा पहिला प्रकाशित भएको थियो भन्ने खुल्दैन । तर २०५० सालमा विरामी हुनुअघिसम्म् चाहीं उनले कथा लेख्दै थिए भन्न्े चाहीं उनकै कथनले पुष्टि हुन्छ ।

यो संग्रहको प्रकाशनसँगै उनलाई आधुनिक नेपाली कथाका प्रवर्तक मानिएका गुरुप्रसाद मैनालीका नाममा साहित्यिक पधकार संघले प्रदान गर्नै “ मैनाली ’’ कथा पुरस्कार उनलाई प्रदान गरिएको थियो ।

अर्का कथाकार चाहीं पहाडका मुरारि अधिकारी हुन् । उनको सरकारी नाम मुरारिराज शर्मा भए पनि उनी मुरारि अधिकारीको नामले कथा लेख्ने गर्थे । उनको पहिलो कथा “ लाहुरे’’ २०२८ असार १९ गतेका गोरखापत्रको शनिवारियमा प्रकाशित भएको थियो । यिनले २०२८ सालदेखि २०३७ सालसम्म जम्मा १५ थान मात्र कथा लेखे, त्यसपछि उनले कुनै कथा लेखेनन् वा प्रकाशित भएन । यिनको मधुपर्कमा प्रकाशित “ मौसम’’ शिर्षकको कथा मलाई अति मन परेको हुँदा उनलाई भेट्दा चर्चा गर्न छुटाउँदैनथें । उनी अर्थ मन्त्रालयका शाखा अधिकृत हुँंदादेखिनै मेरो चिनाजानी सम्पर्क र आत्मिय सम्वन्ध थियो । मैले तपाईंका कथाहरूको संग्रह निकाल्नु पर्ने भन्दा उनले प्रकाशित कथाहरू संकलन गरेर नराखेको वताए तर कुन कुन कथा कहाँ र कहिलेतिर प्रकाशित भएका हुन् त्यसको चाहीं टिपोट छ भन्ने वताए । मैले उनले नै दिएको टिपोटको आधारमा त्रिवि केन्द्रिय पुस्तकालयमा गएर खोजेर पाण्डुलिपि तयार गरें । यसलाई दुवसु क्षेत्रीले वसुन्धरा प्रकाशनवाट प्रकाशित गरे । यस संग्रहमा उनका कन्यादान, ऐना, लाहूरे, मधुरो बत्ती, महारानी, एउटा अतीत एउटा बर्तमान, नायिका, हिउँका फाँटहरु, विद्रोह, विभ्रम, मौसम, अज्ञात यात्री, मुठीभित्रको जिन्दगी, निद्राविहीन रातहरु र वकैनाको रुख गरी जम्मा १५ कथाहरु समाविष्ट छन् र उनले यसपछि कुनै कथा लेखेनन् । “ मुरारि अधिकारीका कथाहरु’’ शिर्षकमा यो संग्रह २०५६ सालमा प्रकाशित भएको हो ।
आफ्नो कथा लेखनका बारेमा उनले भनेका छन्ः

समयको लामो अन्तरालपछि साहित्य सोच्दा पूर्वप्रेम(नोस्टाल्जिया)ले मलाई एकाएक आवरित गरेको छ । एउटा गुमाईको पीडा भएको छ –मैले यत्तिका बर्ष केही लेखिंन । अनि यौटा प्रश्नले बारम्वार मेरो मनलाई चिमोट्न थालेको छ, मैले किन आफ्नो साहित्यिक यात्रालाई रोकें ? जतिबेला मैले कथा लेखें, त्यतिबेला ममा कत्तिको सिर्जनशीलता थियो–त्यो मान्य समालोचक र प्रिय पाठकहरुको निर्णयको विषय हो । जे जस्तो सिर्जनशीलता ममा थियो, त्यसको प्रवाह रोकिएर नलेखेको हो जस्तो भने मलाई लाग्दैन । समयको बन्देजले जकड्यो शायद मलाई । शायद म नै अल्छी भएर गएँ । निश्चित रुपमा मैले समयको समुद्रवाट आफ्ना लागि थोरै मात्र पानी लिन सकें । अनि त्यो सीमित समय–घडावाट साहित्य सिञ्चन गर्न मैले समयको राम्रो ब्यवस्थापन गर्न सकिन ।’’

यसरी उनले आफ्नो कथायात्रालाई निरन्तरता दिन नसकेकोमा ग्लानि समेत महशूस गरेका थिए ।

प्राध्यापक मोहनराज शर्माले उनका कथाका वारेमा भनेका थिएः

“ मुरारि अधिकारीका उपर्युक्त पन्ध्रवटा कथाहरुलाई पढ्दा सबैमा भावावेगको तीब्रता पाईन्छ । भावको प्रवलता वा प्राधान्य अधिकारीका कथाहरुको प्रमुख विशेषताका रुपमा देखिने हुँदा भावातिरेकलाई लउहाँको कथाकारिताको केन्द्रिय वैशिष्ट्य हो भन्दा कुनै अत्युक्ति हुने छैन ।’

नेपालीमा कथा लेख्न छाडे पनि उनले अँग्रेजीमा फूटकर कथा लेखेर प्रकाशित गराएका थिए र यौटा सिंगै सङ्कलन समेत तयार गरेका थिए । त्यसको पाण्डुलिपि हेर्नका लागि मलाई पनि पठाएका थिए, तर त्यसले प्रकाशित हुने मौका पाएन ।

उनले मैनाली कथा पुरस्कार पनि प्राप्त गरे । उनले लेखेको यौटा गीतको एल्वम पनि प्रकाशित छ ।

उनी अर्थ मन्त्रालयको शाखा अधिकृतवाट प्रमोसन हुँंदै परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि र पछि वेलायतका राजदूत पनि भए ।

यी दुवै कथाकारका कथामा आआफ्नै पहिचान छ, आआफ्नै मौलिकता र भाषिक मिठास छन् । तर नाम एकै भएकाले नेपालीसाहित्यका ईतिहास लेखकहरू, समालोचकहरू झुक्किने गरेका छन् । तर दुवैको फरक फरक पुस्तक प्रकाशित भैसकेपछि र दुवैले मैनाली पुरस्कार प्राप्त गरिसकेपछि सचेत अध्येताका लागि अध्ययन अनुसन्धानका लागि वाटो खुलेकै हो । तर पनि यसलाई गम्भिरतापूर्वक लिईएको देखिएन । त्यसैले भ्रमहरू देखिए । अब अहिले दुवै कथाकार दिवंगत भईसकेकाले उनीहरूसककंग सम्पर्क गर्न सकिने सम्भावना त रहेन तर गहन अध्ययन र अनुसन्धानले यस्ता भ्रमहरू निश्चित रूपले हटेर सही ईतिहास कायम हुन सक्दछ ।

“ अस्वीकृत’’ संग्रह कथाकारको जीवनकालमै प्रकाशित भएको हो । “मुरारि अधिकारीका कथाहरु’’ पनि कथाकारको जीवनकालमै प्रकाशित भएको हो । दुबैका कथाहरु मधुपर्कमा प्रकाशित थिए । तर “अस्वीकृत’’मा अर्का कथाकारको कथा परेको छैन न त “मुरारि अधिकारीका कथाहरु’’मा अर्का कथाकारको कथा परेको छ । यसले अध्येता, विद्वान र अनुसन्धानकर्तालाई सजिलो वनाई दिएको छ । दुईमध्ये एकको संकलन प्रकाशित नभएको भए पनि समाधान गर्न लगभग नसकिने समस्या हुन्थ्यो, त्यो अवस्था पनि भएन । तर मधुपर्कको ५००औं अङ्कमा प्रकाशित कथासूचिमा दुवै कथाकारका कथाहरु मिसिएर आएको छ । त्यसलेअलिकति भ्रम हुने सम्भावना भए पनि यी दुई सङ्ग्रह हेर्ने हो भने त्यो भ्रम रहँदैन र साथै एक कथाकार तराई क्षेत्रका भएकाले र अर्का पहाडी क्षेत्रका भएकाले उनीहरुले कथा लेखनमा प्रयोग गरेका भाषा नितान्त पृथक छन् । दुवैको आआफ्नो मौलिकता प्रष्टै छुट्टिन्छ ।

२० जनवरी २०२०
फल्स चर्च, भर्जिनिया
अमेरिका ।

प्रतिक्रिया