ट्रकको ठक्करबाट बालिका घाइते, कोहलपुर तनावग्रस्त

इनेप्लिज २०७६ मंसिर २२ गते ९:१८ मा प्रकाशित

नेपालगञ्ज, मंसिर २२ । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि स्थिति तनाबग्रस्त बनेको छ ।

आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रगति चन्द घाइते भएकी थिइन् ।

उनको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा भइरहेको छ । स्कुले बालिका घाइते भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गर्नुका साथै बिहानैदेखि कोहलपुर–नेपालगञ्ज सडकखण्ड ठप्प पारेका छन् ।

विद्यार्थीहरुले दुई दर्जनबढी सवारी साधन तोडफोड गरेका छन् । आक्रोशित विद्यार्थीले कोहलपुर प्रहरी चौकी घेरा हाल्नुको साथै परिसरमा रहेको एउटा क्यान्टिनमा आगजनी समेत गरेका छन् ।

प्रहरीसंगको झडपमा घाइते भएका विद्यार्थीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अँश्रु ग्याँस प्रहार गरेको छ भने दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ ।

प्रदर्शनका कारण सवारी साधन बिच सडकमै रोकिँदा यात्रुहरु भने अलपत्र परेका छन् ।

प्रतिक्रिया