जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस

इनेप्लिज २०७६ मंसिर १८ गते ७:३४ मा प्रकाशित

काठमाडौँ, मङ्सिर १८ गते । न्याय परिषद्ले जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस गरेको छ । मङ्गलबारको बैठकले न्यायाधीश सिफारिस गरेको हो । परिषद्को निर्णयअनुसार पाँच न्यायाधीशको सरुवा भएको छ ।
निर्णयअनुसार उच्च अदालत तुलसीपुर इजलासमा कार्यरत रजिष्ट्रार गेहेन्द्रराज पन्त जिल्ला अदालत भोजपुरको न्यायाधीशमा सिफारिस हुनुभएको छ । यस्तै सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रुकुम जिल्ला अदालतमा सिफारिस हुनुभएको छ । यस्तै सर्वोच्चकै उपरजिष्ट्रार महेन्द्रराज काफ्ले जिल्ला अदालत सोलुखुम्बुको न्यायाधीशमा सिफारिस हुनुभएको छ ।
उच्च अदालत महेन्द्रनगर इजालासमा कार्यरत रजिष्ट्रार टेकराज जोशी डोल्पा जिल्ला अदालतमा सिफारिस हुनुभएको छ । सर्वोच्चकै उपरजिष्ट्रार इन्दिरा शर्मा जिल्ला अदालत झापाको न्यायाधीशमा सिफारिस हुनुभएको छ । सर्वोच्चमै कार्यरत मनकुमारी जिएम (विक) बाँके जिल्ला अदालतको न्यायाधीशमा र उपरजिष्ट्रार रीताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतको न्यायाधीशमा सिफारिस हुनुभएको छ ।
निर्णयअनुसार जिल्ला अदालत भोजपुरमा कार्यरत खिलनाथ रेग्मीको बारा जिल्ला अदालतमा सरुवा भएको छ । यस्तै सोलुखुम्बुका अमृतबहादुर बस्नेतको झापा, नवलपुर जिल्ला अदालतका अम्बिकाप्रसाद निरौलाको काठमाडौँ जिल्ला अदालतमा सरुवा भएको छ । निर्णयअनुसार जिल्ला अदालत दोलखाका तेजबहादुर खड्काको मोरङ जिल्ला अदालत र रुकुमका आत्मदेव जोशीको धादिङ जिल्ला अदालतमा सरुवा भएको छ ।

प्रतिक्रिया