अमेरिकामा बिदेशीसंग सबैकुरा ओक्लने र खोतल्ने काम गर्दा सोचेर मात्र गर्दा राम्रो

विजय थापा २०७६ कार्तिक १२ गते २०:१० मा प्रकाशित

विजय थापा,वाशिंगटन डिसी । अमेरिकामा बिदेशीहरु आप्रवासीसंग धेरै कुरा गर्न मन पराउदैनन । अर्थात् हामी संग आन्द्राभुडी खोलेर कुरा गर्न रुचाउदैनन । यस कुरामा हामी सावधान हुनु पर्छ । अमेरिका आप्रवासीहरुले नै बनेको राष्ट्र हो । तथापी कसैलाई हामी बाहिरी व्यक्ति हौ जस्तो पनि लागेको हुन् सक्छ ।

हामी उनीहरु संग नजिकिने कोसिस गरेता पनि पारिवारिक रुपले उनीहरु टाडा बस्न चाहन्छन । धेरै मित्रता पछि मात्र बिदेशीहरु केही नजिक हुन्छन । सम्भवत समयको अभावले गर्दा या हामी बाहिर देश बाट आएको भन्ने सम्झेर या अन्य कारण हामी नेपाली नेपाली बीच जस्तो तुरुन्तै घुलमिल हुदैनन् । अर्को कुरा उनीहरु छोटो कुरा गर्न रुचाउदछन् । प्राय छोटो मिठो कुरा गर्ने संग समय दिन्छन । लम्बेतान कुराकानीमा झर्को मान्दछन ।

हामीहरु सबै संग मिल्न खोज्छौ ,जुन कुरा राम्रो पनि हो । तर बिदेशीहरु संगै कार्यस्थलमा सहपाठी भएता पनि दिल खोलेर कुरा गर्दैनन् । नगर्ने भन्ने चै हैन । तर धेरै कुराहरु साटासाट गर्न रुचाईएको देखिदैन । व्यक्तिगत र घरयासी कुरामा धेरै चाख मान्दैनन र उनीहरु पनि सोधखोज गर्न चाहदैनन् । किनभने नेपाली उखान नजाने गाउँको बाटो नै नसोध्नु भने झैँ आफ्नो सीमिततामा बस्नु नै राम्रो हुन्छ ।

हत्तपत्त आफ्ना कुराहरु धेरै भन्दैनन । हामी भेट गर्न साथ सबै कुराहरु खोल्न चाहन्छौ । तर बिदेशीहरु ओकल्न चाहदैनन् । कार्यलयमा काम गरेको बर्षौ बर्ष सम्म पनि एक आपसमा आपतविपतको लागि भनि आफ्नो दूरभाष (टेलिफोन ) तथा भ्रमणध्वनि संख्या ( सेलफोन )आदान प्रदान गर्दैनन् ।

हामीले उनीहरु संग माग्नु पनि हुदैन । आफैले दिए भने ठिक छ नत्र सम्पर्क दिन रुचाईएको देखिदैन । हामी नेपाली नेपाली बीच तीन पुस्ताको बारेमा जानेता पनि उनीहरुले धेरै परिवार बारेमा गहिरिएर जान्ने कोसिस गर्दैनन् ।

हामीलाई उनीहरु भनेको परदेसी जस्तो पनि ठानेका हुन् सक्छन । अमेरिका नव आगन्तुकहरुले यस बिषयमा ध्यान दिन जरुरी हुन्छ । केही दिनको चिनारी भन्दैमा उनीहरुको ३ पुस्ते र अन्य कुराहरुको ज्ञान राख्ने कोसिस गर्नु हुदैन ।

उनीहरु पारिवारिक कुरामा गोप्य राख्न पनि चाहन्छन । उनीहरुको परिवार सम्बन्धि धेरै खोज तलास नगर्दा नै राम्रो हुन्छ । उनीहरु संग कार्यस्थलमा कामका कुरा र अन्य यसैको सेरोफेरोमा रहेका कुराहरु गर्दा नै हाम्रो भलाई हुन्छ ।

आफूले पनि उनीहरु मिल्छन भन्दैमा आन्द्रा भुड़ी खोल्नु हुदैन । र आफ्ना समस्या र संघर्षका कथा पनि सुनाउनु हुदैन । अरुलाई तपाईको संघर्ष र कथाव्यथा सुन्न फुर्सद हुदैन ।

किनभने अमेरिकामा फुर्सद भनेको खाना खाने समय र एकछिनको बिश्राम (ब्रेक) मा मात्र हुने हुन्छ । अनि काम सकिने बित्तिकै घर जाने हामीलाई हतार हुन्छ । समग्रमा हामी नेपाली नेपाली बीच कहाँ घर ,कहिले आउनु भयो अमेरिका ,परिवार कति छन् आदी ईत्यादी कुराहरु सोध्ने चलन भएता पनि बिदेशी संग यस्ता कुराहरु हत्तपत्त न सोध्दा नै फाइदा हुन्छ ।

अमेरिका आएका एक नेपालीले अर्का नेपाली संग पनि अचेल धेरै कुराहरु खोतलेर सोध्ने गर्दैनन् । किनभने एक नेपालीले अर्को नेपालीको बारेमा धेरै चासो पनि दिदैनन किनभने अमेरिका आए पछि मानिस ज्यादै ब्यस्त र दौडधुप मै जीवन बिताई रहेका हुन्छन ।

अमेरिकामा मानिससंग फुर्सद कम ,समय नहुने भएकोले ढुक्क भएर नेपालमा जस्तो चियापसल र चौतारीमा बसेर गफ छुट्ने र एकआपसमा सबै कुरा जान्ने समय नै हुदैन । परिवारका सबै सदस्य काम गर्ने चलन र बिदाको दिन मात्र खाली हुने हुनाले अर्कालाई आफ्नो बयान र ब्याख्या गर्न कहा समय हुन्छ ?

तसर्थ अमेरिकामा बिदेशीसंग सबैकुरा ओक्लने र खोतल्ने काम गर्दा सोचेर मात्र गर्दा राम्रो होला भन्ने यो पंक्तिकारलाई लागेको छ । आगे यहाको मर्जी !

अस्तु

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया