गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई कांग्रेसको दुईदिने प्रशिक्षण

इनेप्लिज २०७६ कार्तिक १ गते १२:५० मा प्रकाशित

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसले आफ्ना पार्टीका तर्फबाट देशभर विजयी बनेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिँदै छ ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई आज र भोलि भक्तपुरको बोडेमा प्रशिक्षण दिने भएको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा शुक्रबार र शनिबार गरी प्रशिक्षण सञ्चालन हुने बताए ।

उनले प्रशिक्षणमा पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित अध्यक्ष–उपाध्यक्षसँगै सम्बन्धित गाउँपालिकाका पार्टी सभापति र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरूलाई पनि प्रशिक्षण दिइने जानकारी दिएका हुन् ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया