धर्म संस्कृतिको नाममा हत्याहिंसा नगर्न विभिन्न पक्षको अपिल

इनेप्लिज २०७६ असोज २० गते २१:२९ मा प्रकाशित

जब जब दशैंको समय आउँछ तब तब पशुपंक्षिको बलिको बिरोधमा आवाजहरु सुनिन थाल्दछन् । बलि दिनुपर्छ भन्ने र दिनुहुन्न भन्ने पक्षबीच जुहारी नै चल्छ । त्यसो त धर्म भिरुहरुबाट बलिको बचाऊ गर्दै नीच योनीबाट प्राणीहरुलाई मुक्ति दिन बलि दिनु जायज छ भन्ने अभिव्यक्तिहरु पनि दिने गरेका छन् । यस्तै अभिव्यक्तिको कारण पूर्व माननीय तथा धार्मिक व्यक्तित्त्वका रुपमा परिचित कान्ता भट्टराई यतिबेला आलोचित भएकी छन् । बलिका पक्षधरले बलिको बिरोध गर्नेहरु क्रिश्चियन हुन् भन्दै पनि आएको पाइन्छ । यसै सन्दर्भमा अर्का एक धार्मिक अभियन्ता रामकृष्ण उपाध्यायले बलिप्रथा धर्म परिवर्तनको प्रमुख कारक भएको बताएका छन् । उपाध्यायका अनुसार पशुपंक्षिको बलि देवदेवीले नभएर राक्षसले लिन्छन् ।

बडा दशैंको सन्दर्भमा शुभकामना दिनेक्रममा ज्यो. पं. वैद्यराज दीपक सुवेदीले धर्मसंस्कृतिको नाममा हत्याहिंसाजन्य कार्य कुनै पनि कोणबाट मानवीय हुन नसक्ने बताएका छन् । शब्द चिन्तन संरक्षण मण्डल, दक्षिण एशियाली ज्योतिष महासंघ, किरात ज्योतिष संघका संरक्षक रहेका सुवेदी विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका बिशिष्ट आजिवन सदस्यसमेत हुन् ।
यसै गरी नेपाल भेगन एशोसियसनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले एक शुभकामना विज्ञप्ति जारी गर्दै विजया दशमीको दिनबाट नै सम्राट अशोकले अहिंसा परमोधर्मको मार्ग अवलम्बन गरेको स्मरण गर्दै दशैं लगायत सबै अवस्थामा मानव जीवनमा अहिंसाको सिद्धान्तलाई आत्मसात गर्न सबैसँग अनुरोध गर्नुभएको छ ।

यसै सन्दर्भमा गोरखा मनकामना, पर्वत पैञ्यू कालिका, नवलपुर मौलाकाली लगायत देशका विभिन्न ठाऊहरुबाट प्राप्त समाचार अनुसार यस वर्ष मन्दिरहरुमा बलि दिनेको सँख्या निकै घटेको बताइएको छ । पछिल्लो समयमा पशुपंक्षि अधिकारवादी, अहिंसावादी र धर्म अध्यात्मवादीहरुको जनचेतना अभियानहरुको कारणले हुनुपर्छ मठमन्दिरमा बलि दिनेको सँख्या स्वाट्टै घटेर गएको छ । हत्याहिंसा गर्नु धर्म संस्कृति हो भने पाप र विकृति चाही के हो ? सर्वत्र प्रश्न उठ्न थालेको छ ।

राणा, ठकुरी, मत्वालीले शासनसत्ताको बलमा पशुपंक्षिको हत्यालाई धार्मिक मान्यता दिएको भनाई पाइन्छ । उनीहरुकोमा पूजापाठ गराउने पण्डितहरुले उनीहरुलाई खुशी गराउन धार्मिक पुस्तकमा बलिको प्रसंग पछि घुसाएका हुन् । बलिपूजावापत आफूलाई टाऊको मिल्ने गरेकोले सोको लोभमा पछिल्ला दिनहरुमा पशुपंक्षिको बलिलाई वैदता दिन ब्राह्मण पण्डितहरुको एउटा पक्ष सक्रिय रहँदै आएको पाइन्छ । कलि युगमा बाहुन नै सबैभन्दा बढी भ्रष्ट हुन्छन् भन्ने भनाई सबै तिरबाट प्रमाणित हुँदै गएको अवस्था छ ।

मेडिकल साइन्सले समेत मांसाहार मानव स्वास्थ्यको लागि उचित नभएको बताइरहेको बेलामा धार्मिक सांस्कृतिक दृष्टिबाट पशुपंक्षिको बलि उचित छ वा छैन भन्ने विषयमा अबको पुस्ताले घनिभूति वहस गर्दै उपयुक्त निकास निकाल्न जरुरी देखिन्छ ।

 

 

प्रतिक्रिया